अमेरीकी राष्ट्रपति चुनावमा रुसले दखल दिएको कुरा सार्वजनिक गरिने
Friday, January 6th, 2017, 8:27 am
amit
अमेरीका
अमेरिकी गुप्तचर विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति चुनावमा दखल दिन डेमोक्र्याटिक पार्टीको इमेल ह्याक गर्न आदेश दिएको जनाएको छ । गुप्तचर विभागका प्रमुख जेम्स क्लापरले रुसी राष्ट्रपति पुटिनले डेकोक्र्याटिक पार्टीको इमेल ह्याक गर्न आदेश दिएको र त्यसको उद्देश्य के थियो भन्ने कुरा आउँदो हप्ता सार्वजनिक गर्ने बताउनुभएको छ । राष्ट्रपति चुनावमा रुसले किन दखल दिएको भन्ने कुरा सार्वजनिक गरिने निर्देशक क्लापरले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । क्लापरले रुसले गरेको ह्याकिङलाई युद्धको गतिविधि भने भन्नुभएन ।
रुसले ह्याकिङका सबै आरोप अस्वीकार गर्दै आएको छ । तर अमेरिकाले रुसी अधिकारीमाथि प्रतिबन्ध लगाउन सुरु गरिसकेको छ । अमेरिकाले अहिलेसम्म ३५ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । अमेरिकी राष्ट्रपतीय चुनावको क्रममा भएको हस्तक्षेपको बारेमा भएको अनुसन्धानको प्रतिवेदन बिहीबार राष्ट्रपति बाराक ओबामालाई बुझाइएको छ । सिनेटको सैन्य समितिले यसको सुनुवाई गरिरहेको छ । यसको अगुवाई रिपब्लिकन सिनेटर जोन म्याकेनले गर्नु भएको छ । रुसले बहुआयामीक अभियान चलाएको र यसमा प्रोपोगाण्डा, गलत सूचना तथा झुठो खबर पनि रहेको क्लापरको भनाई छ ।
यसअघि रुसको पक्षमा नरम देखिँदै आएका राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले आफू गुप्तचर विभागको ठूलो फ्यान रहेको बताउनुभएको छ । उहाँलाई शुक्रबार अनुसन्धान प्रतिवेदनका बारेमा जानकारी दिइनेछ ।