‘भ्रष्टाचारविरुद्ध नेपालगन्जमा सँगसँगै हिँडौ’
Tuesday, December 7th, 2021, 7:46 pm
Kalpristha
मंसिर २३ गते बिहीबार नेपालगन्जमा भ्रष्टाचार विरुद्ध ‘नेपालगन्ज वाकाथन’ आयोजना गरिँदै छ । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा बागेश्वरी असल शासन क्वब (बास) नेपालको आयोजनामा हुन लागेको वाकाथनलाई भव्य बनाउनेगरी तयारी भइरहेको छ । पैदल यात्रामा एकसाथ सहभागी भई भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउन आयोजना गरिएको ‘नेपालगन्ज वाकाथन’बारे आयोजक बासका कार्यकारी निर्देशक नमस्कार शाहसँग गरिएको कुराकानी :
वाकाथन आयोजनाको पृष्ठभूमि बताइदिनुस् न ।
वाकाथन अंग्रेजी शब्द हो । यसको नेपाली रुपान्तरण पैदल यात्रा हो । यो विश्वका विभिन्न सहरहरुमा विभिन्न उदेश्यले हरेक वर्ष आयोजना गरिन्छ । हाम्रै छिमेकी देश भारतमा पनि हरेक वर्ष आयोजना गरिन्छ । नेपालमा काठमाडौ र पूर्वतिर भएको हुनसक्छ । पश्चिम नेपालमा अहिलेसम्म भएको छैन । यसको दुईवटा उदेश्य छ । एक त नेपालगन्जसँग नाम जोडेर नेपालगन्जको पहिचान अझ बढाउने । अर्को हरेक वर्ष ९ डिसेम्बरलाई भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । संसारभर विभिन्न खालका कार्यक्रम गरिन्छ । त्यसदिन आयोजना गरिने कार्यक्रमको बेग्लै खालको महत्व हुन्छ । संसारभर एकैदिन एकैपटक भ्रष्टाचारविरुद्ध आवाज उठाउने दिन हो । त्यसकारण वाकाथानलाई भ्रष्टाचारविरुद्धको कार्यक्रमकारुपमा पनि आयोजना गरेका हौँ । साथै, रन र फनलाई एकसाथ जोडेका छौँ ।
‘भ्रष्टाचारविरुद्ध सँगसँगै हिँडौ’भनेर नारा तय गरेका छौँ । सोहीअनुसार हामी उक्त दिन सबै सँगै हिड्ने छौँ । यसभन्दा अघि भ्रष्टाचारकै विरुद्ध हामीले ‘इन्डोर’ कार्यक्रमहरु थुप्रै गर्यौँ । अब सडकमै पनि थुप्रै कार्यक्रम गरौँ र नयाँपन पनि दिऔँ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ ।
यो खेलसँग सम्बन्ध राख्ने विधा पनि भएकोले प्राविधिक मापदण्डहरु पनि पालना गर्नुपर्ने हुन्छ ?
यसको मुख्य प्राविधक पाटो भनेको पार गर्ने दूरी हो । हामीले यति नै दूरी पार गर्ने भनेर निश्चित दूरी तय गरेका छैनौँ । यो प्रतियोगिता पनि होइन । भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै सबै सँगै हिड्छौँ । नेपालगन्जको विपी चोकबाट सुरु हुन्छ, धम्बोझी, सेतु विक चोक हुँदै बौद्ध गुम्बाअघि गएर समापन हुन्छ ।
सहभागी हुन के गर्ने ?
यो खुला हो । नाम दर्ता, सहभागिता शुल्क केही पनि लाग्दैन । हामीले सार्वजनिकरुपमा आह्वान गरेका छौँ । आयोजना बासले, व्यवस्थापन अन्तरालले गरेको छ । यसैगरी करिब डेढ दर्जन संस्थाहरुले सहकार्य गरेका छन् । अन्तिमसम्म पनि सहकार्यका लागि आउने संस्थालाई हामी स्वागत गर्छौँ । तथापि संघसंस्था र निकायहरुलाई संस्थागतरुपमा कति सहभागी हुनुहुन्छ भनेर जानकारी दिन पत्राचार गरेका छौँ । त्यहीअनुसार हामी कार्यक्रमको पूर्वतयारी र व्यवस्थान गर्छौँ । हामीले करिब पाँचसय देखि एकहजार जना सहभागी हुने अपेक्षा गरेका छौँ ।
वाकाथन समयतालिका कस्तो छ ?
बिहान साढे ७ बजेबाट कार्यक्रम सुरु हुन्छ । त्यसमा केही साँस्कृतिक कार्यक्रम र भ्रष्टाचारविरुद्ध प्रस्तुतिहरु हुन्छन् । त्यसपछि ठिक ८ बजेबाट सूरुवात गर्ने भन्ने हाम्रो योजना छ । धम्बोझी चोकमा पहिले नै एउटा टिमले कार्यक्रमको तयारी गरिसकेको हुन्छ । त्यहाँपनि १० मिनेट जनचेनतनामूलक प्रस्तुति हुन्छ । त्यसपछि सेतु विक चोकमा पनि १० मिनेटजतिको कार्यक्रम हुन्छ । त्यसपछि अन्तिममा केही साँस्कृतिक प्रस्तुतिहरु हुन्छन् । त्यसबीचमा हाजिरीजवाफ प्रतियोगिता पनि गर्छौँ । प्रचा पम्पलेटिङ पनि गर्छौँ । भ्रष्टाचारविरुद्धका गीतहरु पनि प्रस्तुत हुन्छ । समापन कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपुतले आफ्नो प्रस्तुति दिनुहुन्छ र केही विशेष सम्बोधनपछि कार्यक्रम समापन हुन्छ ।
वाकाथन समान्यतया आयोजना गरिँदै आएका र्यालीभन्दा कसरी फरक हुन्छ ?
हामीले पछिल्ला केहीवर्षयता दिवसका अवसरमा र्याली आयोजना गरेका छैनौँ । पछिल्लो समय र्यालीको प्रयोग प्रभावकारी नहुँदा मानिसहरुको सहभागिता घट्दै गएको छ । तर वाकाथनमा हामीले यात्रासँगै मनोरन्जन र जनचेतनालाई जोडेका छौँ । त्यसकारण यो एक रोमान्चपूणर् सचेतना यात्राको रुपमा स्थापित हुन्छ । यसमा ठूलो सहभागिता हुने भएकोले धेरै मानिसमा यसको सन्देश पनि पुग्छ । नेपालगन्जको पहिचानमा एक अर्को इभेन्ट पनि थपिन्छ ।
स्वास्थ्यको सन्देश र खेलकुदको पक्ष यस आयोजनाको प्राथमिकता होइन ?
त्यो स्वतः हो । हिड्नु स्वास्थ्यका लागि त्यसैपनि लाभदायक छ । मानिसहरुलाई शारीरिक व्यायाम र अत्यधिक सवारी साधनको प्रयोग बढिरहेको समयमा हिड्नको महत्वतिर ध्यान आकर्षण गर्ने पनि यसको अर्को सन्देश हो नै । साथै हामीले महसुस गर्न सक्छौँ, सहरमा फराकिला सडक बनेका छन् । तर हिड्ने ठाउँ उपयुक्त छैनन् । भएका फुटपाथ पनि अतिक्रमित छन् । उक्त यात्राले हिड्नेहरुका लागि पनि राज्यले ठाउँ दिनुपर्छ है भन्ने सन्देश पनि दिन्छ । वाकाथनलाई नै प्रतियोगिताकै दृष्टिकोणबाट यसवर्ष हामीले हेरेका छैनौँ । आगामी वर्ष त्यो पनि हुनसक्छ ।
यसको निरन्तरता कत्तिको सुनिश्चित छ ?
यसलाई हामीले अब निरन्तर र एक स्थापित कार्यक्रमको रुपमा विकास गर्ने लक्ष्यअनुसार नै आयोजना गरेका हौँ । हरेक वर्ष भ्रष्टाचारविरुद्धको दिवसमा नेपालगन्जमा यो कार्यक्रम हुन्छ र हामी पनि सहभागी हुनुपर्छ भन्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो ।
वाकाथनमा गायक प्रकाश सपुतसँगै अरु पनि विशेष व्यक्तिहरु सहभागी हुनुहुन्छ ?
हामीले भ्रष्टाचारविरुद्धका अभियन्ताहरुसँग पनि कुरा गरेका छौँ । संभव भएसम्म उहाँहरु सहभागी हुनुहुन्छ नै । साथै जिल्लाका भ्रष्टाचारविरुद्ध क्रियाशिल व्यक्तिहरु पनि यसमा सहभागि हुनुहुन्छ । जिल्लाका जिम्मेवार संघ संगठनका प्रतिनिधिहरु पनि सहभागी हुनुहुन्छ । विद्यार्थीहरु सहभागी हुनुहुन्छ । यसलाई बृहत सहभागिता हुनेगरी हामी आयोजना गर्दै छाँै ।
अन्तमा,
यो कार्यक्रमको आयोजना कसै न कसैले गर्नुपर्ने भएकोले हामीले यसको जिम्मेवारी लिएका हौँ । तर यो कार्यक्रम सबैको साझा कार्यक्रम हो । सबैले यसमा अपनत्व लिन सकिन्छ । भ्रष्टाचार हामी कसैलाई मन पर्दैन । सबै ऐक्यबद्ध बनौँ । कुनै संघसंस्थाको कार्यक्रम पनि छ भने यसमै समावेश गर्न सकिन्छ । तथापि हामी कार्यक्रम व्यवस्थित गछौँ । पूणर्तया एक सार्वजनिक चासोलाई अभिव्यक्त गर्न र भ्रष्टाचारविरुद्ध बलियो आवाज दिन सबै सहभागी हुन म आह्वान गर्दछु ।