न्युरोडमा खुल्यो जि–मार्ट, जहाँ गाँजाबाट बनेका लुगा बिक्री गरिन्छ
Saturday, February 18th, 2023, 2:44 pm Kalpristha
कालपृष्ठ समाचारदाता नेपालगन्ज, ६ फागुन
नेपालगन्ज न्युरोडमा तिन युवाले गाँजाबाट उत्पादन गरेका कपडाहरुको बिक्री गर्ने व्यवसाय सुरु गरेका छन् । नेपालगन्जका अरुण घर्तिमगर, युवराज सिंह र भुपेन्द्र बस्नेत मिलेर जि–मार्ट नामक पसल संचालनमा ल्याएका छन् । जहाँ गाँजा र कटनबाट नेपालमै निर्माण गरिएको कपडाहरुबाट बनेका विभिन्न पोशाक पाउन सकिन्छ । नेपालगन्ज न्युरोड क्युएफएक्स हल परिसर भित्र रहेको जि–मार्ट शनिबारदेखि संचालनमा आएको छ ।
मार्टमा युवाहरुलाई लक्षित गरेर निर्माण गरिएका पोशाक, ब्याकहरु राखिएको छ । ४५ प्रतिसत गाँजा र ४५ प्रतिसत कटनको प्रयोग गरेर निर्माण गरिएका झोला, बक्सर, हाफ पाइन्ट, कुर्ता लगायतका कपडा तराई क्षेत्रको लागि निकै उपयोग हुने बताउँछन जि– मार्टका संचालक अरुण घर्तिमगर । तिनै युवाले पहिलो पटक व्यवसायमा लगानी गरेका हुन् । करिब ३ लाख बजेटमा उक्त मार्ट खुलेका छ ।
मासिक ७ हजार सटक भाडा तिर्ने गरेका छन् उनीहरुले । तराईमा अत्याधिक गर्मी हुने भएकोले गाँजाबाट बनेका कपडाहरु लगाउनको लागि उपयोग हुने बताउँछन संचालक अरुण घर्तिमगर । उनले भने,‘तराईमा गर्मि धेरै हुन्छ । गर्मिका कारण पसिना धेरै आउने भएर शंरीरमा विभिन्न किटाणु संक्रमणको सम्भावना बढी हुन्छ । गाँजाबाट बनेको लुगा लगाउँदा गर्मीमा पसिना आउँदा पनि त्यसलाई सोस्ने काम गर्छ । पसिना आउँदा किटाणु पनि संक्रमण हुन पाउँदैन ।’
अरुण दुबईमा काम गरेर फर्केका युवा हुन । युवराज र भुपेन्द्रले यातायात व्यवसायमा केहि समय जागिर गरेका थिए । तिनै जना मिल्ने साथीहरुले आफुहरुसँग भएको थोरै रकम जुटाएर व्यवसाय गर्ने सोच बनाएका थिए । उनीहरुले जि–मार्ट गर्न अघि अरु नै व्यवसाय गर्ने सोचेका थिए । तर त्यो नभएपछि जि–मार्टको योजना बनेको थियो । अनलाईनमा सर्च गर्ने क्रममा गाँजाको कपडाको बारेमा हेरेपछि जि–मार्ट खोल्ने सोच आएको बताउँछन युवराज सिंह । नेपालगन्जमा कसैले पनि यो व्यवसाय नगरेकाले पनि जि–मार्टमा आफुहरु आर्किषत भएको उनले बताए ।
……….
काठमाडौंको बुढानिलकण्ठमा गाँजा र कटनलाई मिलाएर लुगा निर्माण गर्ने गरिन्छ । उनीहरुले त्यहीबाट अहिले ल्याएर नेपालगन्जमा बिक्री गर्न सुरु गरेका छन् । काठमाडौं, पोखरा जस्ता पर्यटक धेरै आउने ठाउँमा यस्तो लुगाको माग अत्याधिक हुने गरेको बताउँछन भुपेन्द्र बस्नेत । गाँजाको डाठबाट निर्माण गरिएका लुगाले शितलता प्रदान गर्ने भएकोले नेपालगन्जमा यसको माग बढन सक्ने बताउँछन अरुण । शनिबार शिवरात्रीको अवसरमा खुलेको पसलमा तिनै जना युवाका आफन्त र साथीभाईहरुले आएर केहि कपडाहरु किनेका थिए । नेपालगन्जको वातावरण अनुसारको लुगा भएकोले बजार यसको माग बढने विश्वास लिएका छन् जि– मार्टका संचालक तिनै जना युवाले ।
नोटः यदि तपाई पनि जि–मार्टमा पुगेर गाँजाबाट बनेको लुगा किन्न चाहन्नुहुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ । जि–मार्ट, नेपालगन्ज न्युरोड क्युएफएक्स हल परिसर, सम्पर्क नम्बर ९८०४९३९७०३ (अरुण घर्तीमगर)