ग्रीन सिटीका लागि किसानलाई तालिम
Wednesday, March 23rd, 2022, 9:20 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालन कृषकलाई अनलाइन तालिम सुरु भएको छ । कोभिडका कारण ढिलाई भएको उक्त कार्यक्रम अन्तरगत कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानलाई अनलाइन तालिम दिन थालिएको हो ।
थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दिगोपनाका लागि तालिम फलदायी हुने बताइएको छ । व्यवस्थित खजुराका लागि कुन मोडालिटीमा जाने भन्ने विषयमा ग्रीन सिटीका लागि उज्वेगस्तानको राजधानी तास्केन्टमा युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन अध्यक्ष किस्मतकुमार कक्षपति वीच सम्झौता पश्चात युयानको टोलीले खजुराको स्थलगत अवलोकन गरिसकेको छ भने खजुरा गाउँपालिका किसान अगुवा र नार्कका वैज्ञानिकलगायतको टोली चीनको युसी सिटीमा त्यहाँको खेती प्रणालीको अवलोकन गरी अनुभवन आदान प्रदान गरिसकिएको छ ।
त्यसपश्चात पहिलो चरणमा खजुराका कृषि र पशुपालनमा आवद्ध किसानलाई तालिम दिन लागिएको अध्यक्ष कक्षपतिले जानकारी दिए । कृषितर्फ प्याज र टमाटर खेती र पशुपालनतर्फ बंगुर र कुखुरा पालनका लागि कृषकलाई तालिम दिन लागिएको हो ।
३ दिन कृषि र ४ दिन पशुपालनसम्बन्धी तालिम संचालन हुनेछ । कृषितर्फ खजुरा गाउँपालिका कृषि शाखा प्रमुख पुनम पोख्रेल, प्रकाश सापकोटा र पशुपालनतर्फ पशुसेवा शाखाका प्राविधिक बुद्धि थापाले तालिमको सहजीकरण गर्ने छन् ।
खजुरा गाउँपालिका प्रमुख कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट कुनै पनि हालतमा लागू भएरै छोड्ने बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा पनि लागु गर्नका लागि आफूले सम्बन्धित निकाय सामु कुरा राखेको बताए ।
कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले समाज विकासका लागि जोसुकैको सरकार भए पनि हातेमालो गरेर अगाडि बढ्ने परिपाटीको विकास गर्नु पर्ने बताए । उनलेग्रीन सिटीकै पाइलट प्रोजेक्ट अन्तरगत अनुभवन लिनका लागि चीन भ्रमण गरिसकेका खजुराका अगुवा कृषक गेहेन्द्र धितालले परम्परागत खेती प्रणालीबाट रुपान्तरण हुँदै कृषि र पशुपालनबाट खजुराको दीगोपना खोज्नु पर्ने बताए ।
ग्रीन सिटी प्रोजेक्टका विश्व खाद्य संगठन चाइना, युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन एग्रिकल्चर चाइना, युएनडिपी नेपाल, एफइसिसी लगायतका साझेदार संस्था रहेका छन् ।