नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान भजन शिरोमणि आचार्यलाई
Monday, December 19th, 2016, 8:42 pm
amit
पुस ४, काठमाण्डौ ।
नातिकाजी स्मृति समाजको आयोजनामा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९२ औं स्मृति दिवस तथा पुरस्कार घोषणा गरिएको छ । यसै साता काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सुगम सङ्गीतको आधार स्तम्भका रुपमा सङ्गीत महर्षि नातिकाजीको नाम युगौयुग रहिरहने बताउनुभयो ।
अध्यक्ष बासकोटाले नेपाली सुगम सङ्गीतको संरक्षकका रुपमा नातिकाजीले नेपाली माटोको सुवाससहितको सङ्गीत गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली सङ्गीतको महिमा बढाउनुभएको बताउनुभयो ।
उहाले नेपाली सुगम सङ्गीतको विकास र विस्तारमा नातिकाजीले पुर्याउनुभएको योगदानको चर्चा गर्दै सङ्गीतको राष्ट्रिय विभूतिको रुपमा नातिकाजी रहनुभएको बताउनुभयो । उहाले नातिकाजीको नाममा सडकका नामाकरण, शालिक निर्माणजस्ता कार्यलाई समाजले अगाडि बढाउने योजना बनाएको जानकारी गराउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ गीतकार किरण खरेलले नातिकाजीको नाममा राष्ट्रिय पुरस्कार दिइनु राष्ट्रकै सम्मान भएको बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ संगीतकार दीपक जंगम, प्राज्ञ उन्नति बोहरा शीला, हिरण्य भोजपुरे, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तबहादुर श्रेष्ठ (सरुभक्त), बरिष्ठ गीतकार विश्वम्भर प्याकुरेल, बरिष्ठ गीतकार विश्व वल्लभ, बरिष्ठ गीतकार राजेन्द्र थापा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, नरेन्द्र खडका, उमेश पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नातिकाजी सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान भजन शिरोमणि भक्तराज आचार्य लाई प्रदान गरिने भएको छ । यस्तै, नातिकाजी राष्ट्रिय बिशेष सङ्गीत सम्मान बरिष्ठ गायक तथा सङ्गीतकार कल्याण रिमाल, बरिष्ठ गायिका उर्मिला श्रेष्ठ, बरिष्ठ गायक दीपक खरेल, बरिष्ठ सीतारवादक डा ध्रुवेशचन्द्र रेग्मी, बरिष्ठ गायक आनन्द कार्कीलाई दिईने भएको छ ।
यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कारको शब्द रचनामा बरिष्ठ गीतकार रमण घिमिरे र सङ्गीततर्फ बरिष्ठ सङ्गीतकार टीका भण्डारी र गायनतर्फ बरिष्ठ गायिका देविका बन्दना तथा गायक रामकृष्ण ढकाललाई पुरस्कृत गरिने भएको छ ।
यस्तै, नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार बरिष्ठ सङ्गीत संयोजक अमुल कार्की ढली र नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार बरिष्ठ सङ्गीतकार आलोकश्रीलाई सम्मान गरिने भएको छ ।