कांग्रेसको घर–घर जाऔं अभियान सम्पन्न
Tuesday, April 12th, 2022, 9:41 pm
Kalpristha
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल गर्ने भन्ने पाटीको निर्णयअनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसद्वारा देशब्यापीरुपमा आयोजित स्थानीय चुनाव लक्षित एक महिने ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ अभियानको मंगलबार बाँकेमा समापन गर्दै गिरीले स्थानीय अवस्था र आवश्यकतालाई मूल्यांकन गरेर चुनावी गठबन्धन गर्ने पाटीको आधिकारिक निर्णयअनुसार नै अघि बढ्नुपर्ने बताए ।
केन्द्रीय प्रतिनिधिका रुपमा बाँकेमा खटिएका गिरीले सत्ता साझेदार अन्य दललाई सम्मानजनक स्थान दिएपनि कांग्रेस बलियो भएको ठाउँमा अरुलाई छोड्न नसकिने बताए । उनले झिनामसिना कुरामा अल्झेर नबस्न आग्रह गर्दै एकता कायम गरेर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरे ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सञ्जय गौतमले स्थानीय तहका उम्मेदवार टुंग्याउने जिम्मा पाटी विधान अनुसार नै दिनुपर्ने बताउँदै तालमेलको व्यवस्थापन स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिए । गौतमले केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुने अवस्था बने आम कार्यकर्ताको भावनाको सम्मान हुने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्य बक्ताहरुले स्थानीय अवस्थालाई मध्यनजर गर्दै तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित तल्ला कमिटीलाई नदिए चुनावी गठबन्धन जोखिमपूर्ण हुने बताए ।
कार्यक्रममा बाँके सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय सभा सदस्य एवम् पूर्व पाटी सभापति युवराज शर्मा, पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, प्रदेश प्रतिनिधिद्वय पुष्पलाल श्रेष्ठ र पुष्पा श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला), महासमिति सदस्य फूलाराम थारुलगायतको उपस्थिति रहेको थियो ।