पर्यटनको सम्भावना बोकेको गाभरमा होमस्टे संचालन भएयता नयाँ घर थपिने क्रम जारी
Thursday, February 16th, 2017, 3:09 am
amit
संगिन शर्मा
कोहलपुर- गाभर भ्यालिमा नयाँ घर थपिएको छ । बुधबार एक विशेष कार्यक्रमको आयोजना गरि घर नं. ६ को उद्घाटन गरिएको हो । बाँके जिल्ला क्षेत्र नं. ४ का साँसद् दल बहादुर सुनारको विशेष उपस्थितीमा ६ नम्बर घरको उद्घाटन गरिएको हो । बाँके जिल्ला भित्र पर्यटनको प्रचुर सम्भावना बोकेको गाभरमा होमस्टे संचालन भएयता नयाँ घर थपिने क्रम जारी छ । यसअघि थारु, मुगाली, जुम्ली लगाएत होमस्टे संचालमा आइसकेको गाभरमा पुनः अर्को होम स्टे थपिएको हो ।
नयाँ होम स्टेको उद्घाटका लागि गाभर भ्याली पुगेका साँसद सुनारले बाँकेलाई पर्यटकीय क्षेत्रको रुपमा देशब्यापी रुपमा चिनाउन होम स्टेले निकै ठुलो भुमिका खेलेको बताएका थिए । पर्यटन प्रवद्र्धनका हिसावले समेत होम स्टेले होम स्टे प्रभावकारी माध्यम बन्नुपर्नेमा सुनारले जोड दिएका थिए ।
कुनै समय स्याल कराउने डाँडाको रुपमा रहेको गाभर होम स्टे संचालसँगै आर्थिक समृद्धिको बाटोतर्फ लम्किएको उल्लेख गर्दै साँसद सुनारले अब आउने संसाद विकास कोषको बजेटबाट गाभर भ्यालीलाइ पर्यटकिय क्षेत्रको हबको रुपमा विकास गर्नका लागी पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । मुख्य
राजमार्गदेखि गाभर भ्याली पुग्नका लागि बाटोको असुबिधा भएको भन्दै सुनारले यसै आर्थिक वर्षभित्र बाटो कालोपत्रे गराउन पहल गर्ने बताए । त्यसैगरी विद्युतको सहज आपूर्ति तथा खानेपानी ट्याङ्की निर्माण, स्वमिङ पुल निर्माणका लागि योजना तर्जुमा गर्न सुनारले आग्रह गरेका थिए ।
गाभर भ्यालीका अध्यक्ष कृष्ण चौधरीले बिभिन्न साँस्कृतीक विविधतालाई एकिकृत गर्ने उदेश्यले नयाँ घर थपिएको बताए । उनले थारु, मुगाली, जुम्ली लगाएत अन्य समुदायद्धारा संयुक्त रुपमा संचालित गाभर होम स्टे नेपालकै पहिलो होम स्टे भएको उल्लेख गर्दै खुसी ब्यक्त गरेका थिए । चौधरीले हो स्टे क्षेत्रमा अझैपनि खानेपानी, बाटो तथा विधुत्तको समस्या रहेकाले त्यसको समाधानका लागि पहल गरिदिन सांसद सुनारसँग आग्रह समेत गरेका थिए ।
नयाँ होम स्टे सञ्चालन भएसँगै गाभर भ्यालीमा होम स्टेको सङ्ख्या ६ पुगेको छ । गाभर भ्यालीमा होम स्टेका अलावा थारु सङ्ग्राहलय, अष्ट्रिज फर्मका साथै थारु तथा पहाडि संस्कृतीको समेत अवलोकन गर्ने ब्यवस्था मिलाईएको छ ।