स्थानीय पाठ्यक्रम लागु गर्ने तयारीमा नरैनापुर
Thursday, January 12th, 2023, 7:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपनलगन्ज, २८ पुष
बाँकेको नरैनापुर गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ । नरैनापुरमा आगामी शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू हुने भएको हो । अब यसै शैक्षिक सत्रबाट नरैनापुरले ‘हाम्रो नरैनापुर’ विषयमा आधारभुत तह(कक्षा १–८) मा स्थानीय विषयको पाठ्यक्रम लागु गर्ने तयारी गरिरहेको जनाएको छ । पाठ्यक्रम निर्माण भई पुस्तकका रुपमा समेत छापेर सकिएको नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले जानकारी दिएका छन् ।
‘पाठ्यक्रम छापिएर आइसकेको छ । हामी आगामी शैक्षिक सत्रबाट पाठ्यक्रम सुरु गर्ने तयारीमाछौं र पढाई सुरु पनि हुन्छ ।’– शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले भने । ‘स्थानीय पाठ्यक्रममा विद्यालय, समुदायभित्र रहेका चाडपर्व, धर्म, संस्कार, संस्कृति, प्राकृतिक स्रोतसाधन, भूगोल, भाषा, भेषभूषा, पेशालगायतसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् ।’
यस पाठ्यक्रमले व्यवहारिक विषयवस्तु समावेश गरेको पालिकाका प्रमुख इस्तियाक अहमद शाह बताउँछन् । उनले भने, ‘यसले सिकाई सहजीकरण प्रक्रियासमेतलाई प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाई विधि अवलम्बन गर्नु पर्ने कुरालाई जोड दिएको छ । यस पाठ्यक्रमको कार्यान्वयनले नरैनापुर गाउँपालिकाको विविध पक्षको बारेमा विद्यार्थीहरुमा ज्ञान, सीप, अभिवृत्ति तथा मूल्य र कार्य गर्न सक्ने तत्परताको विकास गर्ने छ ।’
विद्यार्थीहरुमा आफ्नो गाउँपालिकाप्रतिको माया र प्रेम जागृत हुने तथा यस क्षेत्रको विविध पक्षको विकासका लागि समालोचनात्मक सहयोग पुग्ने अध्यक्ष शाहले बताए ।
यस पाठ्यक्रमले विद्यार्थीहरुमा आफ्नो स्थानीय भाषा, संस्कृति, पेशा, व्यवसाय, सभ्यता आदि लगायतका आर्थिक तथा मानव विकास एवम् समृद्धिका सम्भावनाहरुको बोध गराउने भन्दै सो पाठ्यक्रम नरैनापुर गाउँपालिकाद्वारा निर्माण गरिएको उनले बताए ।
कक्षा ८ सम्म लागू हुनेगरी स्थानीय तहले पाठ्यक्रम निर्माण गर्न पाउँछन् । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३) तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४–५) ले प्राथमिक तहमा सय पूर्णाकको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीयस्तरबाट निर्माणगरी प्रयोग गर्न सकिने व्यवस्था रहेको नरैनापुर गाउँपालिकाको स्थानीय विषयको पाठ्यक्रम निर्माण कार्यदलका सदस्य कमल केसीले बताए ।
आधारभूत शिक्षा पाठ्यक्रम २०६९ ले कक्षा ६–८ मा मातृभाषा÷स्थानीय विषय÷संस्कृति वा अन्य विषय सय पूर्णाकको स्थानीयस्तरबाट निर्माण गरी पठनपाठन गर्नुपर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारूपले स्थानीय आधुनिक पेशा, व्यवसाय र प्रविधि एवं श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।