जानकीको विकास कांग्रेसको काधमा छ – छब्बन खाँ
Tuesday, May 3rd, 2022, 7:43 pm
Kalpristha
उमेदवारलाई ५ प्रश्न
अध्यक्ष पदको उमेदवार : जानकी गाउँपालिका
बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उमेदवार छब्बन खाँसहित उपाध्यक्ष पदकी उमेदवार रामप्यारी यादवलगायतको टोली चुनावी प्रचारप्रसारमा व्यस्थ छ । जानकीवासीको घर–घरमा पुग्दै उनीहरुका समस्यालाई सम्बोधन गर्ने काममा कांगे्रस उमेदवार व्यस्थ रहेको देखिन्छन । यसअघि पनि जानकी गाउँपालिकामा झिनो मतअन्तरले हार व्यहोरेका खाँ योपटक अध्यक्ष पदमा जित्ने विश्वास व्यक्त गर्छन् । उमेदवारलाई ५ प्रश्नमा चुनावी विषयमा खाँसँग गरिएको कुराकानी ।
पुनः जानकी गाउँपालिकाको अध्यक्ष पदमा किन लड्दै हुनु हुन्छ ?
जानकी गाउँपालिकाको अध्यक्ष पदका लागि मेरो उमेदवारी म एक्लैको निर्णय होइन । यो पूरा नेपाली कांगे्रस पाटीको निर्णय हो । म किन फेरी अध्यक्ष पदमा लड्दै छु भने, २०७४ सालको स्थानीय चुनावमा जनताले मलाई धेरै विश्वास गर्नु भएको थियो । र म जितेको मान्छे पनि हो । तर चुनावको गडनामा घोटाला भएरमात्रै सामान्य मतले मेरो हार भएको थियो । जुन दिन चुनाव सकियो त्यो दिनदेखि म आफ्नो तर्फबाट जानकीवासीको सेवामा लागि रहेको छु र जनताका समस्या बुझि रहेको छु । म के मन्छु भने जनताको हितका लागि एमालेबाट जितेका साथीहरुले केही गर्न सकेनन् । यहासम्मकी बाटो बनाउन आएको पैसाले नल धारा किनेर आफ्ना–आफ्ना पाटीका मान्छेहरुलाई बाढ्नु भएको छ । पाँच वर्षमा उहाँहरुको केही उपलब्धी देखिएन । त्यही भएर यो पटक एमालेलाई हराएरै छाड्ने प्रतिबद्धता लिएर फेरी चुनावमा लड्दै छु ।
चुनावी प्रचारको काम कस्तो भएको छ ?
हामीहरुले पूर्णरुपमा निर्वाचन आयोगले जारी गरेको नियमभित्र रहेर प्रचार गरिरहेका छौं । न कुनै हो हल्ला छ न कुनै नारावाजी छ । जुलुस निकालेरमात्रै हुँदैन । जनताको वास्तविक समस्यालाई बुझ्न जरुरी रहेको छ । हामीहरु प्रत्येक जानकीवासीको घर–घरमा पुगिरहेका छौं । उहाहरुको समस्यालाई सम्बोधन गर्दै हिँडिरहेका छौं । हामीलाई जानकीवासीले पनि योपटक जसरी पनि जित्नु पर्छ भन्नु हुन्छ । हाम्रो तर्फबाट चुनावको प्रचारका लाई गर्नु पर्ने काम सबै गरिरहेका छौं । यसको परिणाम पनि राम्रै आउने आशा छ ।
यसपटक जनताले तपाईलाई विश्वास गर्ने आधार के–के छन् ?
विगत पाँच वर्षमा जनकीवासीले जुन दुुःख पाएका छन् । त्यसबाट मुक्ति दिलाउने कांगे्रस पाटी नै । हामीले जित्नु भनेको जानकीवासीले जित्नु हो । यस अर्थमा चुनाव जितेपछि हाम्रो पहिलो काम जानकी गाउँपालिकामा रहेका गरिव परिवारका लागि काम गर्नु हो । किसान दाजुभाईहरुको लागि काम गर्नु हो । शिक्षामा पालिकाका सबै बालबालिकाको पहुँच पुर्याउनु हो । अहिले पालिकामा कतै पनि राम्रो बाटो बन्न सकेको छैन । सबै तिर वर्षामा पानी जम्ने, हिलोमात्र हुन्छ । जनताको हरेक घर–घरमा बाटो पुर्याउनु छ ।
तपाईप्रति मतदाताको अपेक्षा के देख्नु हुन्छ ?
विगत पाँच वर्षदेखि म बाहिर बसेर काम गरिरहेको छु । जनताका आवश्यकता मैले बुझेको छु । उहाँहरु मलाई सधैं पालिकाले गरेका कामका बारेमा सबैलाई थाहा नभएको गुनासो गर्नु हुन्छ । सबैभन्दा बढी त राहत वितरणमा भ्रष्टाचार भएका कुराहरु भन्नु हुन्छ । वास्तविक व्यक्तिलाई पालिकाले वास्तै नगरेका कुरा गर्नु हुन्छ । जानकीवासीले मसँग अपेक्षाभन्दा बढी स्थानीय सरकारको गुनासो गर्नु हुन्छ । त्यसैले उहाँहरुका ती सबै समस्याको सम्बोधन गर्न मैले जित्नै पर्ने हुन्छ ।
जित कत्तिको सुनिस्चित देख्नु हुन्छ ?
हाम्रो जित त लगभग सुनिस्चित नै भई सकेको छ । अब वैशाख ३० गते त्यसको परिणाम आउने हो । हामी जति घरमा पुगेका छौं । सबैको एउटै आवाज छ, जानकी गाउँपालिकामा यो पटक नेपाली कांग्रेसको जित । र जानकी गाउँपालिकाको पारदर्शीताको लागि नेपाली कांग्रेसले जित्नै पर्छ । नत्र फेरी जानकीवासीले पाँच वर्ष दुःख पाउछन् ।