नदी कटानको समस्या समाधानमा सक्रिय हुँदै सांसद खत्री
Friday, January 13th, 2023, 6:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ पुष
लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले बाँकेमा भैरहेको नदी कटानको समस्यालाई समाधान गर्ने विषयमा सरोकारवाला सरकारी नियकासँग परामर्श अघि बढाएका छन् । नदी कटानको समस्यालाई समाधान गर्न आफु सक्रिय भएर काम गर्ने खत्रीले बताए ।
प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्ज पुगेर नदी कटान र सिँचाई सुविधा योजनाको बारेमा छलफल गरेका थिए ।
सांसद खत्रीले कार्यालयका निमित्त प्रमुख परशुराम चौधरीसँग मानखोला सहित पेडारी, किरण, जेठी नाला तथा करेली खोलाको कटान नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा छलफल गरेको बताए ।
मानखोला सहित विभिन्न खोलाको कटानका कारण बैजनाथ र खजूरा क्षेत्रको खेतियोग्य जमिन बर्षेनी बगरमा परिणत भईरहेको भन्दै खत्रीले नियन्त्रणका लागि मास्टरप्लान अनुसार अघि बढ्नुपर्ने बताए ।
कटान नियन्त्रणको लागि आवश्यक रणनीति बनाउन र डिपिआर तयार पार्ने उद्देश्यले शनिबार सांसद खत्रीको नेतृत्वमा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका प्रमुख चौधरीसहित टिमले नदीले कटान गरेको स्थानमा अनूगमन गरेको थियो ।