नेपालगन्ज विद्युतिय सन्जाल प्रणाली बनाउँदै प्राधिकरण
Monday, December 12th, 2022, 7:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ मंसिर
नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगन्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ । प्राधिकरणले नेपालगन्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा सन् २०५० सम्म वृद्धि हुन सक्ने विद्युतको सम्भावित माग प्रक्षेपण गरी उक्त मागलाई धान्ने गरी भरपर्दो र विश्वसनीय विद्युतीय भारबहन गर्ने उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्ध रुपमा बनाउने छ ।
नेपालगन्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा भइरहेको शहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत भाग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्तिका लागि नेपालगन्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको हो ।
विद्युत आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण-स्तरोन्नति र विस्तार गरिने छ । दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण गरिने छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगन्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नति÷सुदृढीकरणका लागि तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी लिएको छ ।
परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत मागलाई सम्बोधन गर्न बनाउनु पर्ने नयाँ लाइन तथा सवस्टेसनहरू निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगत रुपमा अनुगमन गरेको थियो । प्राधिकरणले अब यही आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने योजना तयार गरी सोही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरुको निर्माण अगाडि बढाउने छ ।
कार्यकारी निर्देशक घिसिङले उपभोक्ताहरुले बेहोर्दै आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सबस्टेसनको सदृढीकरण र विस्तार गरिने बताए । ३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले प्रष्ट पारे । प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ । सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरुको प्रस्ताव मूल्याङ्कन भइरहेको छ ।
उक्त सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई नेपालगन्जस्थित ३३÷११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाएर लाइन छिराउने योजना बनाएको छ । अहिले नेपालगन्जमै रहेको अर्को ३३÷११ केभी सबस्टेसनको पनि क्षमता विस्तारको काम भइरहेको छ । यसबाट नेपालगन्ज क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ ।