स्पट फिक्सिङको आरोपमा महबुब र आदील पक्राउ
Monday, January 23rd, 2023, 6:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ९ माघ
नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार महबुब र आदीललाई पक्राउ गरेको हो ।
सीआईबीको उच्च स्रोत अनुसार अन्य क्रिकेटर समेत पक्राउ पर्ने सम्भावना रहेको छ । नेपाल टी–ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो । यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको थियो । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत छानबिन समिति गठन गरेको थियो ।
प्रहरीको निष्कर्ष : स्पट फिक्सिङमा ४ नेपालीसहित १० जना संलग्न
गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् । घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।