मन्त्रालय घटाउँदा आर्थिक भार घट्ने
Wednesday, February 1st, 2023, 8:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ माघ
लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या घटाउँदा आर्थिक भार पनि कम हुने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले यसअघि रहेका १३ मन्त्रालयलमध्ये तीन मन्त्रालय घटाएर अब १० मन्त्रालय बनाउने तयारी गरेका छन् । तीनवटा मन्त्रालय घटाउँदा करिब ३० करोड रकमको आर्थिक भार कम हुने भएको छ ।
सङ्घीयताको पहिलो कार्यकालको सुरुवातीमा लुम्बिनीमा सात मन्त्रालय थिए । तर, पछि बढाएर १३ मन्त्रालय र चार राज्यमन्त्रीसहित १७ मन्त्री पुर्याइएको थियो । अव भने राज्यमन्त्री पनि नराखिने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार एउटा मन्त्रालयको वार्षिक प्रशासनिक खर्च मात्र करिब १० करोड हुन आउँछ । यस आधारमा तीनवटा मन्त्रालय घट्दा ३० करोड रुपियाँ वार्षिक रूपमा आर्थिक व्ययभार घट्ने छ ।
तीन मन्त्री र सचिवका लागि सवारीसाधन खरिदमा मात्रै वार्षिक झन्डै ५ करोड खर्च कम हुने छ । मन्त्रीले बढीमा ७५ लाख मूल्य पर्ने सवारीसाधन पाउने सरकारको मापदण्ड छ । मन्त्रालयका सचिव थपिँदा सवारीसाधन दोब्बर नै थपिन्छन् । मन्त्रालय, सचिवालय, आवास व्यवस्थापनमा पनि कम्तीमा २५ लाख रुपैयाँ खर्च हुन्छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार मुख्यमन्त्री, मन्त्री र राज्य मन्त्रीहरूले विभिन्न ११ वटा शीर्षकबाट सुविधा पाउँछन् । मुख्यमन्त्रीले ६० हजार ९७० मासिक पारिश्रमिक बापत रकम पाउँछन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मासिक २४० लिटर पेट्रोल र दैनिक भ्रमण भत्ता (स्वदेश) प्रतिदिनको २ हजार ५०० तथा विदेश भ्रमण भत्ता बापत दैनिक २२५ अमेरिकी डलर पाउँछन् ।
साथै अतिथि सत्कारका लागि मुख्यमन्त्रीले मासिक १५ हजार रुपैयाँ प्राप्त गर्दछन् । त्यस्तै मन्त्रीले ५२ हजार पारिश्रमिक पाउँछन् भने सञ्चार खर्च ३ हजार र अतिथि सत्कारका लागि मासिक १५ हजार रुपैयाँ छ । मन्त्रालयका लेखा अधिकृतहरूका अनुसार एकजना मन्त्री मात्रै कम हुँदा पनि न्यूनतम मासिक १ लाख खर्च जोगिन्छ । अब मुख्यमन्त्रीसहित १० जना मात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए । मन्त्रिपरिषद्को आकार बढाउँदा प्रदेश सरकारलाई आर्थिक भार थपिने भएकाले मन्त्री परिषद् घटाउने तयारी भएको उनले बताए । लुम्बिनी प्रदेशको पहिलो मन्त्रिपरिषद् बैठकले १३ मन्त्रालयको संख्या घटाएर १२ बनाउने निर्णय गरेको थियो । तर पछि थप दुईवटा मन्त्रालय घटाएर १० वटा राख्न लागिएको हो ।
अव लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला मन्त्रालय, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय रहने छन् ।