बाँकेबाट साँसदको चुनाव लड्ने पूर्व मन्त्री हमालको घोषणा (भिडियोसहित)
Wednesday, October 27th, 2021, 6:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ कात्तिक
पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आगामी निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने खुलासा गरेका छन् । कालपृष्ठ सँगको कुराकानीमा पूर्व मन्त्री हमालले आगामी निर्वाचनमा प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको आकांक्षी रहेको खुलासा गरेका हुन् ।
आत्माको आवाज सुनेर मन्त्रीबाट राजीनामा दिएँ : गजेन्द्र हमाल – YouTube
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नेपाली कांग्रेस बाँकेका पूर्व सभापति रहीसकेका हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको जोडबलमा देउवाले मन्त्री बनाएको आरोप लागेपछि हमालले ४० घण्टामै मन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानन्यायाधीश जबरा हमालका बहिनी ज्वाईं हुन् ।
मन्त्री पदबाट राजीनामा दिएर गृहजिल्ला बाँके आएपछि सबैले राजीनामा दिने निणर्यको प्रशंसा गर्दै चुनाव लड्न सुझाव दिएको र आफू त्यसमा सकारात्मक रहेको मन्त्री हमालले बताए । ‘राजीनामा दिएर यहाँ आइसकेपछि कांग्रेस नेता कार्यकर्ता, अन्य पार्टीका सुभचिन्तक, सर्वसाधारण नागरिकले पनि मैले लिएको निणर्यको प्रशंसा गरेका छन् । तपाईंले देखाउनुभएको त्यागको उदाहरण सह्राहनीय छ भनेका छन् । अब निर्वाचनमा उठ्नुपर्छ भनेर भनेका छन् । म पनि त्यसमा सकारात्मक छु । म शासक बन्न होइन सेवक बन्न राजनीति गरेको मान्छे हुँ । अब पनि त्यही उदेश्यका लागि म उम्मेदवारी दिन्छु,’ हमालले भने ।
कांग्रेस बाँकेका पुराना नेता हमाल पछिल्ला केहीवर्ष पार्टीका गतिविधिका कम सक्रिय रहेको आरोप लाग्दै आएको थियो । हमाल पछिल्लो समय हिन्दु राष्ट्र स्थापनाको मागसहितका गतिविधिमा सक्रिय थिए ।
उनले पार्टीमा पनि उपयुक्त भूमिका नपाएको पनि चर्चा हुने गरेको थियो । हाल मन्त्री बनेपछि र त्यसबाट राजीनामा दिइसकेपछि हमालको कांग्रेसभित्रको राजनीतिले पुनर्जीवन पाएको चर्चा भइरहेको छ । तर हमालले राजनीतिबाट निष्किृय बनेको आरोप स्वीकार गरेनन् । ‘म कहिल्यै पनि राजनीतिबाट निष्कृय थिइनँ । म राजनीतिक प्राणी हुँ, राजनीतिक प्राणी कसरी त्यसबाट निष्कृय रहन सक्छ र ? मात्रै भूमिका फरक थियो । कोरोनाको कारण पनि म प्रत्यक्ष सहभागी हुन पाइन होला,’ हमालले भने ।
मन्त्री बनेको थाहा पाउँदा म हस्पिटलमा थिएँ : मन्त्री हमाल
हमालले प्रधानन्याधीशको कोटाबाट मन्त्री बनेको आरोप तथ्यहरुले नै झुटा रहेको प्रमाणित गरिसकेको बताए । तर मिडियामा सो विषयलाई अनावश्यक उचालेर आफ्नो निष्ठामाथि नै प्रश्न उठेको भान भएपछि अन्तरमनको आवाज सुनेर आफूले राजीनामा दिएको हमालले बताए ।
‘न मैले मन्त्री बनाइदिनुपर्यो भनेर कसैलाई भनेको थिएँ न मलाई कसैले सोबारे प्रस्ताव गरेको थियो । मन्त्री बनेको थाहा पाउँदा म श्रीमतिको उपचारका लागि अस्पतालमा थिएँ । म आफैले मिडियामा पढेर थाहा पाएको हुँ मन्त्री बन्दै छु भनेर । तर जब मिडियमा अनेक थरी कुराहरु आए त्यसपछि मैले अन्तरमनको आवाज सुनेँ । मन्त्रीपदका लागि अहिलेसम्म कमाएको इमान र प्रतिष्ठा गुमाउन हुन्न भन्ने लाग्यो अनि राजीनामा दिएँ,’ पूर्व मन्त्री हमालले भने ।
हमालले प्रधानन्याधीश जबरा आफ्नो ज्वाईँ भएपनि उनीसँग प्रत्यक्ष कुराकानी नभएको लामो समय भइसकेको बताए । अन्य कुनै माध्यमबाट पनि मन्त्री पद माग्ने आफ्नो स्वभाव नभएको मालको दावी छ । सम्बन्ध भएको आधारमा संविधानअनुसार मन्त्री भएको आफूलाई चेपुवामा पारिएको उनको भनाइ छ ।
यद्धपि राजीनामा पछि आफूलाई राजनीतिक लाभ भएको हमालले स्वीकार गरे । अब जिल्लामा पार्टीलाई बलियो बनाउने अभियानमा आफू थप सक्रिय हुने उनले बताएका छन् । पार्टीभित्र जिल्ला सभापतिमा दावी नरहने बरु महासमिति सदस्यका लागि आकांक्षी रहेको उनले बताएका छन् ।
हमालले पछिल्लो समय हिन्दु राष्ट्रको पक्षमा गतिविधि गर्दै आएका छन् । अहिलेपनि उक्त मसद्धामा आफू अडिग रहेको हमालले बताए । पार्टीभित्र उक्त मुद्धाका कारण अप्ठ्यारो नहुने दावी गर्दै अप्ठ्यारो हुने अवस्थामा पनि चुनौति स्वीकार गर्न तयार रहेको पनि हमालले बताए ।