के होला अमेरिकी ‘सुपरपावर’ ?
Tuesday, February 21st, 2017, 9:27 am
amit
– रामचन्द्र भट्ट
पाँच वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका एक मित्र छन्। अघिल्लो साता यो टिप्पणीकारसँग उनी भन्दैथिए—‘स्थायी रुपमै बसोबास गर्नेगरि अमेरिका आउने प्रयासमा छु।’
उनको भनाईले लाग्यो, अष्ट्रेलियामा कमाई राम्रो भएन कि। तर होइन रहेछ। उनी प्रतिघण्टा ३२ अष्ट्रेलियन डलर पारिश्रमिक प्राप्त हुने काम गर्छन। उनकी पत्नी नर्स हुन्। तुलनात्मक रुपमा नर्सिङ पेशा अष्ट्रेलियामा राम्रै आर्जन हुनेमा पर्छ। तरपनि मित्र अमेरिका भनेर हत्ते गर्दैछन्।
‘अमेरिका भनेको अमेरिकानै हो नि साथी,’ उनले कुरोको बिट मार्दै भने। हो अमेरिका भनेको अमेरिकै हो। यो युरोप, अष्ट्रेलिया कदापी होइन। कमाईको हिसाबले युरोप र अष्ट्रेलियाभन्दा थोरैनै हुन्छ अमेरिकामा। स्वास्थसेवा पनि ती देशहरुको दाँजोमा महंगै छ। प्रति व्यक्ति आम्दानीको हिसाबले पनि संसारकै सबैभन्दा धनी देश होइन अमेरिका। फेरि नयाँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्पको आगमनपछि आप्रवासीमाथि लक्षित गरेर कुन बेला कस्तो नीति बन्ने हो कुनै ठेगान पनि छैन। तरपनि आप्रवासीहरु अमेरिकानै ताकिरहेका छन्।
अर्का पूर्ब सहकर्मी क्यानडामा बस्छन्। उनी पनि त्यहाँको पिआर होल्डर हुन्। ‘खै यार, बस्नुपर्ने ठाउँ त अमेरिकै रहेछ। यता त चार्मनै भएन नि,’ उनी पनि भन्दैथिए। कमाईको हिसाबले अमेरिकाभन्दा क्यानडा त्यति आकर्षक नभएपनि सामाजीक सुरक्षा (शिक्षा, स्वास्थ, सुरक्षा) को क्षेत्रमा असाध्यै राम्रो छ। तर पनि उनी पनि क्यानडामा रमाउन सकेका रहेनछन्।
किन संसारका धेरै मानिसले अमेरिकामा बसोबास गर्न चाहन्छन्? किन मानिसहरु अमेरिका भनेपछि ज्यानलाई जोखिममा पारेर पनि आउन तयार छन्? सिधा जवाफ छ—क्षमता अनुसार अवसर छ। नेपाली उखान ‘हिङ नभएपनि हिङ बाँधेको टालो छ’ भनेझै संसारभर अमेरिकाको प्रभाव छ। तर यथार्थतामा अमेरिका अझैँ हिङनै हो। जसको संसारभरि दवदवा छ। संसारभरका सुविधा यही छन्। संसारमा नयाँ प्रविधि यहीबाट सुरु हुन्छ। एक हिसाबमा संसारलाई कन्ट्रोल गर्ने ‘रिमोट’ अमेरिकामै छ। अमेरिकाको यही विशेषताले गर्दा संसारभरिकै लागि अमेरिका ‘सपनाको देश’ भएको छ।
तर यो सपनाको देश रहिरहन्छ या ठूलै फेरवदल आउँछ? एकीन गर्नसक्ने अवस्था यतिखेर रहेन। नयाँ राष्ट्रपतिको आगमन र पद वहालीसँगै यतिखेर आम अमेरिकीहरुमा एउटा चिन्ता छ। त्यो हो—नयाँ राष्ट्रपतिको नारा ‘मेक अमेरिका ग्रेट एगेन’ सँगसँगै अमेरिकाको पुरानो बिरासत र यसको प्रतिष्ठा धुमिल त हुने होइन। दोस्रो विश्वयुद्धपछि संसारभर एकछत्र ‘सुपरपावर’ बनेको अमेरिकाको मार्ग अब कता निश्चित छैन।
राष्ट्रपति निर्वाचित हुनु अघिदेखिनै ट्रम्पले भन्दै आएका छन्—‘हाम्रा सैनिकहरु किन अरु देशमा पठाउने? किन अर्काको सुरक्षामा हामीले खर्चिने?’ उनको आशय देखिन्छ संसारका अरु देशलाई किन सहयोग गर्ने? अरु देशमा भोक, रोग र गरिबी छ त त्यो तिनै देशका समस्या हुन्। अमेरिकालाई किन अरुको समस्याप्रति टाउको दुखाउनु?
कुरो सुन्दा त जायजै जस्तो लाग्छ —‘किन अर्बौ डलर खर्चेर अरुको देशमा अमेरिकी सेना पठाउनु? किन अरु देशलाई सहयोग गर्नु? बरु त्यो खर्चले अमेरिकी जनताको लागि केही गरे हुन्छ नि।’ यो अवस्थालाई यसरी विश्लेषण गर्नु उपयुक्त होला।
शीतयुद्ध ताका संसारमा दुई शक्ति थिए। उदारवाद अर्थात प्रजातान्त्रिक पक्षधर राष्ट्रहरुको नेतृत्व अमेरिकाले लिएको थियो। जसलाई ‘नाटो’ भनेर चिनिन्छ। नाटोको अस्तित्व अहिलेपनि छ।
उता समाजवाद अर्थात कम्युनिज्म पक्षधर देशहरुको नेतृत्व सोभियत संघको हातमा थियो। ‘वार्साप्याक्ट’ मा आवद्ध यो समूह सन् १९८९ मा सोभियत संघको अन्त्यपछि समाप्त भयो। सोभियत संघ आर्थिक रुपमा पनि र राजनीतिक रुपमा पनि तहसनहस भयो। त्यसपछि संसारको नेतृत्व सोलो रुपमा अमेरिकाको हातमा आयो। त्यस पर्यन्त अहिलेसम्म विश्व रंगमञ्चमा अमेरिकाकै दवदवा छ।
आर्थिक शक्तिका रुपमा चीन उदाएपनि विश्व जगतमा उसको राजनीतक प्रभाव असाध्यै कम छ। सारा संसारले गतिलो निर्णय लिनुपर्दा अमेरिकाको मुख हेर्छन पहिले। अनि त्यस अनुसार निर्णय लिन्छन्।
नयाँ राष्ट्रपतिको आगमनसँगै अब संसारमा अमेरिकाको त्यो वैभव, शक्ति र शान कायमै रहन्छ या रहँदैन? यो बडो अन्यौलको विषय बनेको छ। यदी नयाँ राष्ट्रपतिले भनेझै अमेरिकाले पहिले आफूले पकड जमाउँदै आएका स्थानबाट पछि हट्ने हो भने स्वभाविक रुपमा अमेरिका पहिलेजस्तो रहँदैन। एक हिसाबले दाह्रा र नङ्ग्रा नभएको बाघ जस्तोमात्र हुनेछ।
दुई वर्ष अघि युवापङ्क्तीमा गरिएको एउटा सर्वेक्षणले अमेरिकाले विश्व जगतमा आफ्नो भूमिकालाई खुम्च्याउनुपर्ने देखाएको थियो। त्यसबेला युक्रेन बिबाद चर्किरहेको समयमा त्यहाँ अमेरिकाले हस्तक्षेप गर्न नहुने सर्वेक्षणले देखाएको वालस्ट्रिट जर्नलले उल्लेख गरेको थियो। यही सिद्धान्तका पक्षपाती ट्रम्प राष्ट्रपति निर्वाचित भए।
तर अवस्था कस्तो छ भने जुन बेला ट्रम्प राष्ट्रपति भएर आएर चिनिया पक्ष अब विश्वमञ्चमा आफ्नो भूमिका बढाउने योजनामा छ। चीनका लागि यतिखेर सबैभन्दा सुनौलो अवसर मिलेको छ। किनकी उ यसैपनि आर्थिक रुपमा अमेरिकालाई समेत टक्कर दिनसक्ने हैसियतमा पुगिसकेको छ।
गत महिना स्विजरल्याण्डमा भएको विश्व आर्थिक मञ्चको बैठकमा चिनिया राष्ट्रपति सि जिन पिङले चीनले अब विश्वमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। दोस्रो विश्वयुद्ध पछि अमेरिकाको हातमा रहेको ‘सुपरपावर’ को भूमिका अब चीनले खोस्ने तयारी गरिरहेको छ। किनकी एक दशक अघिसम्म स्वतन्त्र व्यापारको मुद्धा अमेरिका लगायत पश्चिमा देशहरुको मात्र थियो।
यतिखेर स्वतन्त्र व्यापारको एजेण्डाको वाहक बदलिएका छन्। यतिखेर स्वतन्त्र व्यापारको एजेण्डाको मुख्य वाहक चीन भएको छ। अमेरिकी कम्पनी आइफोनलाई बढ्ता कर लगाउने भनेर राष्ट्रपति ट्रम्पले बोल्दा सबैभन्दा ज्यादा टाउको दुखाई चीनका लागि हुन्छ। किनकी आइफोनको उत्पादन चीनले गर्छ। चीनको फक्सकनले आइफोन उत्पादन गर्दै आएको छ।
यदी अमेरिकी राष्ट्रपतिले भनेजस्तै सबैतिरबाट अमेरिकाले हात झिक्ने हो भने यसको हैसियत नङग्रा नभएको बाघको जस्तोमात्र हुनेछ। संसारभरिको सर्वमान्य सिद्दान्त हो—शक्तिको पूजा। जोसँग शक्ति छ, जोसँग बल छ। उसँग धन नभएपनि सबै डराउँछन्। त्यसमाथि अलिकति बल पनि थपियो भने त सारा थर्कमान हुन्छन्। अरुलाई किन सहयोग गर्ने ? अरु जे सुकै गरुन् के मतलब, अरुको समस्यामा कित हात हाल्ने ? भन्नेजस्ता नीति लिएर अहिलेको विश्व चल्दैन। अझ अमेरिका जस्तो ‘महाशक्ति’ कहलिएको देशले यो नीति लियो भने यसको चार्म पनि रहन्न।
विश्वमा धनी देशहरुको सूचिमा अमेरिका नवौँ स्थानमा छ। अमेरिकाको प्रतिव्यक्ति आय ५४ हजार ६ सय ३० डलर छ। जवकी प्रतिव्यक्ति आयका हिसाबले कतार सबैभन्दा धनी देश हो। कतारको प्रतिव्यक्ति आय एकलाख ४० हजार डलर छ।
अमेरिकाभन्दा अगाडी स्विजरल्याण्ड, नर्वे, युएई, ब्रुनाई, कुवेत, सिंगापुर, लक्जेम्बर्ग छन्। तरपनि मानिसहरु धनीदेश कतारमा भन्दा अमेरिकामा बस्छु, काम गर्छु भन्दा छुट्टै दृष्टिले हेर्छन। यो किन भने अमेरिकाले केही शताव्दी लगाएर आर्जन गरेको प्रतिष्ठा हो। यदी अमेरिकाले बाँकी विश्वलाई गर्ने सहयोगलाई निरन्तरता दिएन वा आफ्नो उपस्थिती पातलो बनाउँदै लग्यो भने त्यो ठाउँ अर्कोले कव्जा गर्नेछ। हिजोको सोभियत संघको साटो यतिखेर चीन आक्रामक आर्थिक शक्तिका रुपमा अघि बढिसकेको छ। रूस बाहेक संसारको बाँकी विश्व कसैले पनि चाहेको छैन अमेरिकाले हाँसिल गरेको त्यो सुपरपावरको विरासतलाइ गुमाअोस् ।