बाको फोटो
Saturday, March 12th, 2022, 2:35 pm
Kalpristha
‘छोरो, लु बालाई बोलाएर टीको लगाइदे ।’ सर्मिला बिहानै माइत जान हतारिँदै छोरालाई भनिन्
छोरोले आमाले भनेझैँ गरे । सर्मिलाले निक्कै राम्राराम्रा फोटा खिचिन् । छोरालाई फोटाहरु फेसबुकमा पोष्ट्याउन अह्राएर माइत गइन् ।
माइतमा राम्रा फोटा खिचेर पोष्ट्याइन् । भोलिसम्म छोराले एउटै फोटो पोष्ट्याएन । माइतबाट आएर छोरालाई खै गरिन् – ‘छोरा त्यति राम्रा फोटा खिचिदिएको किन फेसबुकमा पोष्ट नगरेको ? सबैले हाले । हेर बाबु, बाको मायाँ लागेन ?’
छोराले स्पस्टिकरण दिन खोज्यो –‘बाले कहिल्यै पोष्ट गर्नु भएन त ? बाले चै आफ्ना बाको माया गर्नुहुन्न त ?’
‘बाले त गर्नुहुन्छ नि । फोटो नभएर पो पोष्ट नगर्नु भएको त । त्यो बेलामा फोटै खिच्दैन थे अरे ।’ आमाले सम्झाइन् ।
‘आमा, बासँग हजुरबाको फोटो छ त । लुकाएर राख्नुभएको छ । मैले पनि बाले झैँ गरेको । हेर्नु त ? मावाइलमा हिजो खिचेका सबै फोटा लुकाइसकेँ ।’ छोराले थप्यो ।
‘लौ हिजो खिचेका त्यति राम्रा फोटा डिलेट गरेको ? खै कहाँ छ बाको चैँ फोटो ?’ आमाले ससुराको फोटो खोजिन् ।
छोराले भन्यो – ‘म अस्ति बाहिर खेल्दै थिएँ । झ्यालबाट सुटुक्क चिहाएँ । बा हजुरबाको चित्र बनाउँदै हुनुहुन्थ्यो । कति राम्रो हजुरबा सेता लामा दाह्री पालेका, हँसिला ।’
आफूले जीवनमा नदेखेका ससुराको फोटो हेर्न अतालिँदै सर्मिला बोलिन् – ‘छिटो देखा न त फोटो ?’
छोराले भन्यो –‘ बाले फोटो बनाइसकेर छातीमा टाँस्नुभयो अनि फोटो मसिनो च्यातेर डस्टबिनमा राख्दै भन्नुभयो –‘ बा म हजुरलाई फेसबुकमा छरिन दिन्न मनमा लुकाइराख्छु ।’
इटहरी