नेबिसंघ बाँकेमा विवाद बढदैं
Saturday, January 21st, 2023, 9:04 pm
Kalpristha
यसअघि नेविसंघ बाँकेको अध्यक्षमा पुर्णप्रसाद आचार्य थिए । उनी कोहलपुर नगरपालिकाको मेयरमा निर्वाचित भएपछि चक्र रावतले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । तर नेविसंघको केन्द्रीय कार्यसमितिले बाँके अध्यक्षको रुपमा उपेन्द्रबहादुर विष्टलाई मनोनित गरेको थियो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ माघ
नेपाल विद्यार्थी संघ बाँकेमा विवाद बढदै गएको छ । दुई पक्षले आफुलाई आधिकारिक नेतृत्व भएको दाबी गर्दै आएपछि विवाद उत्पन्न भएको थियो । यसअघि नेविसंघ बाँकेको अध्यक्षमा पुर्णप्रसाद आचार्य थिए । उनी कोहलपुर नगरपालिकाको मेयरमा निर्वाचित भएपछि चक्र रावतले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका थिए । तर नेविसंघको केन्द्रीय कार्यसमितिले बाँके अध्यक्षको रुपमा उपेन्द्रबहादुर विष्टलाई मनोनित गरेको थियो ।
अध्यक्षमा मनोनित भएका विष्टले कार्यसमिति गठन गर्न अघि कार्यबहाक अध्यक्ष चक्र रावतले कार्यसमिति विस्तार गरेपछि विवाद सुरु भएको छ । रावतले कार्यसमिति विस्तार गरेको विज्ञप्ती मार्फत जानकारी गराएपछि शनिबार त्यसको विरोधमा उत्रिएका छन् विष्ट । नेपाल बिद्यार्थी संघ बाँकेको कार्यबाहक अध्यक्षको नामबाट जिल्ला कार्यसमिति विस्तार गरि भ्रम फैलाउने कार्य गरेको नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्रबहादुर विष्टले बताएका छन् । विष्टले शनिबार विज्ञप्ती मार्फत कार्यबहाक अध्यक्षको नाममा कार्यसमिति विस्तार गरेको भन्दै त्यसको बिरोध गरेका छन् ।
नेपाल बिद्यार्थी संघ बाँकेको कार्यबाहक अध्यक्षको नाममा चक्र रावतले जिल्ला कार्यसमिति विस्तार गरेका थिए । गत मंसिर १९ गते नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले आफुलाई बाँके जिल्ला अध्यक्षमा नियुक्त गरी पठाएको विष्टले बताएका छन् । कार्यसमिति विस्तारको बारेमा आफु विभिन्न पक्षसँग छलफल गरी जिल्ला कार्यसमिति बिस्तार गर्ने प्रक्रियामा रहेको अवस्थामा नेविसंघ बाँकेको कार्यबाहक सभापतिको रुपमा आफुले कसैलाई पनि अहिले कार्यबाहक नदिएको विष्टले विज्ञप्ती मार्फत प्रष्ट्याएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘यसमा सम्पूर्ण नेपाल बिद्यार्थी संघका साथीहरु भ्रममा नपर्न पनि म हार्दिक अपिल गर्दछु । कार्यसमिति विस्तार गरी भ्रम फैलाउने प्रयास गरिएको छ । त्यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’