दिला शाहको अँध्यारो बस्तीकी नायिका बिमोचन
Saturday, March 25th, 2023, 6:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ चैत
कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथासङ्ग्रह बिमोचन गरिएको छ । शनिबार एक समारोहका बिच कथाकार महेश बिक्रम, कथाकार शाहका श्रीमान दिनेश चन्द, बुबा मान बहादुर शाह, बास नेपाल अध्यक्ष लुना बुढाथोकी, बासका निर्देशक नमस्कार शाह, कथाकार शाहका दुई छोरा दिपेश र दिवाले संयुक्तरुपमा शनिबार एक कार्यक्रमका बिच कथासङ्ग्रहको संयुक्त रुपमा बिमोचन गरे । बास नेपालले आयोजना गरेको बिमोचन कार्यक्रममा कथासङ्ग्रहको बारेमा कथाकार महेश विक्रम शाहले टिप्पणी गरेका थिए ।
शाहले अँध्यारो बस्तीकी नायिका कथासङ्ग्रहले दिला शाहलाई कथाकारको रुपमा चिनाएको बताए । विषयवस्तु, संरचना, प्रस्तुती, शैली, पात्रविधान, दृष्टिबिन्दु, सम्पे्रषण गर्न खोजिएको भावका आधारमा शाहका कथामा मुलतः प्रतिकात्मकता, मनोविश्लेषण, नारी पात्र प्रधानता, पितृसत्ताप्रति विद्रोह, वैदेशिक श्रमबाट सिर्जित सामाजिक समस्या ज्येष्ठ नागरिकका मनोभाव आदि तत्वहरु भेटन सकिने शाहले विमोचन कार्यक्रममा बताएका थिए ।
शिखा वुक्सले प्रकाशन गरेको अँध्यारो बस्तीकी नायिका कथासङ्ग्रह डेढ दर्जन कथा समेटिएका छन् । विषयवस्तु, संरचना, शैली र उद्देश्यका दृष्टिले हरेक कथा फरक छन् । तुलनात्मक रुपमा नारी मनोविज्ञानमाथि लेखिएका कथाहरु भावपरक, बोधगम्य, सरल, सशक्त, स्वभाविक एवम सम्प्रेषणीय लाग्छन् ।
शिर्ष कथा अँध्यारो बस्तीकी नायिका सङ्ग्रहकै प्रतिनिधि कथा हो । यसमा कथाकारको प्रस्तुति बिम्बात्मक छ भने त्यसले प्रतीकात्मक अभिव्यक्ति पाएको छ । मानबहादुर शाह र स्व. देवा शाहको कोखबाट २०४० सालमा सल्यान शारदा नगरपालिका–१५ माल्नेटा चवरगाउँमा जन्मिएकी शाह हाल नेपालगन्जकी बासिन्दा हुन् । शाह सानै देखि साहित्य सिर्जनामा रुचि राख्ने गर्थिन् ।
विशेषतः आम नेपाली नारीका भोगाइ, सहनुपरेका सामाजिक विभेद र त्यसबाट नारी मनोविज्ञानमा पर्ने प्रभाव सुक्ष्म रुपमा देखाउन सक्ने खुबी भएकी शाह सामान्य विषयवस्तुमाथि सुन्दर कथा लेख्न सक्ने सार्मथ्य भएकी कथाकार हुन् । शनिबार बिमोचन समारोहमा आफुलाई समाजका विविध भोगाई र पात्रहरुले कथा खेल्न सधै उत्प्रेरित गर्ने गरेको शाहले बताईन ।
………..
…………