‘नेपालमा सहकारीको महत्व’
Sunday, April 3rd, 2022, 10:11 am
Kalpristha
६५औं राष्ट्रिय सहकारी विदस विशेष
शोभा गुरुङ
समाजमा छरिएर रहेको स– साना पुँजीलाई एकत्रित गरी पुँजी नभएका, बैकसम्म पहुँच नभएका तर सीप जोश जाँगर र केहि गरौं भन्ने भावना भएका सदस्यहरुको हित प्रबद्र्धन गर्ने उद्देश्यले आर्थिक, सामाजिक एवम् सांस्कृतिक उन्नतीका लागि गरिने व्यावसायिक प्रयास नै सहकारी हो ।
व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतीको लागि ‘एकका लागि सवै र सबैका लागि एक’ भन्ने सिद्धान्तको एकतावद्ध प्रयास सहकारीमा विध्यमान छ । सहकारी सामान्यतः सिमीत साधन भएका व्यक्तिहरुको एक संगठन हो जो प्रजातान्त्रिक रुपमा नियन्त्रित हुन्छ ।
नेपालमा सहकारीको संस्थागत विकासको थालनी २०१० सालमा योजना विकाश तथा कृषि मन्त्रालय अन्र्तगत सहकारी विभाग गठन पछि भएको पाईन्छ । २०१३ चैंत २० गतेका दिन नेपालको चितवनमा सर्वप्रथम बखान सिह गुरुङको नेतृत्वमा बखान बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको थियो । त्यसैले प्रत्येक वर्ष नेपालमा चैंत २० गतेको दिनलाई राष्ट्रिय सहकारी दिवसको रुपमा मनाइन्छ ।
यसले सबैलाई लगनशील, अनुशासित र ईमान्दारिताकोे पाठ सिकाउँछ र यस्तो प्रयासबाट हाम्रा भावी कार्य योजनालाई सामुहिक चिन्तन र अभ्यासबाट आर्दशतिर उन्मुख गराउन सकिने भएकाले यसलाई हाम्रो समाजमा देखिएको सामाजिक विभेद् अन्त्य गर्ने एउटा मोडेलको रुपमा पनि लिन सकिन्छ ।
सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ अनुसार देशमा थुप्रै सहकारी संस्थाहरु खुले जसको माध्यमबाट देशको अर्थतन्त्रमा खर्बौको रकम परिचालन हुँदै आएका छन् । सहकारीको माध्यमबाट यति ठुलो रकम परिचालन भएको तथ्यलाई आत्मसात गरी नेपाल सरकारले अर्थतन्त्रको तीन खम्बे नीतिअन्तर्गत सहकारीलाई प्रमुख एक खम्बाको रुपमा लिएको छ ।
पछिल्लो समय कोभिड–१९ महामारीको पहिलो र दोश्रो लहरले विश्वको अर्थतन्त्रमा ठुलो प्रभाव परेको छ । विश्वका ठुला देशहरु, ठुल–ठुला व्यापार , उघोग, कल कारखानाहरु धरापमा परे भने सहकारी पनि यो समस्याबाट अछुतो रहेन । कोभिड महामारीसँगै देशमा आएको आर्थिक मन्दीले सहकारीमा प्रभाव पारेको थियो । तर संकटको घडीमा पनि नेपालका सहकारीले उत्कृष्ट ढंगबाट आफ्नो व्यवस्थापनलाई बलियो बनाएका छन् । संकटको अवस्थाले सहकारीलाई कसरी विषम परिस्थितिमा काम गर्ने भन्ने पाठ सिकाएको छ । जुन सहकारीको लागि एउटा बलियो सिकाई हो भविष्यका लागि ।