ज्ञानेन्द्रकी छोरीले गुमाइन् एक अर्बभन्दा बढी मूल्य पर्ने जग्गा
Friday, January 6th, 2017, 3:26 am
amit
काठमाडौं ।
सर्वोच्च अदालतले आफ्नो पूर्वनिर्णय उल्टाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मीका नाममा रहेकाे छाउनीकाे १५ राेपनी जग्गा सरकारका नाममा ल्याउने निर्णय सुनाएकाे छ ।
‘श्री ५ महाराजधिराज’ को नाममा रहेको छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा ज्ञानेन्द्र शाहले ०६२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिएका थिए । जब कि प्रेरणाको बिहे ०५९ मै भएको थियो ।
दोस्रो जनआन्दोलनपछि पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति खोजविन गर्ने क्रममा नेपाल ट्रष्टको कार्यालयले छाउनीको यो जग्गा सरकारको नाममा गर्ने निर्णय गर्यो । त्यसविरुद्ध प्रेरणा सर्वोच्च गइन् ।
र, तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले १ अर्बभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रेरणालाई फिर्ता गर्न आदेश दियो ।
त्यसविरुद्ध सरकारले दर्ता गरेको पुनरावलाेकन मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशद्वय सपना मल्ल प्रधान र दीपक कार्कीको इजलासले पुरानो फैसला बिहीबार उल्टाएको छ ।
सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले भने, ‘पुरानो फैसला उल्टिएको छ । अब त्यो जग्गा सरकारको नाममा भएको छ ।’ तर, फैसलाको पूर्णपाठ आउन बाँकी छ ।