डोकोमा दूधे बालक बोकेर मत माग्दै ३३ वर्षीया रोकया
Tuesday, May 3rd, 2022, 5:03 pm
Kalpristha
उमेरले ३३ वसन्तमा पाइला टेकेकी सविता रोकाया यत्तिखेर मतदातालाई रिझाउन घरदैलोमा पुगेकी छिन् । मुड्केचुला गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिएकी रोकाया आफूलाई मत माग्दै घरदैलो अभियानमा लागेकी हुन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा नेकपा एमालेको टिकट लिएर अत्याधिक मत ल्याएर विजयी भएकी रोकाया दोस्रो कार्यकालको लागि पुनः उपाध्यक्षमै उम्मेद्वारी दिएर चुनावी प्रतिस्पर्धामा छिन् ।
यत्तिखेर एक वर्षे दूधे बालक डोकोमा बोकेर मतदाताहरुको घरआगनमा पुगेर मत माग्ने काम रोकायाको दिनचर्या बनेको छ ।
पहिलोपटक निर्वाचित हुँदा धेरैजसो समय सिकाई र अनुभव संगाल्दैमा वितेकाले खासै काम गर्न नपाएको बताउने रोकायाले बाँकी रहेका जनताका धेरै अधुरा काम गर्नलाई पनि आफूले दोस्रो कार्यकालको लागि उपाध्यक्षमा उम्मेद्वारी दिएको बताउँछिन् । वैशाखको चर्को घाम हावाहुरी र वर्षातको प्रवाहा नगरी दूधे बालकलाई बोकेर जनताको लागि काम गर्ने प्रतिवद्धताका साथ जनताको घरदैलोमै पुगेर मत माग्न आफू चुनावी प्रचारप्रसारमा लागेको उनको भनाइ छ ।
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेकी रोकाया डोकोमा बालक बोकेर जनताकै घरआगनमा पुगेर मत मागिरहँदा आफूलाई भावुक बनाएको अमरबहादुर शाहीले बताए । आफूनो उमेदवारी गरिव दलित दिनदुखी महिला, बालबालिकाको अधिकार सुनिश्तिताका साथै विकास र समृद्दिका लागि भएकाले मुड्केचुलावासीले पुनः आफूलाई अत्याधिक मत दिएर विजय गराउनेमा विश्वस्त रहेको रोकायाले बताइन् ।
वैशाख ३० गते हुन गइरहेको निर्वाचनको लागि मुड्केचुला गाउँपालिकामा नेकपा(माओवादी ) केन्द्रको तर्फवाट पालिका प्रमुखमा दत्तबहादुर शाही उपप्रमुखमा दुधा रोकाया र नेकपा एमालेको तर्फबाट प्रमुखमा लंकबहादुर रोकाया र उपाध्यक्षमा सविता रोकाया प्रतिस्पर्धामा छन् । पालिका प्रमुख उपप्रमुख सहित ५७ पदका लागि ९१ जना प्रत्यासीहरु चुनावी खेलमैदानमा छन् ।
०७४ को स्थानीय तह निर्वाचनमा एक मतले पराजित भएका नेकपा एमालेका लंकबहादुर रोकाया र पहिलो पटक निर्वाचित भइसकेर दोस्रो कार्यकालको लागि प्रमुख पदमा उमेदवारी दिएर चुनावी मैदानमा उत्रेका दत्तबहादुर शाही वीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेस वीच चुनावी तालमेल गर्ने सहमति अनुरुप उमेदवारहरु प्रचारप्रसारमा जुटरहेका बेला नेकपा माओवादी केन्द्रको लालकिल्ला मानिएको मुड्केचुला गाउँपालिकामा आफ्नो विरासत जोगाउन नेकपा माओवादी केन्द्रलाई हम्मेहम्मे हुने अवस्थाको सृजना भएको देखिन्छ ।