बाँके प्रहरीले यसरी मनायो ६६औं प्रहरी दिवस (फोटोफिचर)
Wednesday, October 6th, 2021, 3:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असोज
बाँके प्रहरीले पनि विविध कार्यक्रम गरी ६६ औं प्रहरी दिवस मनाएको छ । दिवसका अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट काम गरेका प्रहरी, अमर प्रहरी, अमर प्रहरीका परिवार, प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरु एवं जग्गादाताहरु र दिवसका अवसरमा आयोेजित मैत्रीपूणर् खेलकुद प्रतियोगिताका विजेताहरुलाई सम्मान गरिएको छ ।

अमर प्रहरी परिवारलाई सम्मान गरिँदै
कार्यक्रममा उत्कृष्ट काम गरेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालसहित बाँकेका २६ जना प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरिएको छ ।
पुस्कृत हुनेहरुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमकमा प्रहरी कार्यालय परिसरमा रहेको अमर प्रहरी स्तम्भमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

श्रद्धान्जली अर्पण गरिँदै
यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दिवसका अवसरमा प्रहरी महानिरीक्षकले पठाएको सन्देश पढेर सुनाएका थिए ।

महानिरीक्षकको सन्देश वाचन गर्दै एसपी श्यामकृष्ण अधिकारी
कार्यक्रममा बोल्ने वक्ताहरुले प्रहरी विगतको तुलनामा नागरिक मैत्री बन्दै गइरहेको बताए । नेपाल प्रहरीले शान्तिसुरक्षा कायम गर्नमा गरेको योगदान सह्रानायोग्य रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अमर प्रहरी परिवार संघ बाँकेका अध्यक्ष एवं खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बाँकेमा अमर प्रहरीहरुको शालिक राख्न मिल्ने पार्कको आवश्यकता औंल्याइन् । विगतदेखि नै आफूहरुले उक्त आवश्यकताको बारेमा कुरा उठाए पनि त्यसको सुनुवाई नभएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरु
विकले अमर प्रहरीका परिवार र उनीहरुका सन्तानको शिक्षा, दिक्षा र रोजगारीको उचित व्यवस्था गर्ने काम राज्यले गर्न नसकेको बताइन् । उनले द्वन्द्वकालमा गैरन्यायिक रुपले मृत्युवरण गरेका प्रहरीहरुको मुद्धा सत्य निरुपण तथा मेलमलिाप आयोगले तामेलीमा राखेकोमा पनि आपत्ति जनाइन् ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपाल प्रहरी अब जनताको साथी बनिसकेको बताए । उनले नागरिक र प्रहरीको सहकार्यबाट नै समाजलाई अपराधमुक्त र शान्त राख्न सकिने धारणा राखे ।

प्रहरीलाई पुरस्कृत गरिँदै
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले विभिन्न कालखण्डमा देशमा आएका परिवर्तनहरुमा नेपाल प्रहरीले सधैं आफ्नो जिम्मेवारी पूरा गर्न सफल रहेको बताए । उनले बाँकेमा अमर प्रहरीको शालिक राख्न मिल्ने स्थलको व्यवस्थाका लागि आफ्नो तहबाट सकिने पहल गर्ने बताए ।
कार्यक्रममै ‘लागु औषधविरुद्धको निस्तेज महाअभियान’ स्मारिकाको विमोचन पनि गरिएको छ ।

स्मारिका विमोचन गरिँदै
कार्यक्रममा नेपाली सेना राँझा ब्यारेकका प्रमुख, सशस्त्र प्रहरीका एसपी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष विक, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जका अध्यक्ष दीपेन्द्रकुमार जोशी, हिन्दु धर्मगुरु चन्दननाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरी एवम् भुतपूर्व प्रहरी, अमर प्रहरीका परिवारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरु