लघुकथा : निष्कर्ष
Saturday, April 23rd, 2022, 8:45 am
Kalpristha
‘आमा मलाई अलि हतार छ । म गएँ है ।‘ यत्ति भनेर ऊ कुद्यो । आमाले सोध्नसम्म भ्याइनन् । केको हतार हो भनेर ।
साँझ छोरो अबिर माला लगाएर आएको देखेर आमाले एकाएक सोधिन् – ‘के साँच्चि जागिर पाइस् छोरा ! अब हाम्रा पनि दुखका दिन गए बाबै ।‘
आमाका गन्थनलाई रोक्दै ऊसंगै आएको अर्काेले भन्यो – ‘जागिर सागिर हैन आन्टी । उहाँ आज हाम्रो पार्टीमा प्रवेश गर्नुभयो ।‘
‘हो आमा । म छलछाम पार्टीको सदस्य भएँ । अब हाम्रा दिन आए ।‘ उसले आमालाई आश्वस्त पार्याे ।
अर्काे साँझ भान्सामा चामल हेर्दै सोचिन् – ‘अब हाम्रा दिन आए भन्थ्यो । कहिले पो आउने हुन् ?‘ बाहिर कल्याङ्गमल्याङ्ग आवाज आयो । छोरो फेरि फूलमाला र अबिरले रङ्गिएरै आयो । उसको साथीले भन्यो – ‘नमस्ते आन्टी । आजदेखि उहाँ हाम्रो पार्टीमा प्रवेश गर्नुभयो ।‘
‘हो आमा । म जालझेल पार्टीको सदस्य भएँ । चिन्ता मान्नु पर्दैन ।‘ उसले आमालाई पुनः आश्वस्त पार्न खोज्यो ।
……………..
आमा म खामखुम पार्टीको सदस्य भएँ ।
आमा म तिकडम पार्टीको सदस्य भएँ ।
आमा म डाङडुङ पार्टीको सदस्य भएँ ।
आमा म ……… पार्टीको सदस्य भएँ ।
आमा म …………… ………….. भएँ ।
छोराको चर्तिकला देखेर आमा स्तब्ध हुँदै मनमनै सोचिन् – ‘बाटुलीकी छोरीलाई बेश्या भनेर घृणा गर्थें । आखिर मेरो छोरो पनि बेश्या नै भयो !‘
……………………
कोहलपुर