मार्टको सम्पुर्ण तयारी पुरा, आइतबार देखि सुरु हुँदैं ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’
Saturday, January 28th, 2023, 8:12 pm
Kalpristha
मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाइ)बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीहरु करिव ३ सय जना महत्वपूर्ण ब्यक्तित्वको सहभागिता रहने उनले जानकारी दिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ माघ
पश्चिम नेपालको आर्थिक विकासमा योगदान गर्ने उद्देश्य सहित हुन लागेको ‘दोस्रो वेष्टर्न ट्राभल मार्ट’को तयारी पुरा भएको आयोजकले जनाएको छ । पश्चिम नेपालको पर्यटकीय गन्तब्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार–प्रसार र प्रर्वदन गर्न मार्टले महत्वपुर्ण भुमिका खेलेको छ ।
मार्टले पश्चिम नेपालको पर्यटनको प्रर्वदन गर्दै नेपालको आर्थिक वृद्धिदरमा समेत प्रभाव पार्ने गरी तयारी गरिएको आयोजक नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले शनिबार पत्रकार सम्मेलनमा बताए ।
उनले भने,‘हामी निकै उत्साही छौं । मार्टको दोस्रो संस्करणले यस क्षेत्रको समग्र विकासमा योगदानका लागि संकेत देखाइसकेको छौं । पश्चिम नेपालको लागि मार्ट एउटा गर्व गर्ने इभेन्ट बनेको छ । यस वर्ष हामीले विशेष गरी भारतीय पर्यटनकर्मीलाई विशेष प्राथमिकता दिएर आमन्त्रण गरेका छौं । नेपालले पर्यटन क्षेत्रमा भारतीय पाहुनाबाट धेरै फाइदा लिन सक्छ । भारतबाट आउने पर्यटकको संख्या वृद्धि हुन सक्ने यस क्षेत्रको पर्यटन क्षेत्रले पनि राम्रो फाइदा लिन सक्छ । यसका लागि राज्यले सहज वातावरण बनाउनु पर्छ ।’
नेपाल पर्यटन बोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रर्वदन मञ्च बाँके, होटल एशोसिएसन अफ नेपाल (हान) बाँके, होटेल ब्यवसायी संघ बाँके लगायत संघ संस्थाको सहकार्यमा उक्त मार्ट सञ्चालन गर्न लागेको हो ।
तिन दिने मार्ट आइतबारदेखि नेपालगन्जमा सुरु हुँदैछ । जसको आवश्यक सबै तयारी पुरा भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मार्टले पर्यटन ब्यवसायीहरुको ब्यवसायिक विकास, विस्तार र अन्तराष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने विश्वास लिइएको संयोजक श्रीराम सिग्देलले बताए ।
उक्त मार्टमा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाइ)बाट कार्यकारी निकाय समेत ७५ जना भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना टुर अपरेटर र आन्तरिक पर्यटन ब्यवसायीहरु करिव ३ सय जना महत्वपूर्ण ब्यक्तित्वको सहभागिता रहने उनले जानकारी दिए ।
‘काठमाडौं उपत्यका लगायत सातै प्रदेशका पर्यटन ब्यवसायीहरुको ठुलो भेला तथा सम्मेलन भई स्थानीय सँस्कृती, टुर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्ने मुख्य उद्देश्यका साथ यो मार्ट सञ्चालन गर्न लागिएको हो,’ संयोजक सिग्देलले भने ।
वेष्टर्न ट्राभल मार्टमा सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन ब्यवसायी समेतको सहभागितामा पहिलो पटक कैलाश मानसरोवर दुरदर्शनका निम्ति हवाई कम्पनी बुद्ध एयरसँग सम्झौता पनि गरिसकेको आयोजकले जनाएको छ ।
‘यसले पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य तथा ठुलो बजारका रुपमा स्थापित नेपालगन्ज मात्र नभई सिंगो नेपालको पर्यटकीय क्षेत्रका लागि नै कोषेढुंगाका रुपमा स्थापित हुनेमा विश्वास लिएका छौं,’ सिग्देलले भने ‘त्यसका लागि पहिलो चरणमा भारतीय मुलधारका प्रमुख सञ्चार माध्यममा आवद्ध ९ जना भारतीय पत्रकारसहित ६६ जना ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया(टाई)का प्रमुख पदाधिकारीहरु कैलाश मानसरोवर दर्शनका लागि निश्चित गरिसकेको अवस्था छ ।’
ट्राभल मार्ट आयोजनाले पश्चिम नेपालका पर्यटकीय गन्तव्य तथा गतिविधीको प्रचार–प्रसार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फ्लाइट नेपालगन्जबाट सुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
यसैगरी नेपालगन्जस्थित प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा ‘महाआरती’ थालनी गरिने भएको छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकाले महत्वपूर्ण साझेदारी गरेको बताइएको छ । बागेश्वरीमा गरिने महाआरतीले निरन्तरता पाउने कुरामा विश्वास दिलाउँदै यसले नेपालगन्जलाई धार्मिक पर्यटकीय दृष्टिकोणले एउटा महत्वपूर्ण गन्तव्यका रुपमा पूर्वाधार थपिने कुरामा ठुलो आशा पलाएको पर्यटन ब्यवसायी बताउँछन् ।
ट्राभल मार्टका सञ्चालनका क्रममा कर्णाली नदीमा र्याफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिने आयोजकले जनाएको छ ।
होटल एशोसिएसन अफ नेपाल(हान) बाँकेका अध्यक्ष दिवाकर खनालले भारतीय पर्यटन ब्यवसायीहरु मार्टमा सहभागी हुन आएपछि नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने र यसले यहाँको पर्यटन क्षेत्र फस्टाउने विश्वास गरे । ‘यस्ता कार्यक्रम गरेपछि स्वभाविक रुपले भारतीय पर्यटकको आगमन बढ्छ,’ उनले भने ।
पर्यटन प्रर्वदन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले वेष्टर्न ट्राभल मार्ट सञ्चालन भएपछि पर्यटन सम्बन्धी गतिविधी बढ्ने बताए । बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहले कैलाश मानसरोवर दूरदर्शनका लागि पहिलो पटक माउन्टेन फ्लाईट गर्न लागेको बताए । ‘हामीले वेष्टर्न ट्राभल मार्टकै शिलशिलामा कैलाश मानसरोवर दूरदर्शनका लागि माउन्टेन फ्लाईट गर्न लागेका छौं,’ उनले भने ।
यसै सन्दर्भमा नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा महाआरतीको थालनी गरिने कुरा समेत आयोजकले जानकारी दिएको छ । त्यसका लागि नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी गरेको छ भने नाट्टा लुम्बिनी प्रदेशले समन्वयात्मक सहयोग गरिरहेको छ ।