निर्वाचन अपाङ्गमैत्री नभएको गुनासो
Sunday, May 1st, 2022, 9:47 pm
Kalpristha
स्थानीय तहको निर्वाचनमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुको पहुँच न्यून रहेको देखिन्छ । भ्mन उम्मेदवारी दिने अपाङ्गता व्यक्तिको संख्या बाँकेमा शून्य जस्तै रहेको छ । जिल्लाका विभिन्न पालिकामा निर्वाचन अभिकृतका रुपमा रहेको व्यक्तिहरु पनि अपाङ्गता भएका व्यक्तिहरुको उम्मेदवारी नभएको बताउँछन् ।
वैशाख ३० गते हुने स्थानीय चुनावका लागि सिंगो देश निर्वाचनमय भई रहेको अवस्थामा निर्वाचनको तयारीमा स्थानीय तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरू व्यस्त देखिन्छन् । तर देश पूर्ण निर्वाचनमय बनिरहँदा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुका सवाल तथा प्रतिनिधित्वको समावेशी भने न्यून रहेको सरोकारवालाहरुले बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघका संघीय सचिव भावुकजंग थापाअपाङ्गता भएका व्यक्तिलाई भोटरको रुपमा मात्र व्यवहार गरिने गरेको बताउँछन् । उनीले अघिल्लो चुनावमा अपाङ्गता भएका व्यक्तिलाई बेलगाडामा मदतान गर्न ल्याएको र उनीहरुलाई अलपत्र पारेको घटना देखेको बताए ।
बास नेपाल र डेक नेपालको आयोजना तथा स्वतन्त्र पत्रकार संघको संयोजनमा आइतबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले आसन्न निर्वाचन अपाङ्गमैत्री नभएको गुनासो गरे ।निर्वाचनमा र अन्य क्षेत्रमा पनि अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई प्राथमिकता दिनुपर्ने थापाले बताए ।
सम्मेलनमा बोल्दै डेक नेपालका देवीदत्त आचार्यले निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त मतदान हुनुपर्ने बताए । यसका साथै दृष्टिविहीन अपाङ्गता भएका मतदाताहरुका लागि मतपत्र अपाङ्गमैत्री हुनपर्ने, मतदान केन्द्रमा बहिरा व्यक्तिहरुका लागि सांकेतिक दोभाषेको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।
गतवर्ष स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरु उम्मेदवार नभएपनि यसवर्ष बाँकेका केहि स्थानीय तहमा उम्मेदवार रहेको पाइएको उनले बताए । तर अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता र सवालका विषयमा राजनीतिक दलहरुको ध्यानाकर्षण नभएको उनको गुनासो छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले स्पष्ट रूपमा उल्लेख गरेको र राज्य तथा राजनीतिक दलहरूको प्रमुख दायित्वको रूपमा रहेको पहुँचयुक्त निर्वाचन प्रणाली र समावेशी राजनीतिक सहभागिताको बारेमा केही सीमित संस्थाहरूबाहेक अरूबाट अपाङ्गताको सवालमा पहलकदमी न्यून रहेको महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक रुद्र तिमिल्सेनाले बताए ।
सांकेतिक भाषामा सूचना आदानप्रदान गर्ने व्यवस्था पनि भएको छैन। यसरी अपाङ्गता भएका व्यक्तिहरू सामान्य सूचना र जानकारीबाट नै वञ्चित हुनुपर्ने अवस्था छ भने उनीहरूले आफ्नो विवेकको प्रयोग गरेर आफ्नो बालिग मताधिकारको उपयोग गर्ने कुरामा विश्वस्त हुने कुनै आधारहरू नभएको बासका कार्यकारी निर्देशक एवम् स्वतन्त्र पत्रकार संघ बाँकेका अध्यक्ष नमस्कार शाहले बताए ।
मतदाता शिक्षा कार्यक्रम अपाङ्गता भएका व्यक्तिहरूसम्म पुर्याउने, सूचना सामाग्रीहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूले सजिलैसित पढ्न सक्ने गरी तयार गर्ने, मतदान सामाग्रीहरू अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्ने, मतदान स्थलहरूमा अपाङ्गता भएका व्यक्तिहरू सहजै आवातजावत गर्न सक्ने, अपाङ्गता भएका व्यक्तिहरूले आफूले इच्छाएको व्यक्तिबाट मतदान गर्न पाउने, निर्वाचनसम्बन्धी सबै सूचना तथा जानकारीहरू पहुँचयुक्त ढाँचा र भाषामा प्राप्त गर्नेलगायतका सबै कुरामा ध्यान दिन सरोकारवालाहरुको सुझाव छ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक तथ्यांक कति छ भनेर यकिनसाथ भन्न नसकिए तापनि २०६८ को जनगणनाले कूल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको छ । विश्व स्वास्थ्य संगठन तथा वल्र्ड बैँकले करिब १०–१५ प्रतिशतमा कुनै न कुनै किसिमको अपाङ्गता रहेको तथा अन्य विभिन्न अध्ययन अनुसन्धानहरूले नेपालमा जनगणनाले देखाएभन्दा निकै बढी नै व्यक्तिहरूमा अपाङ्गता रहेको देखाएको छ।
तथ्यांकले अपाङ्गता भएका व्यक्तिहरूको संख्या फरक–फरक देखाए पनि राज्यबाट सबैभन्दा बढी बहिस्कारमा परेको वर्ग भनेकैअपाङ्गता वर्ग भएको सरोकारवालाहरुको भनाइ छ ।
बाँकेमा अपाङ्गता भएका मतदाताको संख्या करिब १० हजार रहेको जनाइएको छ । जिल्लामा कूल तीन लाख २९ हजार चार सय ७३ जनाले मतदाता रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिलाई छुट्टै लाइन
बाँके जिल्लामा रहेका स्थानीय निकायले अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै लाइनको व्यवस्था गरेको पालिका निर्वाचन अभिकृतहरुले जनाएका छन् ।
नेपालगन्ज उप–महानगरपालिका निर्वाचन अधिकृत खडानन्द तिवारीले निर्वाचनमा तीनवटा लाइनको व्यवस्था गरिने बताए । उनले पुरुष, महिला र अपाङ्गताएवम् वृद्धवृद्धाका लागि गरी तीनवटा लाइनको व्यवस्था गरिने बताए ।
‘मतदान गर्नका लागि अपाङ्गताभएका व्यक्ति, ज्येष्ठ नागरिकलाई लाइनमा धेरैबेर बस्न नपर्ने गरी छुट्टै लाइनको व्यवस्था हुनेछ । सकेसम्म उहाँहरुलाई आउने वित्तीकै भोट हालेर जाने व्यवस्था मिलाइने छ,’ तिवारीले बताए ।
हिड्डुल गर्न नसक्ने व्यक्तिहरुका लागि ल्याउने लैजाने व्यवस्था छ ? भन्ने प्रश्नमा तिवारीले त्यस्तो व्यवस्था नभएको बताए ।
नेपालगन्जमा ८१ मतदान केन्द्र रहेका छन् ।
कोहलपुर नगरपालिका निर्वाचन अधिकृत तिर्थराज भट्ट पनि हिड्डुल गर्न नसक्ने व्यक्तिका लागि आफन्त आफैंले ल्याउने लैजाने व्यवस्था गर्दा ठीक हुने बताउँछन् । भट्ट भन्छन्, ‘अब राजनीतिक दलहरुले ल्याउने लैजाने गर्दा विरोध हुन सक्छ । हाम्रो ल्याउने लैजाने व्यवस्था छैन । त्यस्तैले स्वयम् व्यक्तिका आफन्तले ल्याउने लैजाने गर्दा राम्रो हुन्छ ।’
भट्ट पनि पुरुष, महिला र अपाङ्गताभएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि गरी तीनवटा लाइन हुने बताउँछन् । उनीले अपाङ्गताभएका व्यक्तिलाई तुरुन्त ल्याउने र लैजाने वातावरण सृजना गर्ने बताए ।
उनले भने, ‘ हामीहरुले मतदानका लागि २२, २३ र २४ गते गरी तीनदिन तालिमको आयोजना गर्दैछौं । त्यसमा मतदान कै विषयमा सिकाइन्छ । र सरकारी संयन्त्र लागू भएको छ वा छैन भनी हाम्रो अनुगमन भई रहन्छ ।’
कोहलपुरमा १५ मतदान केन्द्र रहेका छन् ।
खजुरा गाउँपालिका निर्वाचन अधिकृत लोकबहादुर सुनार पनि अपाङ्गताभएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइनको व्यवस्थामात्र हुने बताउँछन् ।
खजुरामा १६ मदतान केन्द्र रहेको छ ।