राप्रपा वरिष्ठ नेता लोहनीद्वारा पार्टी परित्यागको घोषणा
Monday, March 13th, 2017, 3:26 am
amit
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गर्नुभएको छ ।
अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्ट रहेका नेता लोहनीले राजधानीमा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पूर्व सहमति बिपरित पार्टीको चुनाव चिन्ह गाई राखिएपछि अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाउनुभएको छ ।
पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै उहाँले आजैका मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको जानकारी गराउनुभएको छ । लोहनीले जारी गरेको विज्ञप्तीमा पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजिएको भन्दै यस्तो अधिनायकबादी क्रियाकलापसँग आफ्नो पूर्ण असहमति रहेको उल्लेख छ ।
पार्टी एकीकरण अगाडी नयाँ पार्टीको झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह हलो हुने समझदारी भएपनि यो प्रतिवद्धतालाई लत्याईएको उहाँको भनाई छ । पार्टीभित्र कुनै छलफल नगरी सरकारमा गएको भन्दै उहाँले पार्टी अध्यक्षले मधेशको समस्यालाई पदमा पुग्ने हतियारको रुपमा प्रयोग गरेको समेत आरोप लगाउनुभएको छ । उहाँले विचार मिल्ने साथीसँग सल्लाह गरेर आफ्नो नेतृत्वमा नयाँ पार्टी खोल्ने बताउनुभयो ।
केही साथीले चैत्र ६ गते राष्ट्रिय भेला बोलाएको जनाउँदै लोहनीले त्यही छलफल गरेर नयाँ पार्टीबारे निर्णय गर्ने बताउनुभयो । उहाँले आफूले पार्टी परित्याग गर्नुभन्दा पहिले नै शीर्ष नेताहरु लोकेन्द्र बहादुर चन्द र पशुपति शमशेर राणालाई जानकारी गराएको बताउनुभयो ।