साहास स्पोर्टसको ब्राण्ड एम्बासडर प्रतिभा
Tuesday, August 1st, 2017, 9:14 pm
amit
काठमाडौं । नेपाली महिला भलिबल टिमकी महत्वपूर्ण सदस्य तथा न्यु डायमण्ड स्पोर्टस् एकेडेमीका मुख्य खेलाडी प्रतिभा माली खेल पोशाक कम्पनी उत्पादक साहास स्पोर्टसको ब्राण्ड एम्बासडर बनेको छ ।
मंगलबारबाटै औपचारिक रुपमा शुरु भएको साहास स्पोर्टसले महिला भलिबलकी युवा खेलाडी प्रतिभालाई एक वर्षको लागि कम्पनीको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो । सहमति अनुसार प्रतिभाले वार्षिक १ लाख २० हजार रुपैया नगद तथा खेल पोशाकको ५० हजार गरी १ लाख ७० हजार प्राप्त गर्नेछ ।
सम्झौता पत्रमा साहास स्पोर्टस्का अध्यक्ष तथा प्रबन्ध निर्देशक जनक न्यौपाने र खेलाडी प्रतिभा मालीले हस्ताक्षर गरे । प्रतिभालाई साहास स्पोर्टसले हरेक महिना १० हजार रुपैयाा तथा बर्ष भर खेल पोशाक उपलब्ध गराउनेछ । यस्तै साहास स्पोर्टसले न्यू डायमन्ड एकेडेमीको महिला भलिबल टोलीलाई एक बर्षको लागि करिव १ लाख ७५ हजार बराबरको खेल पोशाक पनि प्रायोजन गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा साहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने र न्यु डायमण्ड स्पोर्टस् क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले हस्ताक्षर गरे । साहास स्पोर्टसले न्यू डायमन्ड एकेडेमीलाई एक बर्षमा ५० सेट जर्सी र ५० सेट ट्रायक सुट उपलब्ध गराउने छ । प्रतिभा र न्यू डायमन्डलाई वार्षिक ३ लाख रुपैयाा बराबरको प्रायोजना गरिएको न्यौपानेले जानकारी दिएका छन् ।