भारतमा भएको रेलदुर्घटनामा २८८ जनाको मृत्यु
Saturday, June 3rd, 2023, 9:34 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २० जेठ
ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा कारबाही गर्ने मोदीको बाचा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइने बताएका छन् । देशको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ रेलहरू एक–आपसमा ठोकिँदा कम्तीमा २८८ जनाको मृत्यु र १ हजार जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो ।
एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको थियो । यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो । उक्त दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । यद्यपि भारतका एकजना केन्द्रीय मन्त्रीले दुर्घटनाको कारण प्राविधिक भएको बताएका छन् । ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटना स्थलमा २ सय वटाभन्दा बढी एम्बुलेन्स, दर्जनौँ चिकित्सक र नर्सहरूलाई घटनास्थल पठाइएको जनाएका छन् ।
मृतकको संख्या बढ्न सक्ने
मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस आपसमा जुध्न पुगेका थिए । शनिवार दिउँसो घटनास्थल पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू अत्यन्त दु:खी भएको बताएका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । दुर्घटनाका बेलाको अवस्था उक्त घटनामा बाँचेका एक पुरुष यात्रुले भने, ‘दुर्घटना हुँदा १०–१५ जना ममाथि खसेका थिए । कोलाहल मच्चियो । म मानिसहरूको थुप्रोमा सबैभन्दा तल थिएँ ।
मेरो हात र घाँटीको पछाडिपट्टि चोट लागेको छ । रेलको डिब्बाबाट बाहिर निस्किँदा मैले कसैले हात अनि कसैको खुट्टा गुमाएका र कसैको अनुहार विकृत भएको देखे ।’ दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ ।
शालिमार–चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए । तीमध्ये केही विपरीत ट्रर्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ । अर्कोे रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो भनिएको छ । भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन् ।
साभार: बिबिसी नेपाली सेवा