राष्ट्रिय फुटबल टिममा खजुराका दीपकको डेब्यु
Tuesday, March 21st, 2023, 9:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ चैत
बाँकेका दीपक सिंह ठकुरी नेपाली राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । बाँकेबाट राष्ट्रिय फुटबल टिममा पर्ने दीपक पहिलो पुरुष खेलाडी हुन् । यसअघि बाँकेका उत्तम केसी र रितेश खड्का उमेर समुहको नेपाली टिममा परेका थिए ।
मंगलबार घोषणा गरिएको नेपाली राष्ट्रिय टोलीमा दीपकले स्थान बनाउन सफल भएका हुन् । उनीसँगै सात खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा समावेश हुने अवसर पाएका छन् ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर २ रिमझिम चोक निवासी ठकुरी पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्ने स्ट्राईकर हुन् । मोफसलको स–साना क्लब हुँदै उनले पछिल्लो समय नेपालको ए डिभिजन क्लब सात दोबाटोबाट व्यवसायिक फुटबल खेलिरहेका थिए । दीपकको सफलताले बाँकेको फुटबलमा नयाँ उत्साह जगाएको प्रशिक्षकद्धय सानु तामाङ र रबिन्द्र श्रेष्ठले बताए । दीपक अघि बाँकेका रितेश खड्काले ए डिभिजनको संकटा क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए । बाँकेबाट उत्पादन भएका महिला खेलाडीहरुले राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । बाँकेकी उत्पादन निरु थापाले नेपाली टिमको नेतृत्व गर्ने अवसर पाईसकेकी छिन् । बाँकेकै कृष्णा खत्री, पुजा राना लगायतले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । तर पुरुषतर्फ बाँकेका खेलाडीहरुले राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन् ।
मंगलबार प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लागि नेपाली टिमको घोषणा गरिएको थियो । पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले घोषणा गरेको टिममा पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा दीपकसँगै गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीनलामा र मणिकुमार लामार फरवार्ड सुमित श्रेष्ठ रहेका छन् । नेपाली राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि एकैपटक सातजनानयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।
प्रशिक्षकले छिटो अवधिमा टिममा निर्माण गरेको भन्दै फिट र उत्कृष्ट खेलाडीलाई स्थान दिएको बताए । उनले नेपालले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरे । यसैगरी नेपालका कप्तान किरणकुमार लिम्बूले नेपाली टिममा नयाँ खेलाडी र प्रशिक्षक भएपनि नयाँ चुनौतीको सामना गर्न तयार रहेको बताए । साथै उनले नेपालले प्रतियोगिता जित्ने उद्देश्यका साथ मैदान उत्रने बताए । दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ । फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छ ।
नेपालले दुवै टिमसँग अहिलेसम्म पराजय भोग्न परेको छैन । फिफा वरियतामा नेपाल अघि रहे पनि दुवै टिमलाई सम्मान गर्ने नेपालका प्रशिक्षक र कप्तानको भनाइ छ । यस्तै उनीहरुले फिफा वरियताको आधारमा खेलको नतिजा निर्धारण नहुने पनि बताए । गत डिसेम्बरमा लाओसले बलियो मानिएको म्यानमारसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यसयता लाओसले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । भुटानले भने तीन वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सन् २०१९ यता भुटानले अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपालले उद्घाटन खेलमा बिहिबार साँझ ६ बजे लाओससँग खेल्नेछ । यस्तै नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ । त्यसअघि माघ ११ मालाओस र भुटानबीच खेलहुनेछ ।