अब वडाले पनि ‘एप’ मार्फत सेवा प्रदान गर्ने
Wednesday, December 28th, 2022, 8:53 pm
Kalpristha
अहिलेको युग डिजिटल युग हो । यसको प्रयोगले जनतालाई सुरुआतमा केही अप्ठयारो लाग्ला तर समग्रमा यसले सेवालाई सहज बनाउँछ । सरकारको नीति पनि अब सरकारी सेवालाई डिजिटल माध्यमबाट उपलब्ध गराउने छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ पुष
नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर १२ ले वडाबाट प्रदान गरिने सेवाहरुलाई डिजिटल माध्यमबाट प्रवाह गर्ने बारेमा छलफल सुरु गरेको छ ।
बुधबार वडा कार्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा वडाले ‘डिजिटल एप’ बाट सेवा सुविधा उपलब्ध गराउने सेवाको सुरुआत गर्न अघि सुझाव संकलन गरेको छ ।
वडा अध्यक्ष तरुण बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले वडाभित्र रहेका राजनिति दलका प्रतिनिधि, सरोकारवाला र संचार विज्ञ सहितको टिमको सहभागितामा डिजिटल एप प्रयोग, यसको प्रयोग गर्ने तरिका, डिजिटल एपको प्रयोगबाट हुने फाइदाहरुका बारेमा छलफल गर्दै सुझाव समेत संकलन गरिएको छ ।

…………
कार्यक्रममा सहभागि भएका प्रतिनिधिहरुले सुरुआतमा डिजिटल एपको प्रयोग गर्ने तरिकाहरु सहज रुपमा आम वडावासीहरुलाई सिकाउनको लागि अभियान संचालन गर्ने र यसको प्रयोगबाट हुने फाइदाहरुका बारेमा जनतालाई जानकारी गराउने निर्णय गरेको छ ।
समय सापेक्ष आवश्यकता र सरकारको नीतिअनुसार डिजिटल सेवाको सुरुआत गर्ने तयारी गरिरहेको वडा अध्यक्ष तरुण बज्राचार्यले कालपृष्ठ दैनिकलाई बताए । उनले भने,‘अहिलेको युग डिजिटल युग हो । यसको प्रयोगले जनतालाई सुरुआतमा केही अप्ठयारो लाग्ला तर समग्रमा यसले सेवालाई सहज बनाउँछ । सरकारको नीति पनि अब सरकारी सेवालाई डिजिटल माध्यमबाट उपलब्ध गराउने छ । हामीले अहिले नै त्यसको सुरुआत गर्ने तयारी गरेका छौं । यसमा सबै वडावासीको सहयोगको आवश्यकता पर्छ ।’
१२ नम्बर वडाले जिआइजेटको सहयोगमा डिजिटल एपको सुरुआत गर्ने तयारी गरेको छ ।
जिआइजेटले सुरुआती चरणमा नेपालको कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका २० वडा वडामा डिजिटल एपको माध्यमबाट सेवा प्रवाह गर्ने एप निर्माणमा सहयोग गर्दैछ । त्यसका लागि लुम्बिनी प्रदेशका ७ वडा र नेपालगन्ज उप–महानगरपालिकाको १, ४, १२ र २० नम्बर वडामा सुरुआतमा यो सेवा सुरुआत गर्ने तयारी गरिएको छ ।
वडामा भएको छलफलबाट आएका सुझावका आधारमा सुरुआतमा वडाको प्रोफाइल, अभिलेख डिजिटलाईजेशन गर्ने, सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि अनलाइन निवेदन दिने, वडाबाट प्रदान गरिने सिफारिसहरु अनलाईन निवेदन र सेवा प्रवाह गर्ने, सुचना, जानकारी तथा गुनासोको अनलाईन समाधान गर्ने, वडा कार्यालयमा तिर्नु पर्ने राजस्व रकमको अनलाईन भुक्तानी प्रणाली र योजना तर्जुमा गर्दा राय सुझाव संकलन गर्न अनलाईन प्रणाली हुनु पर्ने निर्णय गरिएको वडा अध्यक्ष बज्राचार्यले बताए ।
जिआइजेटका प्रतिनिधि सुजित कुमार झाले नेपालगन्जको चारैवटा वडामा आएका सुझावहरु संकलन गरिसकेपछि उप–महानगरपालिकाको नेतृत्वसँग परामर्शपर्छ ‘एप’ निर्माण कार्य अगाडी बढने बताए ।
नेपाल सरकारले पनि स्थानीय तहका जानकारी गराउने र सेवा प्रदानमा सहयोग गर्ने उद्देश्यले ‘स्थानीय तह एप’ निर्माण गरेको छ । नेपाल सरकारले भन्सार, मालमोत, नापी शाखा, यातायाता जस्ता सरकारी निकायमा डिजिटल सेवा मार्फत सुविधा प्रदान गर्दै आएको छ । तर पनि जनताले थुप्रै समस्याहरु सामना गर्नु परिरहेको र सेवा झन्झटिलो भएको गुनासो सेवाग्राहीले गर्दै आएका छन् ।
बुधबार भएको कार्यक्रममा वडा सदस्य शुसिला पन्त, चन्दा चिडिमार, राजकुमार वाल्मिकी, बिनोद रस्तोगी, वडा सचिव महेश कुमार यादव, प्रशासन सहायक ज्योति घर्ती, सामाजिक सहजकर्ता दिपा कुमार उपाध्याय, अमिन सन्तोष विक, प्राविधिक उमेश कुमार शाह, स्वास्थ्य चौकी इन्र्चाज आरती थारु, राप्रपाका वुथ अध्यक्ष धु्रव बर्मा, नेपाली कांग्रेस बाँकेका सदस्य अृमत कुमार आर्चाय लगायतले डिजिटल एपको प्रयोगलाई कसरी प्रभावकारी गराउने भन्ने बारेमा सुझाव दिएका थिए ।