दिपिकाको यात्रा, नागरिकता देखि स्ववियु सभापति सम्म
Tuesday, March 21st, 2023, 9:06 pm
Kalpristha
दिपिकाको नागरिकता प्राप्तीको कुरा देशभरीनै चर्चामा आएको थियो । संघर्षबाट खारिदै अगाडी बढेकी दिपिका अहिले पुनः आम नागरिकमाझ चर्चित बनेकी छिन् । त्यो हो स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को सभापतिमा निर्वाचित भएर ।
लक्ष्मी तिमिल्सेना
नेपालगन्ज, ६ फागुन
दिपिका सोनीले छ वर्ष अघि जीवनकै संघर्षपुर्ण चुनौतिको सामना गरेकी थिईन । त्यो थियो आफनै अस्तित्व प्राप्तीको लडाई । संविधानले अहिले आमाबाट पनि छोराछोरीको नागरिकता पाउने व्यवस्था गरेको छ । सानैमा बुबाको निधन भएका कारण उनले पनि आमाबाट नागरिकता लिने प्रक्रिया अगाडी बढाईन । त्यो उनका लागि सहज भएन । संविधान व्यवस्थाले गरेको हक प्राप्ती गर्न पनि उनले ठुलै लडाई लडनु परेको थियो । तर पछि उनले त्यसमा सफलता पाईन । त्यतिबेला दिपिकाको नागरिकता प्राप्तीको कुरा देशभरीनै चर्चामा आएको थियो । संघर्षबाट खारिदै अगाडी बढेकी दिपिका अहिले पुनः आम नागरिकमाझ चर्चित बनेकी छिन् । त्यो हो स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को सभापतिमा निर्वाचित भएर ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ सातका दिपिका सोनी नेपालगन्ज नर्सिङ क्याम्पसमा आईतबार सम्पन्न स्ववियु सभापतिमा निर्वाचित भईन् । सामान्य परिवारबाट आएकी दिपिकाको विद्यार्थी राजनितीको यहाँ सम्मको यात्रा सहज भने थिएन् । २०५२ साल फागुनमा जन्मिएकी दिपिकोका बुबा उनी ३ वर्ष पुग्दा नपुग्दै विते । उनलाई एक्ली आमाले हुर्काईन्, पढाईन् । आमाले जसोतसो गरेर उनलाई नर्सिङ सम्म पढाईरहेकी छिन् । तर, जब उच्च शिक्षाका लागि उनलाई आफ्नै पहिचानको आवश्यकता प¥यो । तब उनलाई आफ्नै नागरिकता पाउनका लागि समेत निक्कै कष्ट र दौडधुप गर्नुप¥र्यो । नेपाली नागरिकता प्राप्त नगर्दै उनका बुबा गजेन्द्र सिंहको २०५९ सालतिर निधन भयो । जन्मसिद्व नागरिकता पाएकी आमा पूर्णिमा सिंह छोरीको नागरिकता बनाउन २०७३ मा जिल्ला प्रशासन कार्यालय पुगिन् । आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गर्दा पनि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता दिन नमिल्ने भन्यो ।
चन्द्रमेवालाल हाईस्कुलबाट एसएलसी परिक्षा दिएकी दिपिकाले उच्च शिक्षा अध्ययनका लागि कानुनी पहिचान नभएकै कारण थुप्रै कठिनाई झेल्नु प¥यो । स्वास्थ तर्फको शिक्षामा रुचि राख्ने दिपिकाले यसै क्षेत्रको अध्ययन गर्ने योजना बनाएकी थिईन् । सोहि अनुरुप उनले २०७१ मा पिसिएल नर्सिङको अध्ययन सकिन् । तर, जब नर्सिङ काउन्सिलबाट लाईसेन्स लिनेबेला भयो त्यसबेला उनले नागरिकता नभएकै कारण लाईसेन्सको परिक्षा दिन नपाउने अवस्था सृर्जना भयो । त्यसपछि नागरिकता नभई नहुने भयो भन्दै सबै छोडेर नागरिकता बनाउन लागि परिन् ।
बाबु बितिसकेका भएपनि तत्कालिन अवस्थामा आमाको नामबाट समेत नागरिकताका लिन सकिने कानुन बनिसकेको थियो । तरपनि, उनले नागरिकताकै लागि २ बर्ष सम्म कहिले सरकारी वकिल कार्यालय त कहिले जिल्ला प्रसाशन कार्यालय धाउन प¥र्यो । त्यति हुँदापनि नेपाली हुँ भन्ने कानुनी पहचिान पाउन नसकेपछि उनले २०७३ साल चैत्र २७ गते उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासमा निवेदन दिईन् । २०७४ जेष्ठ २७ गते रिट निवेदन उपर सुनुवाई गर्दै न्यायाधीशद्वय शारङ्गा सुवेदी र बीर बहादुर डाँगीको संयुक्त इजलासले नेपालको संबिधान र नागरिक सम्बन्धि ऐनले निर्दिष्ट गरे बमोजिम निवेदिकालाई यो आदेश भएको मितिले एक महिना भित्र नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराई सो को जानकारी यस अदालतलाई दिनु भनी बिपक्षी जिल्ला प्रशासन कार्यालय बाँके र प्रमुख जिल्ला अधिकारीका नाममा आदेश दिएको थियो । यसरी जीवनको कलिलो उमेरमै उनले राज्यसँगको लडाँई जितिन् । अदालतको आदेशले दिपिकाले बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरिन् । आमाको नामबाट नागरिकता पाउनुपर्ने माग गर्दै झण्डै दुई वर्षदेखि थालेको कानूनी लडाइँपश्चात् अन्ततः उनले न्याय पाईन् । त्यसपछि उनले २०७४ मा नर्सिङ काउन्सिलबाट पिसिएल नर्सिङको लाईसेन्स परिक्षा पास गरिन् र लाईसेन्स समेत प्राप्त गरिन् ।
व्यक्तिगत जिवनको संघर्ष त छँदै छ । त्यसमा उनले अध्ययन गरिएको क्षेत्रमा पनि उनले थुप्रै समस्या देखिन् । अनि उनि विद्यार्थी राजनितिमा प्रवेश गरिन् । समस्या समधान गर्नु छ भने त्यसको लागि उपयुक्त बाटो रोज्नुपर्छ भन्ने लागेर उनले आफुले अध्ययन गरिरहेको त्रिभुवन बिश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्र्तगतको नेपालगन्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा सभापति पदका लागि उम्मेदवार दिईन् र विजयी पनि भईन् । अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (समाजवादी) को संयुक्त प्यानल तर्फकी उम्मेदवार सोनीले ८१ मत ल्याएर ३ अंकको मतान्तरले क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी थिईन् ।
सभापति भएपछि यहाँ सुधार्नु पर्ने थुप्रै कुरामा आफुले अग्रणी भुमिका निभाउने दिपिका बताउँछिन् । उनले यहाँका समस्यालाई प्रथामिकिरण गरेकी छन् । ति समस्यालाई आवश्यकताका आधारमा समाधान गर्दै लैजाने समेत उनले बताईन् । विद्यार्थीका समस्या र ति समस्या समाधानको बाटो के हुन सक्छ भन्ने कुरामा आफ्नो सँधै चासो रहने उनले बताईन् ।
‘क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका थुप्रै स–साना देखि ठुला समस्याहरु छन् । ति समस्या समाधान गर्नका लागि संधै पहल र पैरवी गर्नेछु । क्याम्पसको समग्र शैक्षिक सुधार तथा अलावा यहाँ होस्टेलमा बस्ने विद्यार्थीको खानेपानी देखि लिएर प्राविधिक कुराहरुसम्मका समस्या हामी कहाँ छन् । यसैगरि सरसफाई र स्वच्छताका कुराहरुमा पनि समस्या छ । गुणस्तरीय प्रयोगशाला निर्माण पनि गर्नैपर्ने छ । साथै सेनेटरी प्याडको निःशुल्क व्यवस्था गर्ने कुरा पनि मेरो प्राथामिकतामा छ ।’– उनले भनिन् । ‘संगसंगै क्याम्पसको शैक्षिक गुणस्तर अभिबृद्वि, फिल्टर युक्त चिसो र तातो पानीको व्यवस्था, कक्षा कोठामा तथा छात्रावासमा सम्पुर्णरुपले प्राविधिक कुराहरुको व्यवस्थापन, स्वास्थ्य सम्बन्धि सबैकुरामा स्वच्छताका लागि आवश्यक कामहरु तथा क्याम्पसमा गर्नुपर्ने सुधार तथा सबैखाले परिवर्तनका लागि म सँधै प्रतिबद्वता छु ।’
२७ बर्षिय दिपिकाले इन्स्टिच्युट अफ मेडिकल टेक्नोलोजी भरतपुर चितवन बाट पिसिएल नर्सिङको अध्ययन सकेर नेपालगन्ज नर्सिङ क्याम्पसमा नर्सिङ विज्ञान (विएनएस)मा स्नातकतह अध्ययन गरिरहेकी छन् ।