नजिकिँदै दोस्रो श्याम स्मृति थापा फुटबल प्रतियोगिता
Saturday, January 28th, 2023, 8:05 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, १४ माघ
बहुप्रतिक्षित दोस्रो श्याम थापा स्मृति फुटबल प्रतियोगिताको मिति नजिकिँदै जाँदा बाँकेको सैनिकस्थित मैटहवा माविको खेल मैदानलाई दुलहीभैंm सिङ्गार्न आयोजक कम्मर कसेर लागिपरेका छ ।
प्रतियोगितालाई भव्य रुपमा आयोजना गर्न आयोजकले कुनै किसिमको कसर बाँकी नराख्ने गरी तयारी गरिरहेको छ । प्रतियोगिताका संयोजक दिपक रानाको अनुसार मैदान सम्याउने, पानी हाल्ने लगायतको कामहरु अन्तिम चरणमा पुगेको छ । उनले भने, ‘यही माघ २१ गतेदेखि संचालन हुने गरी तयारी भइरहेको छ । छिटैं प्रेस मिट गरेर प्रतियोगिताको सम्पूर्ण जानकारी दिने छौँ ।’
तत्कालीन मध्यपश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै भेरी अञ्चल टिमबाट राष्ट्रिय स्तरको थुप्रै प्रतियोगितामा सहभागी भई आप्mनो कौशल्ता प्रदर्शन गरेका श्याम थापा(हुईया)को सम्झनामा गत वर्षदेखि आयोजक जय किसान स्पोर्टस्ले प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यका साथ आयोजक क्लबले श्याम थापा स्मृति प्रतियोगिताको दोस्रो संस्करण गर्न लागेको हो ।
बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगितामा बाँके, बर्दिया, कैलाली र दाङ, सुर्खेत र हुम्ला जिल्लाका १२ वटा उत्कृष्ट क्लबहरुको सहभागिता रहने छ । पहिलो संस्करणमा भाग लिएको छिमेकी भारतको लखनऊ फुटबल क्लबले समेत सहभागिता जनाउन रुचि र चासो देखाएको छ । आमन्त्रण गरिएका अन्य सबै क्लबहरुले सहभागिता जनाउने पक्का पक्की भइसकेको आयोजकले कालपृष्ठलाई जानकारी दिए ।
बाँके बर्दिया मैत्री समाज जापान मुख्य प्रयोजक रहेको प्रतियोगिताका प्रथम हुने टिमले ट्रफीसहित १ लाख २१ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । त्यसैगरी प्रतियोगिताको उपविजेता टिमले ६१ हजार नगद पुरस्कार हात पार्ने छ ।