हर्नले निम्त्याउँदैछ हैरानी
Wednesday, January 25th, 2023, 6:00 am
Kalpristha
अत्यधिक चर्को हर्नले ध्वनि प्रदूर्षण मात्रै बढाएको छैन, चर्काे हर्न बजाउँदै तीव्र गतिमा गाडी गुडाउँदा दुर्घटनाको जोखिम पनि बढाएको छ । प्रहरीले ठाउँठाउँमा हर्न निषेध भनेर बोर्ड राखेको छ । तर, त्यसको पालना भएको छैन । न त त्यसको पालना भए–नभएको खबर ट्राफिक प्रहरीले नै राख्ने गरेको छ ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, १० माघ
नेपालगन्ज उप–महानगरपालिका ४ का प्रकाश सुनार नेपालगन्ज बजारमा धेरैबेर टिक्न सक्दैनन् । उनलाई सवारी साधनका थरिथरि आवाजहरुले झिंझो लगाउँछ । ‘मान्छे कुन मनस्थिती कता हिँडेको हुन्छ । यो चर्काे आवाजले कहिले काँही त असाध्यै रिस उठाउँछ । रिस उठेपनि कसलाई पोख्नु । हर्न बजाउने मान्छे कता पुगिसक्छ ।’
नेपालगन्ज उप–महानगरपालिका–१० भृकुटीनगरका दिलसरा राना मगरलाई पनि बजार नजान परेहुन्थ्यो जस्तो लाग्छ । कारण उही हो । बजारमा हिन्ने सवारी साधनबाट आउने चर्को आवाज । ‘घरबाट निस्केर मुख्यबाटो नपुग्दासम्म मात्रै हो । केहि आवाज नआउने । बजारमा पुग्ने बित्तिकै के कामले बजार आँए भन्ने कुरा नै बिर्सन्छु म त ।’–उनले भनिन् ।
अत्यधिक चर्को हर्नले ध्वनि प्रदूषण मात्रै बढाएको छैन, चर्काे हर्न बजाउँदै तीव्र गतिमा गाडी गुडाउँदा दुर्घटनाको जोखिम पनि बढाएको छ । सवारी चालकहरुले नेपालगन्जका धम्बोझी, बिपी चोक, पुष्पलाल चोक, न्युरोड लगायत क्षेत्रमा अत्यधिक रुपमा चर्को आवाजमा हर्न बजाईरहेको सुन्न सकिन्छ । प्रहरीले ठाउँठाउँमा हर्न निषेध भनेर बोर्ड राखेको छ । तर, त्यसको पालना भएको छैन । न त त्यसको पालना भए–नभएको खबर ट्राफिक प्रहरीले नै राख्ने गरेको छ ।
नेपालगन्जलाई २०७५ मंसिरमा ‘प्रेसर हर्न’ निषेधित क्षेत्र घोषणा गरिएको थियो । सो समयम प्रहरीले हर्न निषेध गर्न जनचेतना मूलक कार्यक्रमदेखि कारबाहीसम्मका कार्यक्रम गरेको थियो । तर, विस्तारै प्रहरीले हर्न निषेधलाई बेवास्ता गर्न थालेपछि अहिले फेरि नेपालगन्जको मुख्य सडकमा चर्को आवाजमा हर्न बजाउँदै साना–ठूला सवारी कुदिरहेका छन् ।
नाक, कान र घाँटी रोग विषेशज्ञ डा. आनन्द झा लामो समयसम्म सामान्य भन्दा चर्काे आवाज सुनी रहने हो भने, त्यस्ता मानिसहरुमा विस्तारै श्रवण शक्तिमा ह्रास आउँने बताउँछन् । उनका अनुसार मानिसको कानले ६० डेसिबलसम्मको आवाज मात्र सुन्न सक्छ । सवारीसाधनबाट आउने चर्को आवाजले गर्दा विषेशगरि मुख्य सडकमा घर भएकाहरु बढी प्रभावित हुने बताउँदै डा.झाले उनीहरुमा विस्तारै कान सुन्ने क्षमता कमहुँदै जाने बताए ।
‘यहाँ हुने चर्को आवाजबाट मुख्य सडकमा घर भएकाहरु बढी पिडीत छन् । किनभने, यो उनीहरुको दैनिकी बनिसकेको छ । यस्तो निरन्तरको आवाजले गर्दा श्रवण शक्तिको ह्रास हुने गर्छ । यो मेरो लामो समयको अभ्यासमा देखा परेको कुरा हो । तर, नागरिकको यस्तो गम्भिर स्वास्थ्य समस्याबारे यहाँको स्थानीय सरकार र स्थानीय प्रशासन बेखबर छ ।’– डा. झा भन्छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाह भने आफ्नो प्राथामिकतामा यो नपरेको बताउँछन् ।
‘यो समस्या हो भन्ने सन्दर्भमा हाम्रो कुनै दुई मत छैन तर, अहिलेको हाम्रो प्राथामिकता भनेको अटो रिक्सा व्यवस्थापन र मापसे गरि सवारी चलाउनेलाई कारवाहि गर्ने काम रहेको छ ।’
‘प्रेसर हर्न’ निषेधित क्षेत्र घोषणा पछि निवर्तमान जनप्रतिनिधीहरुले पनि खासै ध्यान दिन नसकेको यो विषयमा अहिलेकाले पनि चासो दिएको देखिदैन । नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख कमरुद्विनराई यसबारे आफुहरुले कुनैपनि छलफल नगरेको स्विकार्छन् । ‘यस विषयमा हामीले के गर्ने भनेर अहिलेसम्म कुनैपनि छलफल गरेका छैनौं । आगामी दिनमा चाँही हामी सम्बद्व सरोकारवालाहरु संग बसेर यस सन्दर्भमा छलफल गर्छौ । कसरी अघाडी बढ्ने भन्ने कुराको टुङ्गो लगाउछौं ।’–उनले भने ।
हालै गृह मन्त्रालयमा सरुवा भएर गएका जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख सुर्य बहादुर खत्रीले भने यस सम्बन्धमा त्यस्तो कुनै निर्णय भएको अवस्थामा सम्बन्धित निकायहरुसंग आवश्यक कामकारवाहिका लागि अनुरोध गर्ने बताए । कालपृष्ठसंग कुरा गर्दै उनले भने–‘अब म नेपालगन्ज उप–महानगरपालिका र ट्राफिक प्रहरीसंग यसबारेमा कुरा गरि जनचेतना र कारवाहिका लागि सम्बन्धित निकायलाई अनुरोध गर्छु ।’