खजुरा क्षेत्र र यसको धार्मिक तथा सास्कृतिक महत्व
Tuesday, February 21st, 2023, 9:09 pm
Kalpristha
खजुरामा रहेको धार्मिक धरोहरको केन्द्र लक्ष्मिनारायण मन्दिरमा यही फागुन २४ गतेदेखि यश क्षेत्रमा धार्मिक पुनर्जागरण र धार्मिक पर्यटक भित्र्याउने र लक्ष्मिनारायण मन्दिर परिसरमा महालक्ष्मी माताको बिशेष र अलग प्रकारको मुर्ति स्थापनार्थ महायज्ञ संचालनको तयारी समेत गरिदैछ । पक्कै पनि यो आयोजना ले खजुरालाइ फेरि धार्मिक रूपमा नयाँ पहिचान दिलाउन सफल रहनेछ ।
सतिश निरौला
खजुरा बजार बाके जिल्ला कै एक पुरानो र बिशेष महत्व बोकेको बजार हो । भलै विकास को गति र आर्थिक गतिविधिमा केही पछि परेपनी खजुरा आफ्नो बिशेषता र महत्वले जिल्लामा अलग बिशिस्ट पहिचान कायम गरेको छ ।
खजुरा भन्ने बित्तिकै सायद मानिसको मन मस्तिष्क मा पहिलो सम्झना त्यो बाके जिल्ला लाई मात्रै नभएर मध्य पश्चिम लाई नै बिशेष रूपमा कनेक्टिभिटिका हिसाबले सहज बनाउने ‘खजुरा विमानस्थलको’ याद आउछ नै । खजुरा विमानस्थल सङ्ग यो क्षेत्रका धेरै मानिसहरुका याद र सम्झनाहरु गाँसिएका छन् । खजुरा क्षेत्र सास्कृतिक हिसाबले पनि बाके जिल्लाभर बिशेष पहिचान बनाएको छ । नाचगान-पन्चेबाजाले खजुराको बिशेष महत्व अनि पहिचान बढाएका छन् । खजुरा धौलागिरी निवासी तत्कालीन शिक्षक स्व .शेर बहादुर गुरुङको खजुरा क्षेत्रमा नाचगान लाई उन्नत र बिशेष बनाउन महत्वपूर्ण भुमिका थियो । त्यस्तै पुर्णचन्द्र उपाध्याय, केवि शाही , सुन्दर गुरुङ अनि राकेश गुरुङ , प्रदीप थापा लगायतले पनि नाचगान, नाटक बिधामा अर्थपूर्ण योगदान दिनुभएको छ ।
नेपाली सिनेमा क्षेत्रमा सुरुवाती चरणका हिरो स्व. मित्रलाल शर्मा(चलचित्र हिजोआज भोलि÷परिवर्तन) पनि खजुरामा नै बसोबास गर्निहुन्थ्यो । अहिले लोकदोहोरीका थुप्रै म्युजिक भिडियो बाट चर्चित बन्नु भएका नृत्य क्षेत्रमा नेपाल कै उत्कृष्ट नृत्य निर्देशक तथा कलाकार शंकर बिसिले यो क्षेत्रबाट खजुरालाइ देश विदेशमा बिशेष पहिचान दिलाउनु भएको छ । भने, खजुराकै चेली आरुषी मगर नृत्य क्षेत्रमा अहिले उत्कृष्ट छिन् ।
पछिल्लो समय आर्ट बिधामा उत्कृष्ट आर्टिस्स्टका रूपमा खजुराका दुर्गा भण्डारीले विशेष परिचय स्थापित गर्नुभएको छ । मैले नाम छुटाएका अझै थुप्रै ब्यक्तिहरुले खजुरा लाई साँस्कृतिक रूपमा पहिचान दिलाउन पुर्याएको योगदान स्तुति योग्य छ । खजुराकै आदर्श माबी बाट माध्यमिक तह अध्यन पूरा गरेका गिजरा बस्ने राजबहादुर सानेले पनि केही नेपाली चलचित्र लेखन र निर्देशन गरि खजुरा लाई चिनाएका छन् । गायन क्षेत्रमा अन्जना गुरुङ अनि युवा पुस्ताका गायक सुनिल सिह ठकुरी ले पनि गायकीका माध्यमबाट खजुरालाइ चिनाए । त्यस्तै खजुरा क्षेत्र खेलकुदमा समेत अग्रणी छ । जुडो कि सोनिया भट्ट ले नेपाल लाई अन्तर्राष्ट्रिय पदक दिलाएर खजुराको नाम उचो बनाइन । अहिले खजुरामा संचालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल ले स्वास्थ्य क्षेत्रका माध्यम बाट खजुरालाई चिनाउने काम गरेको छ ।
मैले माथी खजुराका केही पहिचान र महत्वलाई सामान्य रूपमा चर्चा गरेपनि बिशेष रूपमा खजुरा क्षेत्र मै धार्मिक मुल धरोहर का रूपमा स्थापित लक्ष्मिनारायण मन्दिरको बिशेष चर्चा गर्ने प्रयास गरेको छु । खजुरा बजारको मुटुमा रहेको यो पवित्र धार्मिक क्षेत्र २०४३ सालदेखि नै एउटा बिशेष महत्व बोकेको र खजुराबासिको गहिरो आस्थासँग जोडिएको देवस्थल हो । थुप्रै साधुसन्त, महन्त तथा धार्मिक क्षेत्रका दिग्गज ब्यक्तित्वहरुले समय समयमा यो मन्दिर परिसरमा आइ बिशेष रूपमा पुजा अर्चना यज्ञ तथा ध्यान गर्नुका साथै उहाँहरुका उपस्थितिले यो खजुराको धार्मिक र आस्थाको धरोहर बिशेष स्थल बन्ने अवसर पाएको छ । यो मन्दिर मा पहिलोपटक २०४३ सालमा मन्दिर स्थापना सँगसँगै धनधान्याचल यज्ञ सम्पन्न गरिएको थियो ।
पछिल्लो समय खजुरा स्थित क्यान्सर अस्पतालका संकल्प कर्ता आदरणीय गुरु दिनदयाल जी महाराजले यो स्थलको थप महत्व बढाउन बिशेष भुमिका रह्यो । गुरु सन्त श्री दिनदयाल महाराजको आश्रम समेत यही मन्दिर परिसरमा रहेको छ । उहाँकै बिशेष पहल र प्रयत्नमा भारतका प्रसिद्ध महामण्डलेश्वर प्रखर जी महाराजको समेत खजुरा आगमन भै यसै मन्दिरमा केही समय बसी समस्त खजुरा क्षेत्र लाई र यो मन्दिरको समेत गरिमा बढेको छ ।
खजुरामा थुप्रै बिशेष धार्मिक महत्व राख्ने स्थलहरु छन् । मैटहवादेवी मन्दिर , हिन्दु–मुस्लिमको आस्थाको केन्द्र मुसबेटवाबाबा मजार खजुरा –४ स्थित शिवपार्वती मन्दिर(सुरदास आश्रम), योगि नरहरिनाथ स्वयंको उपस्थितिमा बिशेष यज्ञ गरिएको डि गाउँ स्थित मन्दिर, उढहरापुर रजनवामा रहेको नारायण तलाउ र मन्दिर, मनकामनामा रहेको गणेश धाम, मनकामना मै रहेको शिवालय, खजुरा ज्ञानोदय स्कुल नजिक रहेको शिव–कालिका मन्दिर, ए गाउँमा रहेको बौद्ध गुम्बा, धौलागिरी मा रहेको बागेश्वरी मन्दिर लगायत थुप्रै धार्मिक स्थलहरुले खजुरा क्षेत्रमा बिशेष धार्मिक महत्व बोकेका छन् ।
धर्ममा आस्था राख्नेहरुका लागी खजुरा बजारमा रहेका अनेकौं देवस्थलको बिशेष संरक्षण, प्रचारप्रसार र नक्साङकन गर्न आवश्यक छ । खजुरा बजार स्थित लक्ष्मिनारायण मन्दिर लाई केन्द्र बनाएर खजुरा गाउँ पालिका का ८ वटै वडाहरुमा रहेका धार्मिक स्थलहरुलाइ जोडेर बिशेष धार्मिक सर्किट (परिक्रमा मार्ग) बनाउन सके धार्मिक पर्यटनका माध्यम बाट खजुराको बिकासमा महत्वपूर्ण टेवा पुग्न सक्छ ।
खजुरामा रहेको धार्मिक धरोहरको केन्द्र लक्ष्मिनारायण मन्दिरमा यही फागुन २४ गतेदेखि यश क्षेत्रमा धार्मिक पुनर्जागरण र धार्मिक पर्यटक भित्र्याउने र लक्ष्मिनारायण मन्दिर परिसरमा महालक्ष्मी माताको बिशेष र अलग प्रकारको मुर्ति स्थापनार्थ महायज्ञ संचालनको तयारी समेत गरिदैछ । पक्कै पनि यो आयोजना ले खजुरालाइ फेरि धार्मिक रूपमा नयाँ पहिचान दिलाउन सफल रहनेछ ।