सी-बाइडेन भेटवार्ता
Monday, November 14th, 2022, 7:13 pm
Kalpristha
एजेन्सी
नेपालगन्ज : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । द्विपक्षीय सम्बन्ध सुधारको प्रयासस्वरूप उनीहरूको भेटवार्ता भएको न्युयोर्क टाइम्सले जनाएको छ ।
रुस युक्रेन द्वन्द्वमा फरक धारणा राख्ने र विश्व राजनीतिमा एकअर्काका प्रतिस्पर्धी मुलुकका नेतृत्वबीच जी-२० सम्मेलनअघि इन्डोनेसियामा उनीहरूको भेट भएको हो । सेमिकण्डकटरमा लगाएको प्रतिबन्ध तथा ताइवानमा अमेरिकी नीतिका कारण दुई मुलुकबीचको सम्बन्ध थप चिसिएको छ ।
भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन् । चीनसँग सम्बन्ध सुधारका लागि आफू तयार रहेको बाइडेनको भनाइ छ । बाइडेनले समकक्षी सीसँग इमान्दार संवादका लागि आफू तयार रहेको भन्दै अवसरका लागि धन्यवाद पनि दिएका छन् ।
यस्तै, चीनका राष्ट्रपति सीले अमेरिकी समकक्षी बाइडेनलाई दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू पनि रहेको बताएका छन् । दुई मुलुकबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा सीले राखेका छन् । सन् २०११ मा सी र बाइडेन दुबैले उपराष्ट्रपतिको हैसियतमा चीनको छेन्दुमा भेट गरेका थिए ।
त्यसयता उनीहरूबीच टेलिफोन तथा भिडिओ कन्फ्रेन्स मार्फत् संवाद भएका थिए ।
बाइडेन राष्ट्रपति भएपछि पाँचपटक सीसँग भर्चुअल संवाद गरेका थिए । बाइडेन राष्ट्रपति भएपछि सी र उनीबीच पहिलोपटक भौतिक रूपमा संवाद भएको हो । भर्चुअल संवादमा सीले ताइवानमा अनावश्यक हस्तक्षेप नगर्न बाइडेनलाई चेतावनी दिँदै आएका थिए ।
अमेरिकाले गत अगस्टमा चीनमा सेमिकन्डकटर निर्यातमा प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको सम्बन्ध थप तिक्ततामा परिणत भएको छ । दुबै मुलुकका राष्ट्रपतिले आपसी सहकार्यका लागि तयार भएको भन्दै निकैबेर हात मिलाउँदै राम्रो हाउभाउ प्रस्तुत गरेका छन् ।