सिकलसेल रोग बारे सचेतना जरुरी
Wednesday, February 1st, 2023, 8:05 pm
Kalpristha
कोहलपुर, १८ माघ
कोहलपुर नगरपालिकाले आज सिकलसेल एनिमिया रोग सम्बन्धि अभिमुखिकरण गरेको छ । नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रममा भएको हो ।
त्यसक्रममा सिकलसेल विज्ञ भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डेले थारु समुदायमा देखिएको सिकेलसेल रोगले पारेको असर कहालीलाग्दो रहेको बताए ।
उनले सिकलसेल रोग नियन्त्रणका लागि थारु समुदायमा जनचेतना जगाउन जरुरी रहेको बताउदै सिकलसेल रोगको चेन ब्रेक गर्न रोगी–रोगी बीचको बिहेबारी रोक्न आवश्यक रहेको जानकारी दिए । त्यसकालागि स्थानीयस्तरमै जनचेतना फैलाउन जरुरी रहेको उनको भनाइ थियो ।
यस क्षेत्रका थारु समुदायमा बंशाणुगत सिकलसेल र थालेसेमिया रोग जनस्वास्थ्य समस्याका रुपमा रहेकाले यसको न्यूनीकरणका लागि रगत परिक्षण गरेर मात्र बिहेबारी गर्न उनले सुझाव दिए । डा. पाण्डेकै अनुसन्धान तथा पहलमा सरकारले सिकलसेलका बिरामीलाई उपचार खर्च बाफत १ लाख रुपैयाँ दिदै आएको छ ।
तर थालेसेमिया रोगीलाई भने अहिले सम्म सरकारले कुनै सेवा सुबिधा दिएको छैन । उनले स्थानीय सरकारले आफ्नो पालिका भित्रका सम्पुर्ण बालबालिकाको सिकलसेल तथा थालेसेमिया चेकजाँच गर्न सक्ने गरि नीति बनाउन सकियो भने रोग नियन्त्रणमा ठूलो उपलब्धी हुने उनको भनाइ थियो । उनले भेरी अस्पतालमा अहिले सिकलसेल तथा थालेसेमियाको निशुल्क परिक्षण गर्ने गरिएको जानकारी दिए ।
अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्षहरु, सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विक, स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरी, स्वास्थ्य संस्थाका नर्सिङ स्टाफ लगायतको सहभागिता रहेको कोहलपुर नगरपालिका सिकेलसेल प्रयोगशाला प्रमुख शिव गौतमले जानकारी दिए ।