कोहलपुरमा खानेपानीको हाहाकार, दैनिक १२ लाख लिटर पानी आवश्यक
Monday, April 10th, 2017, 3:17 am
amit
संगिन शर्मा
कोहलपुर- गर्मी सूरु भएसँगै प्रत्येक वर्ष तराईवासीहरुलाई खानेपानीको समस्याले सताउने गरेको छ । गर्मि चढ्दै गएपछि अधिकाशं जलस्रोतहरु सुक्नुका साथै पानीको प्रवाह कम हुने समस्या तराई क्षेत्रका लागि नौलो होईन । खानेपानीलाई ब्यवस्थित गर्ने उदेश्यले स्थापित खानेपानी संस्थानहरुले समेत खानेपानीको उचित वितरण गर्न सकिरहेका छैनन् ।
बाँकेमा समेत पछिल्लो समय खानेपानीको समस्या बढ्दै गएको छ । पश्चिम नेपालकै ऐतिहासिक शहरको रुपमा रहेको नेपालगञ्जले बाह्रै महिना खडेरीको सामना गर्दै आएको छ । वर्षायाममा समेत शुद्ध पिउने पानीको सहज पहुँचबाट नेपालगञ्जवासी वञ्चित हुँदै आएका छन ।
जनसँख्याको अधिकाशं हिस्सा हातेपम्पमा निर्भर हुँदै आएको छ । यद्यपी तराईवासीको लागी हातेपम्प नै खानेपानीको भरपर्दा स्रोत हो । बढ्दो शहरीकरण र प्रदुषणका कारण हातेपम्पको पानी पिउन योग्य नभएको विभिन्न अध्ययनले देखाएको छ । तै पनी नेपालगञ्जवासीहरु सदियौंदेखी हातेपम्पको भरमा आप्mनो जिवन निर्वाह गरिरहेका छन ।
उपभोक्तालाई खानेपानीको सहज पहुँचमा पु¥याउन खानेपानी संस्थानले धारा वितरण गरेपनि माग अनुसारको खानेपानीके सहज वितरण भएको पाईदैन । संस्थानको क्षमता भन्दा बढि माग हुने भएकाले समितिले ट्याङ्की निर्माण गरेपनि माग बमोजिम बितरण गर्न सकिरहेको छैन । शहरी क्षेत्रका अलावा ग्रामिण क्षेत्रमा समेत खानेपानी समस्या टड्कारो बन्दै गएको स्थानियहरु बताउँछन ।
जिल्लाकै दोस्रो ठुलो शहर कोहलपुरमा समेत खानेपानीको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । कोहलपुर नगरमा अब्यवस्थित शहरीकरण अर्को ठुलो समस्या हो । दिनप्रतिदिन जनसँख्याको चाँप बढिरहेको छ । पानीको प्रयोग बढेसँगै पानीका स्रोतहरु सुक्दै गएका छन । जसका कारण गर्मी मौसममा नगरबासीहरु पानीबाट बञ्चीत हुँदै आएका छन । प्राय चिसो मौसममा सहजै उपलब्ध हुने पानी गर्मी लागेसँगै अभाव हुने गरेको कोहलपुर–१२ चप्परगौडीकी भद्रकला देबकोटा बताउँछिन ।
कोहलपुर नगरको मुख्य बजार, चप्परगौडी, रझेना, प्रेमनगर, ड्राइभर टोल लगायतका ठाउँका नागरिकहरुले अहिलेपनि खानेपानीको समस्याबाट आक्रान्त छन । उक्त क्षेत्रमा खानेपानी उपभोक्ता समितिले समेत पानीको सहज बितरण गर्न सकेको छैन । सहरी क्षेत्रका अलावा नगरका भित्रि बस्तीहरुमा अधिकाशं स्थानमा हातेपम्पको प्रयोग गरिन्छ भने कतिपयले कुवाको समेत प्रयोग गर्दै आएका छन । नगरभित्रका प्रत्येक घरमा पानीको सहज आपूर्तिका लागि प्रयास भईरहेपनि अझैं प्रयाप्त बितरण हुन नसकेकाले कोहलपुरमा खानेपानीको अभाव कम गर्न खानेपानीको क्षमता विस्तार गर्नुपर्ने कोहलपुर एनटिभीका लवराज प्रधान बताउँछन । कोहलपुर नगरभित्र अहिलेसम्म दुई हजार ६ सय जनाले खानेपानी धारा जडान गरेका छन् ।
उपभोक्ताको माग अनुसार कोहलपुरमा प्रतिदिन १२ लाख लिटर पानी आवश्यक रहेपनि कोहलपुर खानेपानी उपभोक्ता समितिले माग अनुसारको बितरण गर्न सकिरहेको छैन ।
कोहलपुर नगरभित्र चुलिँदो खानेपानीको अभाव हटाउन हालसालै सात करोड लगानीमा खानेपानीको नयाँ योजना सूरु भएको छ । चार लाख ५० हजार लिटर क्षमताको दैनिक पिउने पानी नगरमा पु¥याउने लक्ष्यका साथ अहिले काम भैईरहेको छ । समयमा काम सकियो भने केही हदसम्म खानेपानीके समस्या कम हुने कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्लले बताउँछन ।
खानेपानी आपूर्ति तथा सरसफाई मन्त्रालयको ७० प्रतिशत लगानी र कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ३० प्रतिशत लगानीमा छ करोड ७८ लाख ५१ हजार लागतमा कोहलपुर नगर साना खानेपानी योजना निर्माण सूरु भएको हो । २०७४ साउनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको योजना पूरा भए नगर भित्र खानेपानीको सहज आपूर्ति हुनेमा नगरवासीहरु ढुक्क छन ।