ओलीले भने, सके फकाएर, नभए ठटाएर, चुनाव हुन्छ
Thursday, February 16th, 2017, 9:30 am
amit
काठमाण्डौ, फागुन ५ ।
एमाले अध्यक्ष केपी ओलीले मधेसी मोर्चा सहमत नभएपनि जेठभित्रै चुनाव गर्न प्रमुख तीन दलहरुबीच समझदारी बनेको पार्टी बैठकलाई जानकारी गराएका छन् । एमालेको बुधबारबाट सुरु पोलिटब्यूरो बैठकमा पछिल्ला घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले मधेसी दलहरुलाई मनाउने अन्तिम प्रयास भइरहेको र त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिन पहल गर्ने उल्लेख गरेका छन् ।
यदी मोर्चासंग सहमतिको अधिकतम प्रयास सफल नभए केही दिन भित्रै चुनावको मिति घोषणा हुने संभावना रहेको ओलीले बताए । प्रमुख तीन दलका शिर्ष नेताहरुबीच मंगलबार बालुवाटार बैठकमा भएको छलफलको प्रसंग उठाउदै ओली चुनाव हुनेमा आशावादी देखिएका हुन् ।
‘प्रधानमन्त्रीको कुरा सुन्दा मिति तय गर्नु होलाकी भन्ने प्रभाव परेको छ’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने, ‘मधेसी मोर्चाका नेताहरुसंग अन्तिम प्रयास गर्छु भन्नुभएको छ । फागुन ८ भित्र घोषणा गर्ने कुरा गर्नु भएको छ । यो कुरा फेरबदल भएन भने चुनावको मिति आउन सक्छ ।’
ओलीले चुनाव हुदा मधेसी दलहरुलाई पनि आफ्नो एजेण्डा स्थापित गर्ने ठाउ हुने उल्लेख गर्दै त्यसबारे कन्भिन्स गर्ने कोशिस भइरहेको उल्लेख गरे । ‘अब सहमत भएनन् भने पनि चुनाव गर्नैपर्छ यो कुरामा सत्ता पक्ष पनि कन्भिन्स हुन थालेको छ’ ओलीले बैठकमा भने, ‘चुनावको सन्दर्भमा हामीले गरेको प्रयास सफल भइरहेको छ र चुनाव हुने अवस्थाका लागि अझै दाबाव भने जारी राख्नुपर्छ ।’ उनले कुनै क्षेत्रका राजनीतिक दलको कारण मुलुक अनिश्चित र संबैधानिक राजनीतिक संकटमा पर्न नहुने बताए ।