भेरी अस्पतालमा अब दैनिक १८ जनाको निःशुल्क डायलाइसिस हुने
Sunday, January 22nd, 2023, 7:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ माघ
भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको निःशुल्क डायलाइसिस हुने भएको छ । अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो ।
अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।
त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई विस्तार गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईंले बताए ।
दादुरा महामारीको अवस्था बुझ्न बाँके आईपुगे स्वास्थ्यमन्त्री
बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उनले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए । उनले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गरे ।
मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गरे । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी छन् ।