बन्द नगर्ने कसम खाएकाहरुको अराजक बन्द
Tuesday, December 27th, 2016, 9:39 am
amit
भीम रावत
यही पुष एक,दुई र तीन गते ३ दिन देशको प्रमूख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकका विरुद्ध जनसमर्थन आर्जन गर्ने भन्दै ५ नं. प्रदेश बन्दको आयोजना ग¥यो । आयोजकको भनाईमा बन्द पूर्णरुपमा सफल भयो । जनताको नजरियाबाट हेर्दा बन्द सास्ती मात्र भएन , जोरजबरजस्त र अत्यन्तै अराजक समेत रह्यो । बिरामी बोकेका एम्बुलेन्सहरुको हावा खुस्क्याईयो । बिरामी बोकेको देख्दादेख्दै र भन्दाभल्दै मोटरसाईकल तोडफोड
गरियो । पसलहरुमा तोडफोड गरियो । बन्दको अवज्ञा गरेको भन्दै कतिलाई चटकन लगाईयो । अझ बन्दकर्ताले नयाँ बन्द संस्कारको आविस्कारै गरे कोहलपुरमा त । बन्दकर्ताहरु मोटरसाईकलमा ट्याट्या र टुटु हरण लगाउँदै सररर गरे । सबै ब्यावसायीहरुलाई आ–आफ्ना ब्यवसायहरु बन्द गर्न आदेश दिदै , हप्काउँदै दप्काउँदै र आदेश नमान्नेहरुलाई चटकन लगाउँदै बन्द पूर्णरुपमा जनताको समर्थनमा सफल भएकोको घोषणा गरियो । कठैबरा लोकतन्त्र तँ कस्तो आमाको कोखबाट जन्म लिईछस् ।
बि.स.२०४६ साल यता नेपालमा बहुदलीय प्रजातन्त्र स्थापना सँगै सत्तामा रहेकाहरुले आन्दोलन गर्नेहरुलाई सत्ता नपाएकोमा मरिहत्ते गर्ने भन्दै आन्दोलनको कुनै औचित्य नभएको भट्ट्याईरहने तथा सत्ता बाहिर रहेकाहरु केही न केही निहुँ खोजेर आन्दोलन गर्ने, सत्ता र सरकार विरुद्धमा प्रचारबाजी गर्ने , बन्द–हडताल गर्ने ,सडकका रेलिङ भाँच्ने , तोडफोड गर्ने , आफ्नो आदेश नमान्नेहरुलाई हिर्काइदिने । यसरी जनतालाई सास्ती दिने तर जनता आफ्नो पक्षमा भएकाले बन्द पूर्णरुपमा सफल भएको भनेर ‘डंङ्क पिट्ने’ चलन प्रचलित नै भयो । मुलुकमा माओवादीको सशस्त्र युद्धसँगै अरुले गर्ने आन्दोलनका स्वरुपहरु मित्थ्या,फिका,अर्थहिन र अप्रभावी बन्दै गए ।
तत्कालिन राजा ज्ञानेन्द्रको शासनकालमा उनको एकतन्त्रीय स्वरुपको शासन शैली र प्रजातन्त्रको खोक्रो आडम्बर भित्र हुर्किएको तानाशाही राजलाई निस्तेज पार्न सक्ने बलबुता समेत त्यसबेलाका संसदीय पार्टीहरुले गुमाईसकेका थिए । त्यसैले त्यसबेलाको संसदीय घेरा भित्रका आन्दोलनका स्वरुपहरु संयमित,शान्त र शालिन जस्ता देखिनु वा देखाउनु उनीहरुको आत्मरक्षाको बाध्यात्मक अवस्था थियो । तर नेपालमा लोकतन्त्र स्थापना सँगै घोषणा गरिएको गणतन्त्रको शासन सत्तामा चाहीं अचम्मैको संस्कार र शैलीको प्रादुर्भाव भएको पाइन्छ । त्यो के हो भने– चाहे ती हिजोका संसदीय राजनीतिक दलहरु हुन् वा हिजोका क्रान्तिकारी दलहरु हुन , ती सबै सत्तामा रहँदा र सत्ता बाहिर रहँदा पुरै १८० डिग्रीको फरक हुन थालेका छन् । त्यसको ज्वलन्त उदाहरण माओवादी र एमालेले ब्यवहारमै पुष्टि गरिसके भने काँगे्रसले त्यत्तिको नाङ्गो रुप देखाउन बाँकी छ ।
नेपालमा लोकतन्त्र स्थापना पश्चात मधेश आन्दोलनका नाममा बन्द,हडताल,तोडफोड,आगजनी,हत्या,बलात्कार सम्मका अमानवीय घटनाहरु भए । त्यस्तै संघीयताको आन्दोलनको नाममा पनि विगतमा सुदुर पश्चिमको कैलाली र पूर्वको बारामा
सुरक्षाकर्मीहरुलाई जिउँदै जलाउने सम्मका अत्यन्तै अमानवीय,विभत्स र क्रुर घटनाहरु भए । ती सबै आफ्नो अधिकार प्राप्तीका नाममा गरिएका भनिएका आन्दोलनमा भएका थिए । ती सबै घटनाहरुलाई यो वा त्यो कोणबाट ‘राजनीतिक लेप’ लगाउने र जघन्य अपराधमा संलग्न भएकाहरुलाई समेत उन्मुक्ति दिने काम भयो । यो नै राजनीतिक आन्दोलनको लेप लगाएर जतिसुकै अराजकता प्रदर्शन गर्नेहरुलाई पनि छुट दिने प्रवृत्तिको विकास भयो । यसबाट हौसिएर आन्दोलनमा अराजक बन्ने मनोविज्ञानको बढावा हुँदै आइरहेको छ । त्यसैको प्रतिबिम्व यतिबेला एमालेजनहरुले प्रदर्शन गरे ।
नेकपा एमाले संविधानसभाको पहिलो निर्वाचन पश्चात प्रचण्ड नेतृत्वको सरकारमा थियो । कटवाल प्रकरणमा भारतको दवाबमा सरकारबाट समर्थन फिर्ता लिई सत्ता छोडेर प्रचण्ड नेतृत्वको
सरकारलाई अल्पमतमा पारी कटवाललाई बचाउन भारतको आदेशपालकको रुपमा काम गरेको सबैमा जगजाहेर नै छ । प्रचण्डले राजीनामा दिएपछि एमालेकै नेतृत्वमा नेपाली काँगे्रसको समर्थन र सहभागितामा सरकार बन्यो र माओवादी सडक आन्दोलनमा गयो । त्यो बेला संसदमा काँगे्रस र एमालेको योग भन्दा माओवादी संख्यामा एक्लै बढी थियो । माओवादीको सडक आन्दोलनलाई एमाले नेतृत्वको सरकारले निस्तेज मात्र पारेन, माओवादी भित्र आन्दोलनको विषयलाई लिएर अन्तरद्वन्द्व सृजना गरिदियो । त्यहीबाट माओवादीको सांगठानिक संरचना बिग्रिन थाल्यो । एमालेले त्यतिबेला भन्यो,– ‘लोकतन्त्र, गणतन्त्र आइसकेपछि पनि अब सडकमा जनता उतारेर बन्द, हडताल गर्नु , तोडफोड गर्नु भनेको अराजकता निम्त्याउनु हो । यस्तो संस्कारलाई सधैका लागि बन्द गरिनु पर्छ ’ भन्दै आफूले अब बन्द हडताल गरेर आम जनतालाई दुःख दिने कार्य कहिल्यै नगर्ने भनी संसदमा र सार्वजनिक कार्यक्रमहरुमा कसम खाएको भिडियो फुटेजहरु अझै सुरक्षीत नै छन् । यस्तो कसम खानेमा एमालेका नेताहरु सार्वजनिक रुपमै तछाडमछाड नै गर्दथ्ये ।
तर के गर्नु , नेपालको राजनीतिक संस्कार न हो । नेता र दलहरुको संकिर्ण स्वार्थ र पूर्वाग्रही मनोविज्ञान न हो । घुमिफिरी एमाले नेतृत्वको सरकारबाट माओवादीले समर्थन फिर्ता लियो र एमाले सरकार अल्पमतमा परी ढल्यो । काँगे्रसको समर्थन र सहभागितामा प्रचण्डको नेतृत्वमा सरकार
बन्यो । त्यसैले प्रचण्डको नेतृत्वको सत्ता गलाउने एमाले न्वारणदेखिको बल लगाएर आन्दोलनमा
छ । नेपालीमा एउटा उखान छ – ‘कहिलै सासुको पालो कहिलै बुहारीको पालो ’ । उसले हिजो
गरेका बाचा–कसम सबै तोड्यो, बिस्र्यो,तिलान्जली दियो र आन्दोलनको नाममा बन्द, हडताल,चक्काजाम,तोडफोड,आदि जे जे अरुलाई नगर्ने अर्थी सिकाउँदथ्यो त्यही काम आफूले तन,मन र धन लगाएर गरिरहेको छ यतिबेला । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भने झै राजनीतिमा बोली र ब्यवहारको पनि कुनै स्थायित्व नहुँदोरहेछ । त्यो एमालेले पुष्टि गरिदियो । यसबाट नेपाली जनताले एउटा राम्रो पाठ सिक्नु पर्ने भयो । त्यो के हो भने , जसरी नेपालका
राजनीतिक दलहरुले सत्ताका लागि बोली र ब्यवहार फेर्दछन् त्यसरी नै जनताले पनि राजनीति दललाई फेर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो र त्यही अनुसार जनताले निर्णय गर्न पाउनु पर्दछ र सक्नु पर्दछ । सत्ता सँगै फेरिने राजनीतिक दलहरुको बोली र ब्यवहार कै कारण नेपालमा स्थाई सत्ता कहिल्यै सकैको पनि हुन सकेन । स्थीर सत्तामा वैदेशिक शक्तिहरुले चलखेल गर्ने अबसर पाउनु स्वभाविकै हो । यो अवस्था गणतन्त्र नेपालका नागरिकहरुले समेत भोगिरहनु परेको छ र कहिले सम्म यस्तो अवस्था भोगिरहनु पर्ने हो त्यो भाग्यमै निर्भर छ । नेपालका राजनीतक दलहरुमा निर्भर रहेर विश्वास गर्ने ठाउँ देखिदैन ।