‘हिन्दू राष्ट्र कायम गर्न यसैवर्ष आन्दोलन हुन्छ’
Monday, October 4th, 2021, 8:32 pm
Kalpristha
नेपाल धर्मनिरपेक्ष घोषणा भएको डेढ दशक बितिसक्दा पनि यसबारेमा देश एकमत हुन सकेको छैन । गम्भीर तवरले विचार नगरी र जनताको भावनाविपरित नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको मान्ने विचार अझै बलियो छ । नेपाललाई सनातन हिन्दु राष्ट्र नै कायम गरिनुपर्ने मागमा विशेषगरी हिन्दु धर्मगुरुहरुको सक्रियता बढ्दो छ । गत साउनबाट एउटै सन्जालमा गोलबद्ध भएर विश्व ओमकार एकता महाअभियान सुरु गरेका विभिन्न पन्थ र सम्प्रदायका गुरुहरु अहिले देश दौडाहमा छन् । सोही शिलशिलामा नेपालगन्ज आइपुगेका महाअभियानका एकजना संयोजक एवं आध्यात्मिक साधक पुष्पराज पुरुष सँग अभियानका विषयमा गरिएको कालपृष्ठ संवाद :
यहाँहरु देश यात्रामा हुनुहुन्छ । के को लागि ?
हामी सबै धर्मगुरुहरुले आ-आफ्नो हिसाबले हिन्दु राष्ट्र बनाउनलाई अभियान चलाइरहेका थियौँ । हामी जिल्ला-जिल्लामा जाँदा के सुझाव आयो भने, तपाईं गुरुहरु मिलेर आउनुहोस् । एउटै जिल्लाका मानिसहरुलाई १० थरी संगठनमा नजोड्नुस् । एउटै शास्त्र पढेका तपाईं गुरुहरु नै विभाजित हुनुहुन्छ भने पार्टीहरुलाई गाली गर्न पनि छोड्नुस् र हामीलाई सिकाउन पनि नआउनुस् भन्ने सुझाव आयो । त्यसपछि हामीले गएको साउन ४ र ५ गते देवघाटमा ४०, ५० जना देशका अगुवाहरुलाई बोलायौँ । त्यहाँ बैठक गरेर गालीगण्डकीको जल हातमा लिएर, जौ र तिल कुश समाएर सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती स्वामीज्यूको सानिध्यमा संकल्प गर्यौँ । संकल्प के गर्यौँ भने सम्पूणर् पन्थ र सम्प्रदायहरुलाई जोडेर ओमकार परिवारको अभियान सन्चालन गर्ने र त्यही अभियानले सनातन हिन्दु राष्ट्रको लागि शान्तिपूणर् आन्दोलन गर्ने भनेर तयारी गरेर सुरु गरेको अभियान हो । यही अभियानका क्रममा हामी अहिले देश दौडाहमा छौँ । ठाउँ-ठाउँमा गएर सबै सनातन हिन्दुराष्ट्र पक्षधरहरुलाई गोलबन्द गर्दै छौँ ।

पुष्पराज पुरुष
तपाईंले भनेको जस्तो धर्मनिरपेक्षताबाट एक धार्मिक राष्ट्रमा फर्किन संभव छ त ?
हिन्दु राष्ट्रमा देश जसरी तसरी पनि फर्किन्छ । कहिले फर्किन्छ भन्ने कुरा चाहीँ नेपाली जनताले हिन्दु राष्ट्रको अभियानलाई कतिको साथ दिन्छन् भन्नेमा भर पर्छ । शान्तिपूणर्रुपमा सडकमा नआउने, अनि घरमा बसेर हिन्दु राष्ट्र भएन भनेर गुनासो गर्नुको कुनै अर्थ छैन । नास्तिकहरुलाई भोट हाल्ने, नास्तिक गुरुहरुलाई पुजा गर्ने अनि आफ्नो देशको राष्ट्र धर्मको चाहीँ वास्ता नगर्ने कुरा धार्मिक होइन । त्यही प्रवृत्ति बदल्न धार्मिक जागरण हामीले गरिरहेका हौँ । चरित्रसहितको धार्मिक समाज बनेको भोलिपल्ट हिन्दु राष्ट्र कायम हुन्छ ।
३. अहिलेसम्म नमिलेका धर्मगुरु र संस्थाहरु तपार्इंहरुले भनेको लक्ष्यमा पुग्दासम्म सँगै रहिरहलान् त ?
हिन्दु राष्ट्र सबैको लक्ष्य भएकोले हामी सँगै रहन्छौँ । हामीलाई अरु कुरासँग सम्बन्ध होइन । राष्ट्रकोे पहिचान र जुन ऋषि परम्पराका प्रतिनिधि हामी हौँ, हाम्रो अस्तित्व नै समाप्त गर्नेगरी हाम्रा शासकरुले हामीमाथि नै कदम चलाएको हुनाले उनीहरुलाई सही बाटोमा ल्याउनु हाम्रो कर्तव्य हो । युग-युगमा शास्त्र साक्षी छन्, जब जब राजा महाराजाहरुले, शासकहरु वा राजनीति गर्ने व्यक्तिहरुले गल्ती गर्छन् । धार्मिक समाजले एकीकृत भएर उनीहरुलाई सत्ताबाट हटाएर सही मान्छेलाई सत्तामा राखेर समाज व्यवस्था र राज्य व्यवस्था चलाएको इतिहास छ । हामी त्यही परम्पराका प्रतिनिधि भएको हामीले कुनैपनि हालतमा छोड्दैनौँ ।
तपाईंहरुको अभियानमा नयाँ पुस्ताको चासो र सहभाथिता त देखिन्न नि ?
यस्तो हो । कांग्रेस, कम्युनिष्टले युवाहरुलाई अघि लगाएर पुलिसलाई कुट्नलाई, आर्मीलाई कुट्नलाई प्रयोग गरे । युवा सबै ठाउँमा चाहिने पनि होइन । अर्कोतिर युवाहरुलाई धर्मशास्त्रको बारेमा सिकाइएकै छैन नि । हाम्रो शिक्षापद्धति नै अंग्रेजी पढेपछि र अंग्रेजी जानेपछि गजब हुन्छ भन्ने मानसिकता विकास गर्नेगरी बनाइयो । युवा पुस्तालाई धर्मबास्त्रकोबारे थाहै छैन । त्यो जनचेतना पनि हामीले सँगसँगै लगिरहेका छौँ । अनि बुढो पुस्ताले भनेको केहीपनि नहुने भन्ने कुरा छ र ? अहिलेसम्म राजनीतिमा पनि युवा पुस्तालाई रेलिङ भाँच्न, ढुंगामुढा गर्न र पुलिससँग भिड्नबाहेक अरु केमा प्रयोग गरिएको छ र ? कांग्रेस, कम्युनिष्टका युवाहरुले अहिलेसम्म रचनात्मक काम गरेको एउटा उदाहरण देखाउनुस् त । त्यो त नेताका खेताला बनाएर बाटोमा बरक बरक उफ्रिनलाई पो प्रयोग गरिएका न हुन् । हामीलाई त्यस्ता युवा चाहिएकै छैन । चरित्रमा बसेका युवाहरु चाहिने हो, त्यो मान्छे कम छन् । तमगुणी समाज छ । रक्सी, मासु, जाँड आदिमा भुलेको छ । घरमा श्रीमति राखेर रिसोर्टमा अर्काका छोरीचेली बिगार्दै हिड्ने समाजमा युवाहरुले सबै कुरो बुझिहाल्छन्, आजभोली नै रुपान्तरण हुन्छन् भनेर हामीले कसरी भन्ने ? त्यसकारण यो अभियानकै क्रममा असल चरित्रमा रहेका युवाहरु पनि हामी जोड्दै जान्छौँ । फेरि सबैभन्दा बुझेको पुस्ता नै धार्मिक हुने हो । त्यो पुस्ताले भनेको कुरा लागु भएन भने त्यो समाजको अस्तित्व नै सकिन्छ । जस्तो आज विश्वमा रोम सभ्यता कहाँ छ ? ग्रिस सभ्यता कहाँ छ ? पृथ्वीमा इसाई र इस्लामहरुले यस्तो साम्राज्य फैलाएका छन् कि उनीहरुले ठूल्ठूला सभ्यताहरु सकेका छन् । अनि नेपालको सभ्यता सक्दैनन् भन्ने के ग्यारेन्टी छ ? यो कुरा युवा पुस्ताले पनि सुन्नुपर्यो, बुझ्नु्पर्यो । अहिले एक किसिमले युवा पुस्तामा त्यो जागरण आउँदै पनि छ । ढिलोचाडो सबै युवाहरुले यो कुरो बुझ्नुहुन्छ ।
यो अभियानको चरम रुप कस्तो हुन्छ ?
यसको चरम रुप शान्तिपूणर् आन्दोलन नै हुन्छ । हिन्दु राष्ट्र स्थापना हुन्छ । त्यो भएपछि आ-आफ्नो इच्छाअनुसार जनताले आफ्नो हिसाबले बाँच्न पाउँछन्, चल्न पाउँछन् । धर्मनिरपेक्षता लेखिएको संविधान मानेर हामी अघि बढ्दैनौँ । यदि जबरजस्ती गरे, पेल्न खोजे, दबाउन खोजे भने अहिलेको व्यवस्था नै परिवर्तन हुन सक्छ ।
देश धार्मिक मुडभेडमा जाँन्छ कि भन्ने आशंका पनि छ नि ।
जान्छ भने जान्छ । यीनिहरुले कहाँ-कहाँ बनाएको वाद र विचार हाम्रो देशमा लाद्नका लागि मुडभेड गरे । हामी हाम्रो ऋषि परम्परा बचाउनलाई मुडभेड गर्नुपर्छ भने के ठूलो कुरो भो र ? गरौँ न त ?
रगतै बगाउने ?
रगत उनीहरुले बगाउने हो नि । हामी त शान्तिपूणर् आन्दोलन गर्छौँ । उनीहरु मुडभेडमा आउँछन् भने हामी तयारै हुन्छौँ । हाम्रा त शास्त्रमै शस्त्रको कुरा छ । कुन चाहीँ देवी देवता छ शस्त्र नबोकेका । त्यो त अन्तिम हो हाम्रो । हामीसँग त्यसरी जोरी नखोज भन्ने कुरा न हो । पूरा भारतवर्षमा पृथ्वीनारायणजस्तो व्यक्ति कोही जन्मेन, जसको कारण इण्डिया गुलाम भो । आजभन्दा २५० वर्षअगाडि पृथ्वीनारायण शाहजस्ता युगपुरुषहरु जन्मेर आज हाम्रो अस्तित्व स्वतन्त्र मुलुकको रुपमा रह्यो भने आज हामी पानी मरुवा बन्ने ? हामी नालायक भएर, भात खाएर, स्वास्नी पालेर, घरसर बनाएर, गाडीसाडी बनाएर अनि विदेशी संस्कृति अपनाएर हामीले राष्ट्रियता जोगाउछौँ ?
जे पनि भोग्ने भन्ने समाजलाई हाम्रो दर्शनले असुर भन्छ । पश्चिमा जगत्ले पृथ्वीलाई बजार भन्छ । हामीले चाहीँ पृथ्वीलाई आमा भन्छौँ । अप्राकृतिक कुराको पछि लागेर हामीले संस्कृति मात्रै नाश गर्दै छैनौँ, पृथ्वीकै पनि नाश गर्दै छौँ । अनि यही कुरा जबरजस्ती हामीमाथि लाद्न खोजीरहँदा हामी चुप लागेर बसिराख्ने ? यो विषय अर्थव्यवस्था सँग पनि जोडिन्छ । हामीकहाँ एक सय २५ जातजातीका आ-आफ्नै पोशाक छन् । त्यो लगाएर गर्व गरौँ न । यो त हाम्रा दैनिक व्यवहारसँग पनि जोडिन्छ र अन्तमा अर्थव्यवस्थालाई नै यसले गाइड गर्छ ।
हिन्दु राष्ट्र भनेको फगत नाम मात्रै होइन नि । हामीले नै सिकाएको होइन अर्थशास्त्र विश्वलाई । आज माक्र्सवादले भनेको साम्यवादी पुँजी व्यवस्था हाम्रो कुन चै शास्त्रमा छैन । चाणक्यको कौटिल्य अर्थशास्त्र कसले पढेको छ ? बहस गरौँ त । यो त के भने शासकहरुले राम्रो गर्लान्, राम्रो गर्लान् भनेर धार्मिक क्षेत्र त्यागी भएको हुनाले शासनसत्ताको वास्ता नगरेर आश्रममा गएर बसेको हुनाले हेप्ने ? अब हामी निस्केम् नि त आश्रमबाट । तिम्रा सत्ता त हल्लाइदिन्छम् नि हामी । लर लर हल्लाइदिन्छम् । आउ न बहस गर्न । सार्वजनिक ठाउँमा आउ । तिमी के कारणले ठिक छौ हामी के कारणले गलत छौँ हेरौँ न त । विज्ञान भनेको सत्यलाई जान्ने पद्धति हो जो अस्थिर हुन्छ । अध्यात्म त विज्ञानले खोजिरहेकै सत्य हो ।
अहिलेको अवस्था यति मात्रै होइन । जनावरलाई सिरिन्जबाट गर्भधारण गराएको देख्नुभएन ? अप्राकृतिक कुराको पछि लागेर हाम्रो जिनसमेत खतरामा परिसक्यो । भोली अहिलेका अनेक अप्राकृतिक कुराहरु खाएर शुक्रकिट नै निस्कने भएन भने के हुन्छ । अनि मान्छेलाई पनि सिरिन्जमा भरिएको कसको हो कसको क्रोमोजमले जन्माउने ? त्यो भनेको हाम्रा ऋषिहरुका सन्तान सखाप पार्ने कुरो होइन ? कल्ले बुझ्या छ यो कुरा ?
त्यसो हुनाले यो अभियान मात्र नाम मात्रका लागि अभियान होइन । यति ठूलो संकटबाट उठ्न हामी जागेका हौँ ।
हिन्दु धर्म नै खतरामा छ भन्न खोज्नुभएको हो ?
हिन्दु धर्म त खतरामा किन हुन्थ्यो । नेपालीहरुको अस्तित्व संकटमा छ । हिन्दु् धर्म त साश्वत कुरा हो । यहाँ नभए कहीँ न कहीँ त हुन्छ । स्कुनले त रसियनहरुलाई हिन्दु बनाएर हिडिरहेका छन् । हिन्दु धर्म त कहीँ न कहीँबाट जाग्छ क्या ? नेपालमा खतरामा पारे दुष्ट शासकहरुले गर्दा ।
यो अवस्था आउनुमा हिन्दु धर्मका गुरुहरु दोषी छैनन् ?
अघि मैले भने नि शासकहरुले राम्रै गर्लान्, धर्म नछाड्लान् भनेर त्यागी भएकोले गुरुहरु आश्रममा बसेका हुन् । तर शासकहरुले आज आएर हाम्रो छातीमा लात्ताले हाने । हामीलाई त यो देशमा बस्नै नहुने बनाए । अब गुरुहरुले निर्देशन गर्छन् । नमानेपछि यीनका दिन सकिन्छन् । भोलीका सन्तानहरुले यीनहरुमाथि धिक्कार गर्छन् । जसरी महाभारतमा दुर्योधनलाई साथ दिनेहरुले लाज मान्नुपर्यो नि, त्यसैगरी धर्मनिरपेक्षताका पक्ष लिनेहरुको लाजमर्दो अवस्था आउँछ ।
आम मानिसहरुलाई यो कुरा बुझाउने भूमिकामा धर्मगुरु पनि चुकेका होइनन् ?
हामीले बुझाएकै हो नि । संविधान बनाउँदा हिन्दु राष्ट्र हुुनुपर्छ भनेर दिएको सुझाव यीनिहरुले माने ? त्यो सुझावको पोको खोलेर पनि हेरिएन । नौटंकी गर्ने । विदेशीको पैसा लिने । कार्यकर्ता खटाएर भत्ता खुवाउने । अनि सुझाव दिएको कुराभन्दा विपरित संविधानमा लेख्ने ? कस्ता-कस्ता राजा महाराजालाई सत्ताबाट उठाएर रोडमा फाल्न सक्ने धार्मिक सत्तालाई आज यी विदेशीले पाल्दिएका दलालहरुले म नेता हुँ भनेर डंका पिट्ने ?
यहाँहरुले सुरु गर्नुभएको अभियान अरु धर्मकाविरुद्ध होइन भन्नेमा विश्वास दिलाउन सक्नुहुन्छ ?
अरु धर्म भन्ने नै हुँदैन । धर्म त एउटै छ । भएका जति सबै पन्थ र सम्प्रदाय हुन् । हाम्रो अभियान कुनै पन्थ र सम्प्रदायका विरुद्ध छैन । हामी सबैलाई साथमा लिएर अघि बढ्छौँ । नेपाल हिन्दुको देश हो । हिन्दुकै देशकारुपमा यसको पहिचान कायम रहनुपर्छ । त्यो हुँदैन भन्छ भने त्यसकाविरुद्ध लड्नु त हाम्रो कर्तव्य नै हो ।
अन्तमा पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
पाठकहरुलाई के अनुरोध छ भने, अब सबै यस महाअभियानमा जोडिऔँ । ओमकार परिवारको गुरु पुरोहितलाई यस महाअभियानमा जोडिन भन्नुहोस् । कोही गुरु हिन्दु राष्ट्र कायम गर्ने महाअभियानमा जोडिनु्हुन्न भने उहाँ नाम मात्रको गुरु हुन सक्नुहुन्छ । त्यस्तालाई गुरु मान्न छोड्नुहोस् । सज्जन गुरुहरुको साथ खोज्नुहोस् । हामीले राष्ट्रिय सम्मेलन बोलाउँछौँ । उक्त सम्मेलनबाट कार्यक्रमहरु पास गरौँ । यहीवर्ष सनातन हिन्दु राष्ट्रको लागि शान्तिपूणर् आन्दोलन सुरु गरौँ । हामी जीउँदै, नमर्दै सनतातन हिन्दु राष्ट्र बनाऔँ । यदि निरपेक्षै बनाएर हामी मर्यौँ भने नेपालको इतिहासमा भविष्यको पुस्ताले सबैभन्दा धिक्कार गर्ने पुस्ता हाम्रै पुस्ता हुनेछ । अहिले बिग्रिसकेको इतिहास सुधार गरेनौँ भने इतिहासको सबैभन्दा नालायक पुस्ता हामी हुनेछौँ । त्यो भएर यो विषय ममन गरौँ । छलफल गरौँ । देश बचेपछि मात्र बाँकी कुरा बच्छ । हाम्रा पुर्खाहरुले पानी नपिएर बचाएको मुलुक सधैंका लागि बचाइराख्न के गर्नुपर्छ सुरु गरौँ ।
प्रस्तुति : वीरेन्द्र जैसी