नेपालको परिवेशमा असुहाउदो लोकतन्त्र
Wednesday, March 29th, 2023, 8:17 pm
Kalpristha

…
शिसिर सापकोटा
जब म सानै उमेरको थिए । ‘लोकतन्त्रको कोपिला लायो फुलाउनु छ, मलपानी हालेर’ भन्ने गीत मैले रेडियोमा संधै सुन्ने गर्थें । जब यो गित बज्थ्यो मलाई लाग्ने गथ्र्यो, लोकतन्त्रको कोपिला, फुल, रंग अनि बास्ना कस्तो हुन्छ होला ? भनेर त्यो समयको कौतुहलता र खुलदुलीलाई अहिलेको गणतन्त्रले पुरा गरेको अनुभव भईराखेको छ ।
हो, लोकतन्त्रको कोपिला थियो र छ । त्यसमाथि लोकतन्त्रवादीहरुले मल र पानी हालेर जगाउने र फुलाउने काम पनि गरे । तर त्यसको वास्ना र भने सिमित व्यक्तिहरुले मात्र लिन पाए । सर्वहारा वर्गको उन्मुक्ति र उन्नतीको मुद्दा उठाएर लोकतन्त्रले दिएको सर्वोच्च स्थानमा पुगेकाले मात्रै यसको उपलब्धी उपभोग गर्न पाए । तर, जसको काँधमा चढेर उनिहरु देशको कार्यकारी पदमा पुगे । उनिहरुले सर्वहारा वर्ग र तिनका समस्यालाई चटक्कै विर्सिदिए । लोकतन्त्र आउनुभन्दा अघि देश एकात्मक शासन व्यवस्थाद्वारा शासित थियो । त्यो समयको अनुभव त म सँग छैन । तर, अहिले आएर तुलना गर्दा देखिएका र भेटिएका केहि विचारहरु प्रस्तुत गरेको छु ।
सुरुवात मै केहि मेरा जिज्ञासा र प्रश्नहरु उल्लेख गर्न चाहे । यदि राजतन्त्र ठिक नभएकै कारणले लोकतन्त्रको आवश्यकता महसुस गरिएको हो भने लोकतन्त्र प्राप्ति पछिका दशकहरुमा हामीले के पायौं ? के लोकतन्त्रिक शासन व्यवस्थामा देशका जनता खुसी छन् त ? न त हामी कहाँ दिगो विकास र मुलुकको अर्थतन्त्र नै बलियो छ । अँझैपनि यहाँका जनताले वास, गास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता सहजै परिपुर्ति गर्न सकेको अवस्था छैन । के मुलुक अहिले भष्ट्राचार मुक्त र समृद्व बन्न सकेको छ त ? विश्वका विकशित मुलुकको दाँजोमा अरु राष्ट्रजस्तै आफ्नो पहिचान दिन सकेको छ ? देशको न्यायीक प्रणाली कस्तो छ ? अहिलेको समयमा शैक्षिक स्तर कस्तो छ ? र, समग्रमा देश उत्पादनमुखी छ की छैन ?
अहिलेको परिस्थितीलाई हेर्दा यी यावत प्रश्नहरु मनमा आउछन् । तर, मुलुकको अवस्था पहिलेको भन्दा धेरै कमजोर र डरलाग्दो परिस्थितीमा छ । यसर्थ, अँझपनि लोकतन्त्र भनेर यीनै अपरिपक्क राजनिति गर्ने र व्यक्तिगत फाईदाका लागि राष्ट्र बेच्नसम्म पछि नपर्ने छेपारे प्रवृत्तीका र मान्छे मारेको भनेर खुलेआम हिड्ने डरधम्कीद्वारा जनता भड्काउने असभ्य र खराब चरित्र बोकेका नेतालाई नै विश्वास ग-यौं भने यीनीहरुले पुरै देश विदेशीको हातमा सुम्पन पनि समय लगाउने छैन्न् ।
आफुलाई राष्ट्रप्रेमी भनेर चिनाउछन् । तर, यहि राष्ट्रलाई ब्वाँसोले झै लुछिरहेका छन् । खोक्रो राष्ट्रवाद बोकेका ढोंगीहरु जताबाट आउछ त्यतै आफ्नो दुनो सोझ्याउछन् । देश जहाँ पुगोस केहि चिन्ता छैन ।
ए….सुन, ‘आफ्नो ईमान, ईज्जत, प्रतिष्ठा र राष्ट्र बेचेर धनि हुनुभन्दा त एक छाक मात्रै खाएर ईज्जतमा बसन !…ए शासक ।
लोकतन्त्र भन्दा त राजतन्त्रको शासन नै मुलुको हितमा रहेछ । त्यस व्यवस्थामा जनता र राजा भन्दा पनि पहिले मुलुकको हित सर्वोपरि मानिन्थ्यो । देशको अस्तित्व संकटमा थिएन । अभिव्यक्तिको स्वतन्त्रताका सवालमा स्पष्ट व्यवस्था गरिएको लोकतन्त्रमा यसै व्यवस्थाले दिएको देशकै सर्वोच्च कार्यकारी पदमा आशिन प्रधानमन्त्री प्रचण्डका सामु बोलिरहेको युवाहरुको मुख उनकै अघि थुनियो । यस घटनालाई बहालवाला प्रधानमन्त्री प्रण्डले कसरी लिए त्यो त थाहा भएन । तर, यो दृश्यले लोकतन्त्रलाई भने गिज्याईरहेको थियो ।
म त सिधै भन्छु, भौगोलिक बनावटले दुईवटा ठुला राष्ट्रको विचमा रहेको र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हाम्रो देशमा लोकतन्त्र पाच्य छैन ।
जुन शासन व्यवस्थाले सिंगो मुलुकको अस्तित्व संकटमा परेको छ । यसबारेमा अवपनि हामीले बुझेनौं भने । कहिले बुझ्ने ? हामीले नबुझे कस्ले बुझ्ने ? हाम्रो देश डुब्नै लाग्दा अँझै हामी चुप बस्ने । देशका प्राकृतिक तथा साँस्कृतिक सम्पती र सम्पदा बेचेर आफ्नो देशका उद्योगधन्दा बन्द गरेर विदेशी दलालले रजाँई गर्ने लोकतान्त्रिक शासन ब्यवस्था चाँहिदैन । नेपालमा लोकतान्त्रिक शासन व्यवस्था असुहाउदो छ । यसबाट देशले चाँडै मुक्ति पाउनु पर्छ ।
मुलुकको अहितमा राजनितिक निर्णय गर्ने राष्ट्रपति भन्दा देशलाई माया गर्ने र यसको अस्तित्व जोगाईराख्ने राजा चाहिन्छ । तवमात्र देश बन्न सक्छ । र, समृद्व नेपालको परिकल्पना गर्न सकिन्छ । यसो भन्दै गर्दा कसैलाई नराम्रो लाग्न सक्छ । तर, राजतन्त्र र लोकतन्त्र मध्य हामीलाई कुन व्यवस्थाले मुलुकको हितका बारेमा बढी काम ग-यो भन्ने सन्दर्भमा गम्भिर बहस हुन जरुरी छ ।