खोज पत्रकारिता तालिम सम्पन्न
Tuesday, April 12th, 2022, 9:33 pm
Kalpristha
नेपालगन्जमा शुक्रबारदेखि संचालन भएको खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा पाँचदिने तालिम सुरु गरेको हो ।
नेपालगन्जमा सक्रिय पत्रकारितामा आवद्ध पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारी उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको बताए । उनले तालिमले पत्रकारलाई खोज पत्रकारिता गर्न सहयोग पुग्ने विश्वास लिएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले तालिमले पत्रकारहरुमा खोज पत्रकारिता गर्न थप सहयोग पुग्ने बताए । रिजालले पालिका सधैंव पत्रकारहरुको योग्यता अभिवृद्धि गर्न तयार रहेको बताउँदै बाँके महासंघले ल्याएका योजनामा साथ दिने बताए । उनले पत्रकारले लेखेका समाचारले समाजमा प्रत्येक्ष असर पर्ने भएकाले वास्तविकताको उठान गर्नु पत्रकारको कर्तव्य रहेको बताए ।
कार्यक्रममा खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहराले सहजीकरण गरेका थिए । तालिमको अन्तिम दिन मंगलबार पत्रकार कृष्ण अधिकारीले खोज पत्रकारितामा आफ्नो अनुभव सुनाएको र खोज पत्रकारिताको महत्वका बारेमा सहजीकरण गरे ।
कार्यक्रममा नेपाल लाइभ डटकमका सम्पादक बोहराले तालिम आफूले सोचेभन्दा राम्रो भएको बताए ।
तालिममा सहभागी तर्फबाट बोल्दै पत्रकार वीरेन्द्र जैशी र विमला चौधरीले तालिम उपलब्धीमूलक भएको बताए । उनीहरुले खोज पत्रकारिता तालिमले आफू र सहभागी पत्रकारहरुको लेखनमा थप मद्दत पुग्ने बताए ।
तालिममा ३० बढी पत्रकारको सहभागिता रहेको थियो । तालिमपश्चात सहभागी पत्रकारलाई पमाणपत्रसमेत वितरण गरिएको थियो ।