‘ऊ त प्रहरी पो रहेछ’
Saturday, April 2nd, 2022, 11:00 am
Kalpristha
हजुर मेरो घरमा चोरी भो । चोर समात्ने जिम्मा उसको भो । हजुर घरमा आगो लाग्यो ! उ हतार हतारमा आगो निभाउदा आफू जलेका थाहा पाएन । हजुर नहरको बाढी गाँउमा छिर्यो ! लाग्थ्यो आफुले नै गल्ति गरेर सच्चाई रहेको छ । हजुर गाई डिंगा हराए ! उ बाहेक खोज्ने को थियो र ? हजुर छिमेकीले अत्याचार गर्यो ! छिमेकी भन्दा नजिकको भएर कुरा मिलाईदियो । हजुर श्रीमतीले कुटी ! घरको निजि मामलामा पनि उ नै चाहिने भो । गाँउलेले उसलाई जे जे मा सम्झे उ सबैमा समेटिदै गयो । राम्रो नराम्रो जे मा पनि उ नै चाहिने । उ समाजको पर्यायवाची जस्तै थियो । उसको काममा कोही खुशी त कोही रुष्ट पनि पक्कै थिए होला । उसलाई कुनै प्रवाह भएन । जागिरले उसलाई झन निखार ल्याउदै गर्यो । नोकरी प्रबेश गर्दै गर्दा ‘जनताको सेवाको लागी’ भनेको जवाफ साच्चै आफुले मिलाएको रहेछु भन्ने उसलाई लाग्यो । आफ्नो घर परिवार, छोराछोरी, आमाबाबु, ईष्टमित्र, चाडवाड, कहिल्यै भनेन । पराईलाई पनि आफ्ना देख्ने भईसकेका थिए उसका आँखा । रात बिरात उसलाई देखेपछि गाँउले सबै ढुक्क । अपराधिका अपराध लुक्थे । चोरका योजना तुहिन्थे । उ बास्तकि उ भएकोमा हर्षित थियो । यस पटक पनि सधै झै घरेलु समस्याले गाँउ गिजोलियो । सबैलाई आफ्नै देख्ने उही मन लिएर आज पनि गाँउमा देखियो । गाँउको भिडभाड हुलहुज्जत राम्रै सँग थाहा थियो उसलाई । धरपकट, ठेलमठेल धेरै पटक बेहोरेको पनि थियो । साच्यो आज पनि अस्तिको जस्तै होला तर अफसोच आज उसको आफ्नै भएकाले घाटी रेटे । उ अचेत भएर ढल्यो अनि अमुर्त भयो । आफुसगै अरुको सपना पनि छेडभरमै निमोठियो । उसको शरिरसँग घरको समस्या साटियो । को रहेछ ? धेरैले चासो दिए जस्तै गरे । थाहा भो–उ त प्रहरी पो रहेछ ।
जनकपुर