प्रधानमन्त्रीलाई भेट्दैं जडीबुटी व्यवसायी
Thursday, March 30th, 2023, 5:00 am
Kalpristha
अनलाईन प्रणालीमा सुचिकृत गर्न ति जडिबुटी छुटेपछि नेपाली जडीबुटी उत्पादन गर्ने किसान र व्यवसायीलाई समस्या पर्दै आएको थियो । अध्यक्ष शर्माका अनुसार विगत ति १६ प्रकारका जडिबुटी भारतमा निर्यात हुने गरेको थियो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ चैत
नेपालका जडीबुटी व्यवसायी र किसानहरुको समस्यालाई सम्बोधन गरिदिन अनुरोध गर्दै जडीबुटी व्यवसायी संघको नेतृत्व प्रधानमन्त्रीलाई भेटन् काठमाडौं पुगेको छ ।
नेपाल जडीबुटी व्यवसायी संका अध्यक्ष टंक प्रसाद शर्माको नेतृत्वमा बुधबार एक टोली काठमाडौं पुगेको हो । पछिल्लो समय भारतीय प्लान्ट क्वारेन्टिनले अनलाईन प्रमाणी लागु भएपछि १६ प्रकारका जडिबुटी सुचिकृत गर्न छुटाएको थियो ।
अनलाईन प्रणालीमा सुचिकृत गर्न ति जडिबुटी छुटेपछि नेपाली जडीबुटी उत्पादन गर्ने किसान र व्यवसायीलाई समस्या पर्दै आएको थियो ।
अध्यक्ष शर्माका अनुसार विगत ति १६ प्रकारका जडिबुटी भारतमा निर्यात हुने गरेको थियो । तर अनलाईन प्रणाली लागुभएपछि ति छुटन् गएका थिए । सामान्य प्राविधिक समस्या भारतीय पक्षबाट सम्बोधन नगरिदिएका कारण नेपाली व्यवसायी र किसानले उत्पादन गरेको जडिबुटी घरमै थन्किने अवस्थामा पुगेको शर्माले कालपृष्ठ दैनिकलाई बताए ।
करिब आठ सय टन जडीबुटी समयमा भारत निर्यात नहुँदा कुहिने अवस्थामा पुगेको नेपाली जडिबुटी व्यवसायीहरु बताउँछन । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगन्ज, भैरहवा र कृष्णनगर व्यापारी र किसानको घरमै थन्किएका छन् ।
प्रधानमन्त्रीले भारत भ्रमण गर्ने तयारी गरिरहेका बेला जडिबुटी व्यवसायीका समस्या सम्बोधन गरिदिन आग्रह गर्ने अध्यक्ष शर्माले बताए । उनले भने, ‘नेपालको क्वारेन्टाइन र मन्त्रालयलाई हामीले समस्याको बारेमा जानकारी गराईसकेका छौं । भारत भ्रमणको बेला प्रधानमन्त्रीले यो कुरालाई सम्बोधन गरिदिनुहुन्छ भन्ने हाम्रो आसा छ । यो धेरै ठुलो समस्या होइन । तर हाम्रो जस्तो सानो देशका व्यवसायीलाई यसले धेरै असर गर्छ ।’
नेपालबाट जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेदलगायत जडीबुटी अहिले व्यापारीको गोदाममा थन्किएका छन् ।
नेपाल जडीबुटी व्यवसायी संघका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत भएकाले निकासीमा हुने अवरोध हटाउने विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा ‘एजेण्डा’ बनाउन आग्रह गर्ने बताए ।
व्यवसायी मोहम्मद याकुब अन्सारीले निकासी रोकिएपछि गोदाममा थन्किएको अधिकांश जडीबुटी कुहिन थालेको बताए । भारतको अवरोधले नेपालगन्जबाट निकासी हुने जडीबुटी निर्यात बर्सेनि घट्दै गएको छ ।
संघका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा नेपालगञ्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार सात सय ७७ किलो जडीबुटी निकासी भएको थियो । आव २०७८÷७९ मा घटेर ४२ लाख २० हजार दुई सय २८ किलो जडीबुटी भारत निर्यात भएको छ ।
बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगन्जलगायत नाकाबाट भारत निकासी हुँदै आएको छ ।