खजुरामा सुरु भयो जुनियर फुटबल प्रतियोगिता
Tuesday, April 5th, 2022, 9:35 pm
Kalpristha
प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्य सहित खजुरामा अन्तर विद्यालय यु–१२ फुटबल प्रतियोगिता सुरु भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र फुटबल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन दिनमा अमर मावि र सिटिजन स्कुलले जित हासिल गरेका छन ।
पहिलो खेलमा अमर माविले जनता नमुना विद्यालयलाई १–० ले हरायो । खेलको १४औं मिनेटमा मन्जिल खड्काले गोल गरेका थिए । अर्को खेलमा सिटिजनले गुराँस चाइल्डलाई १–० ले पराजित गरेको छ ।
खेलको ४ मिनेटमा सिटिजनका मोहन गिरीले गोल गरेका थिए ।
खजुरा युनाइटेड फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १३ टिमले भाग लिएका छन ।
चैतको २४ गते सम्म चल्ने प्रतियोगितामा अमर मावि, गुराँस मावि, योगिनी मावि, जेनिथ एकेडेमी, सिटिजन, जनसेवा, नेपाल राष्ट्रिय नमुना विद्यालय बर्दिया, भुपु सैनिक, इन्टीग्रेटर एकेडेमी, मैटहवा, आयोजक एफसी ११, जनता नमुनाले भाग लिएका छन ।
क्लबका अध्यक्ष डिबी तामाङको अध्यक्षमा भएको उद्घाटन समारोहका बिच खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य प्रदेश सिंह राठौर, लुम्बिनी प्रदेश खेलकुद विकास समिति लुम्बिनी प्रदेशका अध्यक्ष भीम ओली, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारी, बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, एन्फाका पुर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना लगायतले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
नकआउटका आधारमा भएको प्रतियोगिताको विजेताले २५ हजार, उपविजेताले १५ हजार पाउने क्लबका महासचिव दिपक रानाले बताए ।