बहुआयामिक व्यक्तित्व सनत रेग्मी
Saturday, September 18th, 2021, 11:03 am
Kalpristha
सन्दर्भः रेग्मीको ७५ औँ जन्मोत्सव
–शुक्रऋषि चौलागाईँ
सनत रेग्मी वरिष्ठ साहित्यीक स्रष्टा हुन् । नेपाली कथा साहित्यमा उनका कथाहरू नै उनका परिचायक तत्व हुन् । उनले नेपाली कथामा मानक छाप स्थापित गरेका छन् । तर यति मात्रको परिचयले उनीमाथि न्याय हुँदैन ।
नेपालगन्ज निवासी रेग्मी असोज ६ गतेदेखि ७५ औं वर्षमा प्रवेश गर्दै छन् । उनको ७५ औँ जन्मदिनलाई नेपालगन्जका साहित्यिक संस्थाहरुले विशेषरुपले मनाउँदै छन् । जन्मोत्सवका अवसरमा बाँकेका साहित्यिक संघ संस्थाहरुका तर्फबाट रेग्मीलाई सार्वजनिक अभिनन्दन गरिँदैछ भने उनको सनत-७५ (रोजा कथाहरु)को संग्रह पनि विमोचन गरिँदैछ ।
रेग्मीको साहित्यीक पाटोमा धेरैले धेरै कोणबाट लेखिसकेका पनि छन् । उनको समग्र व्यक्तित्व र कृतित्वका बारेमा एउटा आलेखमा लेख्न खोज्नु सुर्यका अगाडि दियो देखाउनु सरह हो । डेढ सयभन्दा बढी कथाका स्रष्टाका बारेमा मैले थप लेखिरहन पर्ने खास विषय त छैन तर पनि एउटा अनुयायीका नाताले उनका अन्य पाटाहरूका विषयमा कोट्याउने प्रयास गरेको छु ।
संक्षिप्त परिचय
सनत रेग्मी २००४ साल असोज ६ गते नेपालगन्ज-७ गगनगन्जमा जन्मिएका हुन् । सनत पिता गोपाल शर्मा रेग्मी र माता लीलादेबी रेग्मीका जेष्ठ सुपुत्र हुन् । रेग्मीले भारतको गुरूकुल बैद्यनाथ धामबाट आइ.ए. साहित्य रत्न सम्म अध्ययन गरेका छन् । उनको प्रथम रचना समाजकी बेटी (कथा) हो । जुन २०१७ं सालमा वैदनाथ धामको मराल हिन्दी पत्रिकामा प्रकाशित भएको हो । यस्तै पहिलो कविता नारी नेपालगन्जको नौलो पाइलो(२०१९)मा छापीएको हो । साहित्यकारका रुपमा धेरैले चीने पनि उनको अन्य क्षेत्रमा पनि छुट्टै पहिचान, स्थान र योगदान छ भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ ।
साहित्यकार
रेग्मीको मुख्य साहित्यिक विधा कथा हो । उनका आठ वटा कथासंग्रह प्रकाशित भइसकेका छन् । बुवाको विद्या कुटीरमा रहेका पुस्तकहरुको अध्यनले उनलाई लेखनीमा रुची जगाएको रेग्मी बताउँछन् । भारतको गरुकुलमा अध्ययन गर्दा अग्रज मेघावी छात्र नित्यानन्द प्रचेताबाट पे्ररित भएर उनले बाल कथा लेख्न शुरु गरेका हुन् । रहरै रहरमा कथा लेख्न शुरु गरेका रेग्मीले अन्ततः आफना साहित्य सिर्जनामार्फत समाजको यर्थाथतालाई मार्मिकताका साथ प्रस्तुत मात्र गरेका छैनन्, गहन सन्देश पनि दिन सफल भएका छन् । २०१९ मा उनको नेपालीमा कविता छापिए पनि उनी हिन्दीमै लेख्थे । कथाकार भिमनिधि तिवारीसँगको भेट र पे्ररणाबाट उनले नेपाली कथा लेखन शुरु गरेका हुन् । हिन्दीमा प्रकाशित समाजकी बेटी (कथा)लाई अनुवाद गरी नेपालगन्जकै पञ्चामृत पत्रिकामा प्रकाशित गरेपछि उनको नेपाली कथा लेखन सुरु भएको थियो । उनका मातृत्वको चित्कार (कथा संग्रह) २०२४, दिनान्त (कथा संग्रह) २०३५, बन्दकोठाहरूको सहर (कथा संग्रह) २०४५, लछमनियाको गौना (कथा संग्रह) २०५१, समय सत्य (कथा संग्रह) २०५४, सनत रेग्मीका प्रतिनिधी कथा २०६०, स्मृती दंश र अन्य कथा आदि कृतिहरू प्रकाशित छन् । उनकै अगुवाईमा नेपालगन्जको इतिहास समेटिएको ‘सद्भावको सहर नेपालगन्ज’ पुस्तक पनि प्रकाशन भएको छ । यसका साथै उनले दर्जनौ पुस्तकहरुको सम्पादन गरेका छन् ।
केही फुटकर निबन्ध, कविता र संस्मरणहरु पनि उनले लेखेका छन् । उनको रुची संस्मरण लेखन पनि हो । उनको साहित्यिक संस्थाप्रतिको लगाव पनि त्यत्तीकै छ । २०२४ सालमा भेरी साहित्य परिषदमा उनी सदस्य रहेका उनी सोही साल नेपाली साहित्य संस्थान बाँके शाखामा पनि सदस्यको रुपमा रहे । महेन्द्र पुस्तकालयमा सचिव भएर उनले साहित्य रचना र साहित्यिक गतिवीधिलाई पनि सक्रिय बनाए । उनकै अग्रसतामा ०४१ सालमा नेपालगन्जमा तीन दिने वृहत साहित्यिक सम्मेलन भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ(०५६) हुँदै सदस्य सचिव(०६७) जस्तो उच्च पदमा पुग्ने नेपालगन्जको पहिलो व्यक्तित्व पनि उनै हुन् । उच्च पदमा पुगेपनि नेपालगन्जका लागि के दिइयो र ? भन्नेहरुका लागि पनि उनीसँग जवाफ छ । गद्य विभागमा रहेर नेपालगन्ज केन्द्रित थुप्रै कार्यक्रमहरु गरिए । ०६० मा नेपाली उपन्यास शतवार्षिकी कार्यक्रम, हास्य व्यङ्गय, कथा संस्मरण सम्वन्धी वृहत गोष्ठीहरु, वृहत उपन्यास गोष्ठी, गुरु प्रसाद मैनालीको व्यक्तित्व र कृतित्व, लघु कथा प्रक्रिया र पाठ, नेपाली कथा सिद्धान्त र प्रयोग, प्रेम प्रकाश मल्ल अभिनन्दन, राष्ट्रिय कवि गोष्ठी आदि कार्यक्रम गरिएको उनको भनाई छ ।
विशेषगरी ‘लछमनियाको गौना’ कथासंग्रह प्रकाशित भएपछि कथाकार रेग्मीको चर्चा चुलिएको हो । उनले स्थानीय मौलिक विषयलाई कथाका रुपमा सार्वजनिक गरे । थोरै लेख्ने तर प्रभावकारी लेख्ने कथाकारका रुपमा पनि उनलाई सम्झिइन्छ । साहित्य रचनामा मात्र हैन, उनको अध्यनमा पनि त्यत्तिकै रुची छ ।
मधेशको परिवेशमा कथा लेख्ने नेपाली आन्चलिक कथा लेखनमा रेग्मी अग्रणी प्रतिभा हुन् । नेपालगन्जका कथालाई नेपाली साहित्यमा लोकप्रिय र स्थापित गराउने श्रेय पनि उनलाई जान्छ ।
उनको साहित्यक योगदानलाई अनेकौं संस्थाले सम्मान पनि गरेका छन् । उनलाई मैनाली कथा पुरस्कार २०४८, राष्ट्रिय प्रतिभा पुरस्कार २०५३, गणेश दुवाल खिलकुमारी पुरस्कार २०५५, दीप गोविन्द पुरस्कार २०५८, विजयश्री पुरस्कार २०६५, मान श्री २०६६, हाम्रो पुणर्िमा साहित्य रत्न पुरस्कार २०७१, लक्षिमा शेर बहादुर रानाभाट स्मृति पुरस्कार २०७४, आरपी शर्मा तन्नेरी साहित्य पुरस्कार २०७५, वाजुराम शुरभी आख्यान पुरस्कार २०७५, मध्यपश्चिम स्रष्टा समाज लगायतबाट विशेष सम्मान तथा अभिनन्दन गरिएको छ । यस्तै भारतको मेरठ लिटरेटी फेस्टीवलमा उनलाई क्रान्तिधरा साहित्य एकादमी(२०१८) बाट साहित्य शिखर सम्मान दिइएको छ । साहित्य सिर्जनामा आफूले भोगेको समाज, समवेदना र अनुभूतिलाई कलात्मक ढंगले अभिव्यक्त गर्नु पर्ने उनको मत छ । उमेर ढल्ँिकदै गएपनि उनको साहित्यीक सक्रियता घटेको छैन ।
यस्तै साहित्यिक लगायतका पत्रिका, पुस्तकहरुको सम्पादन गर्ने काममा पनि उनी उत्तिकै सक्रीय छन् । उनको समाजअध्ययन र साहित्यिक सक्रियता नयाँ पुस्ताका लागि अनुकरणीय छ ।
राजनीतिज्ञ
पारिवारिक माहोलले पनि होला । रेग्मीमा कलीलो उमेरमै राजनीतिक चेत थियो । सामाजिक हितमा हुने हरेक कार्यक्रममा उनले सहभागिता मात्र हैन, जिम्मेवारीवहन पनि गर्दथे । नारायण हाईस्कुलमा अध्यनरत रहँदा (२०२२) देखि नै उनमा राजनीतिक रस पसको देखिन्छ । २०२३ सालमा नेपाल विद्यार्थी संगठनको गठन हुन्छ र उनी संगठनको विद्यालय कमिटीको सभापति हुन पुग्छन् । जतिबेला भूमिसुधारमा बचत उठाउने सम्बन्धी विभिन्न ठाउँमा घधरपकड समेत भइरहेको थियो ।
विद्यार्थी आन्दोलन चलिरहेका बेला गृह सहायक मन्त्री जगत बहादुर सिंहको नारायण हाइस्कुलमा आगमन हुन्छ । सिंहकै सम्मानमा आयोजित कार्यक्रममा विद्यार्थी अगुवाद्धारा भूमिसुधारको प्रश्न सोधिन्छ । त्यसको चित्त बुझ्दो जवाफ नपाएपछि नाराबाजी सुरु हुन्छ । मंगल मावि, सरस्वती मावि लगायतका विद्यार्थी सडकमा उत्रिन्छन् । रणेन्द्र हमाल, खेमराज मायालु आदिका साथ रेग्मी पनि संघर्षको नेतृत्व सम्हाल्न पुग्छन् ।
त्यतिबेला अञ्चलाधिश राम बहादुर रावलले रेग्मी लगायतका नाममा वारेन्ट जारी गराउँछन् । आन्दोलन चर्कीरहेकै अवस्थामा आन्दोलन मत्थर पार्न जनप्रतिनिधिको मध्यस्थतामा आन्दोलन नगर्ने सहमति गराइन्छ । सोही अवधीमा नेपाली काँगे्रसमा आवद्ध तर भूमिगत अवस्थामा रहेका डा. अरुण कोइराला, अंगीरा शम्शेर जबरा, डा. केशवराज शर्माले रेग्मीलाई प्रजातान्त्रिक आन्दोलनमा लाग्न सहमत गराउँछन् । २०२४ मा अखील नेपाल क्रान्तिकारी संघ गठन गरेर पर्चा छर्ने काम बढाइँदा रेग्मी फेरी पक्राउ पर्छन् ।
रेग्मीका अनुसार काँगे्रस नेता सुवणर् शम्शेरबाट काँग्रेस सदस्यता (रसिद) प्राप्तिपछि सदस्ता वितरण गर्न सुरु गरिन्छ । सोही आरोपमा उनी पटक-पटक पक्राउ पनि पर्छन् । त्यतिबेला ६ महिना जेल बस्नु परेको थियो । २०२५ मा विपी जेलबाट छुटेपछि आम माफी भयो । आम माफी पाएका काँगेसका नेता राधाकृष्ण थारु, गोपाल बहादुर कर्माचार्य, निरक बहादुर पछाई, माया गिरी, मिठ्ठुलाल विश्वकर्मा लगायतलाई जमुनाहामा स्वागत गरेको उनी स्मरण गर्छन् ।
पुर्वमन्त्री रामनारायण मिश्रको छोराको विवाहमा जन्तीका रुपमा यूवराज शर्माका साथ रेग्मी पनि सरिक हुने अवसर पाउँछन् । विपी कोइरालाले काँगे्रस कार्यकर्ता भेट्न इच्छ्याए बमोजिम विवाहका अवसर पारेर सो योजना बनाइएको हुन्छ । बरौनी तेल सोधक कारखाना गेष्ट हाउसमा रेग्मीको विपीसँग भेटवार्ता हुन्छ । विपीसँगको राजनीतिक र साहित्यिक कुराकानीले तरुण आन्दोलनको योजनामा मलजल पुग्छ ।
नेपाल विद्यार्थी संघको स्थापनाका लागि योजना बनाइन्छन् र सोही अनुरुप २०२७ वैशाख ६ गते नेविसंघको स्थापना हुन्छ । पशुपति नाथ सत्तलमा भइरहेको कार्यक्रममा प्रहरीले गिरफ्तार गर्छ । केहीलाई छाड्छ भने केहीलाई जेल समेत पठाइन्छ । छुटेका यूवाहरु त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र संकायमा भेला भई संघको निर्वाचनमा होमिन्छन् । तीन वटा उपाध्यक्ष हुने व्यवस्थाअनुसार रेग्मी नेवि संघको उपाध्यक्ष हुन्छन् ।
०३३ सालमा राष्ट्रिय मेलमिलापपछि गाउँ फर्क अभियानमा लागेर उनी वडा अध्यक्ष पनि भए । अन्ततः २०३४ मा प्रतिबन्धित अवस्थामा काँगे्रस नेता गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा बाबागन्जमा नेपाली काँगे्रस बाँकेको कार्यसमिति गठन हुन्छ । रणेन्द्र हमालको अध्यक्षता बनेको कार्यसमितिमा उनी सदस्य बन्छन् । अनेकन संघर्षमा होमिएका रेग्मीले अन्ततः ०४८ सालदेखि ०५३ सम्म काँगे्रस बाँकेको सभापतिको जिम्मेवारी सम्हाल्छन् । ०५६ मा महासमिति सदस्यपछि उनको सक्रिय राजनीति कम हुँदै गएको छ । यद्धपि बेला-बेला राजनीतिक कार्यक्रममा जान र बोल्न भने मन लागीरहन्छ उनलाई । प्रजातन्त्रका लागि सिङ्गो जीवन समर्पित गरेका संघर्षशिल व्यक्तित्व मात्र हैनन्, उनी विचार र संगठन पनि हुन् ।
समाजसेवी
रेग्मी सानै उमेरबाट समाजसेवामा पनि सक्रिय भएको पाइन्छ । संघ संस्थाहरु सहजै खोल्न नपाइने त्यो समयमा पनि रेग्मीले विभिन्न संघ संस्थाहरु स्थापना गर्ने र जिम्मेवारी लिएर समाज सेवा गर्ने गरेको देखिन्छ । सामाजिक र राजनैतिक जागरणलाई अघि बढाउन उनी विभिन्न संघ संस्थामा सक्रिय रहेका हुन् । २०२४ सालमै उनले जनजागृती संघमा आवद्ध भएर सेवा शुरु गरे । उक्त संस्थाको सचिव भएर समाज सेवामा प्रवृत भए । प्रजातान्त्रिक विचारको प्रवाह र सामाजिक चेतना अभिवृद्धिका लागि रेग्मीले २०२८ सालमा जनसेवा पुस्तकालय स्थापना गरे । पुस्तक पढ्ने संस्कृतिको विकास र राजनैतिक चेतना जागृत गराउने उदेश्यले सञ्चालित सो पुस्तकालयमा पञ्चायती व्यवस्थाले प्रतिबन्ध लगाइ बन्द गराइदिन्छ ।
२०३२ सालमा महेन्द्र पुस्तालयमा आवद्ध भएपछि उनले साहित्यिकसँगै सामाजिक गतविधि पनि अघि बढाउन थालेका हुन् । महाविरप्रसाद गुप्ताको अग्रसरतामा पुस्तकालयलाई सक्रिय बनाउने काम भयो । सो पुस्तकालयको विकासमा रेग्मीको भूमिका (२०५४ सम्म) सदैव अग्रणी रह्यो । २०३२ सालमै नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भएका रेग्मी, शाखाको सहमन्त्री हुँदै केन्द्रीय उपाध्यक्षसम्म जिम्मेवारी निभाए । पदमा रहँदा मात्र हैन, नरहदा पनि उनले रेडक्रसका हरेक मानवीय सेवामा आफुलाई समर्पित गरेका छन् । हाल उनी शाखाको मनोनित सदस्यका रुपमा रहेका छन् ।
महेन्द्र मावि सञ्चालक समितिमा अध्यक्ष भएर पनि उनले शैक्षिक विकासमा अग्रणी भूमिका निर्वाह गरेका छन् । उनकै कार्यकालमा महेन्द्र मावि उच्च मावि बनेको हो । जिल्ला शिक्षा समितीमा रहेर पनि उनले शैक्षिक विकासमा योगदान पुर्याएका छन् । उनी मानवअधिकार संगठन बाँकेको पहिलो सभापति पनि हुन् ।
उनल रामलीला र विभिन्न नाटकमा अभिनय गरेको पनि उनले स्मरण गरे । कलाकारितामार्फत पनि सांस्कृतिक, सामाजिक सचेतना तथा जागृती फैलाएको पाइन्छ ।
मिशन पत्रकारितामा पनि केही समय सक्रिय रहेको उनले सुनाए । राष्ट्रपुकार र जनआंकाक्षामा समाचारदाताको रुपमा काम गरेको पनि उनमा अनुभव छ ।
अन्तमा
उनीभित्र दार्शनिक, द्रष्टा, सर्जक, चिन्तकको साझा व्यक्तित्व भेटिन्छ । उनी राजनीतीलाई आस्था र साहित्यलाई अभिरुची ठान्छन् । समकालीन साहित्यको मात्र हैन, इतिहास, भाषा, संस्कृति र समाजका अधिकांश पाटाका जानकार एवं प्रखर वक्ता पनि हुन् उनी । नेपालगन्जको हरेक उतार चढावका प्रत्यक्ष साक्षी रेग्मीबाट धेरै कुरा सिक्न सकिन्छ । साहित्य सिर्जना, समाजसेवा र राजनैतिक संघर्षका तीनवटै पाटालाई समानान्तर ढंगबाट अघि बढाउन सफल रेग्मीको उत्तरोत्तर प्रगतिको कामनासहित सुस्वास्थ्य र दिर्घायुको शुभकामना ।