सुरु भयो रनिङ शिल्ड
Saturday, March 12th, 2022, 9:07 pm
Kalpristha
चौथो अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता सुरु भएको छ । खजुरा गाउँपालिका–२ स्थित योगिनी मावि गौघाटमा प्रतियोगिता सुरु भएको हो । शनिबार एक समारोहका बिच लुम्बिनी प्रदेश सांसद बाबुराम गौतम, खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति लगायतले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनलाई भव्य बनाउन बिभिन्न झाँकी, पञ्चेबाजा र सहभागी बिद्यालयका खेलाडी छात्रा, छात्रको मार्चपास, विभिन्न प्रस्तुती देखाइएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद गौतमले खेलकुदले खजुराको समग्र विकासमा प्रभाव पार्ने बताउँदै स्वस्थ नागरिक उत्पादन गर्न खेलकुदको महत्वपुर्ण भुमिका रहने बताए ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बिगत देखि सुरु हुदै आएको यो प्रतियोगिलाई खजुरावासीले एक महोत्सवको रुपमा हेरेको बताए । प्रतियोगितामा सहभागी विद्यालयलाई स्वागत गर्दै योगिनी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिम बहादुर पुनले गौघाटवासी खेलप्रेम भएकोले रनिङ शिल्ड भव्य रुपमा सफल बनाउने बताए । उनले भने,‘विगतमा यही मैदानमा हामीले बिच भलिबल, योगिनी कप भलिबल, फुटबल , त्यो भन्दा पहिले क्षेत्रीय स्तरको भलिबल गरेको थियौं । गौघाटवासी खेलप्रेमी छन । यहाँ जनता खेल भावना बोकेका छन भन्ने सन्देश दिन्छ । प्रतियोगितालाई सफल बनाउन सहयोय गर्नुहुने सबैविद्यालय, अतिथि र विभिन्न समिति र उपसिमितिमा बसेर काम गर्नु भएका सबैलाई स्वागत गर्न चाहन्छु ।’
अन्तर बिद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिता खजुरा गाउँपालिकामा स्थापित भैसकेको भन्दै अध्यक्ष कक्षपतिले आगामी बैशाखमा हुने स्थानीयतहको चुनाव पछि गठन हुने स्थानीय सरकारले पनि यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रम उद्घाटन गरिँदै
खजुरालाई १५ बर्षमा समृद्ध बनाउने लक्ष्यलाई साकारपार्न यो प्रतियोगिता पनि जोडिएकाले समृद्ध खजुरा बनाउने सवालमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगितामा खजुरा क्षेत्रका सामुदायिक तथा निजी गरि १६ विद्यालयका १८ बर्ष मूनिका १ सय ७७ छात्रा र २ सय ४१ छात्र गरि ४ सय १८ बिद्याथीहरुको सहभागितामा खेल प्रतिष्पर्धा हुने खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा सचिवालय संयोजक खगेन्द्र बहादुर मल्लले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतीयलाई १० हजार राशीको पुरस्कार, प्रमाण पत्र र ट्रफिको व्यवस्था गरिएको छ । कार्यक्रममा खजुरा गाउँपालिका राजनितिक सल्लाकार भीम वली, नेपाली काँगे्रसका पूर्व सभापति कृष्णमान श्रेष्ठ, नेकपा बाँकेका सचिव रत्न खत्री, नेकपा माओवादीका जिल्ला सचिब धनीराम वली, खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, लगायतको सहभागिता रहेको थियो ।
फागुनको ३० गते सम्म चल्ने प्रतियोगितालाई सफल बनाउन अध्यक्ष कक्षपतिको नेतृत्वमा ३ सय १ मुल आयोजक समिति गठन गरिएको छ ।