नेपालगन्जमा लोकसेवा तयारी कक्षा सुरु
Sunday, March 19th, 2023, 6:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ चैत
नेपालगन्ज उप–महानगरपालिकाको आयोजना र द सक्सेस ईन्स्टिच्युट नेपालगन्जसँगको सहकार्यमा आइतबार देखि नेपालगन्जमा खरिदार, नायब सुब्बा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरु सुरु भएको छ । ७५ दिन सम्म चल्ने तयारी कक्षामा २ सय जनाको सहभागिता रहेको छ । तालिम मधेसी, मुस्लिम, दलित, आदिबासी जनजाती तथा लोपोन्मुख जातिका व्यक्तिहरुको व्यवसायिक एवम् क्षमता विकास कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो ।
संघिय सरकारको विशेष अनुदानमा गरिएको तालिमले लोकसेवा आयोगका परिक्षामा उत्तिण हुन सहभागिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । आइतबार तालिमको उद्घाटन गर्दै नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले नेपालगन्जमा लोकसेवा आयोगमा युवाहरुको धेरै चासो नभएकोले तालिमको आयोजना गरिएको बताए । उनले भने,‘नेपालगन्ज व्यापारिक केन्द्र भएकोले धेरै जना यहाँ व्यापारमा रमाउँछन् ।
तर नगरको विकासका लागि सबै जनतामा यहाँको नागरिकको सहभागिता भयो भने विकास हुन्छ । हामी चाहन्छौं यो तालिमले हाम्रा युवा युवतीहरुलाई नेपाल सरकारको विभिन्न पदमा जागिरमा प्रवेश गर्न सहयोग गर्नेछ ।
तालिमको उद्घाटन अवसरमा नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद रिजालले तालिमलाई उचित ढंगले सदुपयोग गर्न सहभागिलाई निर्देशन दिए । उनले भने,‘यो तालिम निकै राम्रो हो । लोक सेवाको क्षेत्रमा काम गरिरहेको संस्थाले यसको व्यवस्थापनको काम गरिरहेकोले थप राम्रो छ । सहभागिले जतिसक्दो आफना जिज्ञासा कक्षामा राख्नु होला । तपाईहरुको सफलता र नतिजाले यो तालिमलाई आगामी दिनमा पनि आयोजना गर्न सहयोग गर्नेछ ।’
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका सामाजिक, गैसस तथा साझोदारी विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशीले स्वागत मन्त्व्य राख्दैं तालिमलाई स्तरीय बनाउन आयोजक टिमले मिहिनेत गरिरहेको बताउँदैं सहभागिताहरुको सक्रिय सहभागिता अन्तिम सम्म भए उपलब्ध हासिल हुने बताए ।
द सक्सेस ईन्स्टिच्युटका कार्यक्रम अधिकृत रबिन्द्र कुमार शाहले लोकसेवा आयोगक अन्तर्गतका विषयमा अध्यापन गराईरहेका दक्ष जनशंक्तिहरुबाट तालिमका सहभागिलाई प्रशिक्षण दिने बताए । उनले भने,‘तालिम आयोजना गरेकोमा नेपालगन्ज उप–महानगरपालिकालाई हामी विशेष धन्यवाद दिन चाहन्छौं । हामी सबैका लागि यो अवसर हो । विद्यार्थीहरुलाई यही विषय पढनका लागि महँगो रकम तिरेर काठमाडौं जानु पर्ने बाध्यता थियो । तर हामी त्यो अवसर यही र यही कक्षामा उपलब्ध गराउँदैछौं ।’ तालिमको उद्घाटन अवसरमा सामाजिक विकास समिति संयोजक अृमता सिंह, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।