नेपालगन्जमा पहिलो पटक प्रयोग गरियो विद्युतीय मतदान यन्त्र
Wednesday, November 30th, 2022, 7:21 pm
Kalpristha
यस प्रविधिबाट गराईने निर्वाचनमा उम्मेदवारको नाम र फोटो समेत राखिएको हुन्छ । नाम र फोटो देख्न नसक्नेलाई आवाजको माध्यमबाट मतदान गर्न सक्ने प्रविधि यन्त्रमा जडान गरिएको छ । विद्युतीय यन्त्रको अर्को फाइदा भनेको कुनै पनि मत बदर हुँदैनन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ मंसिर
नेपालगन्जमा पहिलो पटक विद्युतीय मतदान यन्त्र(एभिएमा) प्रयोग गरेर निर्वाचन गरिएको छ । नेपालगन्जमा भैरहेको राष्ट्रिय अपांग महासंघ नेपालको नवौं महाधिवेसन तथा २१ औं वार्षिक साधारण सभामा विद्युतीय मतदान यन्त्र(एभिएमा) प्रयोग गरिएको छ ।

………
नेपालगन्जमा भैरहेको राष्ट्रिय अपांग महासंघको निर्वाचनमा ७ सय ८९ प्रतिनिधिले सहभागिता जनाइरहेका छन् ।
राष्ट्रिय अपांग महासंघले यसअघि पनि विद्युतीय मतदान यन्त्रको प्रयोग गरेर निर्वाचन गरेको थियो । विद्युतीय मतदान यन्त्रले निर्वाचनलाई छिटो र सरल तरिकाले सम्पन्न गर्न सहयोग गर्ने गरेको बताउँछन् यन्त्र निर्माण गर्ने कम्पनी रामलक्ष्मण इनोभेसनका प्रविधि अनुसन्धान कर्ता लक्ष्मण रिमाल ।
रिमालले भने, ‘अहिले भर्खरै सकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन कति झन्झटिलो छ भन्ने सबैलाई थाहा छ । तर विद्युतीय मतदान यन्त्रले निर्वाचनलाई निकै सहज बनाएको छ । यसको प्रयोगले हाम्रो समय र पैसा दुबै बचाउने गरेको छ ।’
रिमालका अनुसार विद्युतीय यन्त्रले १ सय २ स्थानमा निर्वाचन गराइसकेको छ । विद्युतीय यन्त्रले विशेष गरी आँखा नदेख्ने दृष्टिविहिनलाई पनि आवाज सुनेर मतदान गर्न सक्ने प्रविधिको विकास गरेको रिमालले बताए । यसैगरी मतदान सकिएको आधा घण्टामा नतिजा समेत निकाल्न सकिने उनले बताए ।
डिजिटल यन्त्रको प्रयोग गरेर निर्वाचन गराउने मेसिन १२ वर्ष अघि निर्माण गरिएको रिमालले कालपृष्ठ दैनिकलाई बताए ।
यसअघि नेकपा एमालेको चितवनमा सम्पन्न भएको महाधिवेशन र राप्रपाको काठमाडौंमा भएको महाधिवेशनमा पनि विद्युतीय डिजिटल यन्त्रको प्रयोग गरिएको थियो ।
यस प्रविधिबाट गराईने निर्वाचनमा उम्मेदवारको नाम र फोटो समेत राखिएको हुन्छ । नाम र फोटो देख्न नसक्नेलाई आवाजको माध्यमबाट मतदान गर्न सक्ने प्रविधि यन्त्रमा जडान गरिएको छ ।
विद्युतीय यन्त्रको अर्को फाइदा भनेको कुनै पनि मत बदर हुँदैनन् । यस प्रविधिको प्रयोगले अपाङगता भएका मानिसलाई सहज रुपमा मतदान गर्न सहयोग गर्ने गरेको छ ।
विद्युतीय मतदान यन्त्रको प्रयोग शुल्क मतदाताको संख्या, प्रयोग हुने मेसिनको आधारमा निर्धारण गरिने गरिएको बताउँछन् रामलक्ष्मण इनोभेसनका प्रविधि अनुसन्धान कर्ता रिमाल । सामान्यतया १ लाख देखि मेसिन प्रयोग शुल्क निर्धारण गरिएको उनले बताए ।